नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धा तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्त दाहालले नेपाली काँग्रेसका सदस्यहरुलाई काँग्रेस मात्रै होइन असल नागरिक बन्न आग्रह गरेका छन् । नेपाली काँग्रेसका युवा नेता तथा संविधान सभा सदस्य रामहरि खतिवडाले कातिक १० गते राजधानीमा आयोजना गर्नु भएको चियापान कार्यक्रममा कार्यकारी निर्देशक दाहालले नेपाली काँग्रेस पार्टीसँग आवद्ध असल नागरिकले मात्रै लोकतन्त्रको रक्षा गर्ने बताए ।
काँग्रेसका संवद्ध व्यक्तीले असल नागरिक बन्न आचरण,स्वभाव र व्यवहार परिवर्तन गर्नुपर्ने कुरामा दाहालले विशेष जोड दिए । काँग्रेस सदस्यहरुले पार्टीका नेता र व्यक्तीका पछि नलागि निष्ठापूर्व सिद्धान्तमा आस्था राख्न अनुरोध गर्दै दाहालले पार्टी, नेता र व्यक्तीलाई होइन सिद्धान्तमा आस्था राख्ने असल नागरिकलाई नेपाली काँग्रेससँग जोड्ने वातावरण निर्माण गर्न पार्टी सभापति प्रदीपकुमार सुनुवार सहित सम्पूर्ण ओखलढुंगका नेताहरुलाई आग्रह पनि गरे । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसमा काम गर्दै जाँदा गल्ती र कमिकमजोरी भएको रहेछ भने त्यसको जस र अपजस सबै लिन आफू तयार रहेको बताएका छन् ।
दशैँ, तिहार, छठलगायतका विभिन्न चाढपर्वहरूको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले विगतमा नराम्रा काम गरिएको भए त्यसलाई क्षमा गरिदिन आग्रह गरे । उनले आजैका दिनदेखि सबै नराम्रा र विगतका तिक्ततालाई भुलेर बलियो र राम्रो कांग्रेस बनाउन लाग्नुपर्ने बताए । सभापति प्रदीप सुनुवारले कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्ने बताए । नेपाली कांग्रेसमाथि विश्वास गरेर ओखलढुंगा जिल्लामा विभिन्न दल परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको बताए । उनले नेपाली कांग्रेसलाई बलियो बनाउन ठूलो भूमिका रहनुपर्ने बताए ।
नेपाली कांग्रेस ओखलढुंगाका नेता मित्रसेन दाहालले विगतको तिक्ततालाई भुलेर आउनुस् सबै मिलेर कांग्रेस बनाऔँ भनेर अपील गरेका थिए । चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका नेता होमनाथ दाहाल, महेश कर्मोचा लगायत ओखलढुंगा जिल्ला घर भई काठमाडौं उपत्यकामा विभिन्न पेशा व्यवसाय गरेर बस्ने महानुभावहरुको उपस्थिति थियो ।