हरेकपल विशेष टिप्पणी
सिस्नु पानी नेपालको तिहार उत्सवको प्रस्तुतिले नेपालीहरूको मनलाई तरंगित तुल्याएको छ । तर कार्यक्रममा उपस्थित मूर्धन्य नेताहरू तिनमा पनि प्रधानमन्त्री ओलीदेखि पुष्पकमल दाहाल समेतका नेताहरूका रुञ्चे हाँसोबाट तिरोहित मन्दमुस्कान आफैमा लज्जाविहीन देखिन्थ्यो । प्रायः सत्ताको साँचो आफ्नो खल्तीमा राखेर मनमोजी देशको ढुकुटीको ढोका खोल्न वानी परेकाहरूका केही काला, केही पहेला र केही चम्किला दाँतहरू दर्शकहरूले भिडियो, युट्युवहरूमा देख्न पाए ।
लज्जाविहीन त्यो मुस्कानको अर्थ जसरी लगाए पनि हुन्छ । राजनीतिको सबै अधिकार पाएकाहरूका मनमा त्यस समयमा ‘काग कराउँदैछ पीना सुक्दैछ’ भन्ने उपेक्षा हो त्यो मुस्कान । अथवा ‘कुकुर भुक्दैछ हात्ती लम्किदै’ छ भन्ने भाव लुकिरहेको र कार्यक्रमका कलाकारहरूलाई नै व्यंग गरिरहेको हो त्यो मुस्कान । एकअर्कालाई दोष दिने वहाना मिल्यो भन्ने सोच हुनसक्छ त्यो मुस्कान । म भएँ भने के के न गर्छु भन्ने आशय हो त्यो मुस्कान । तर मुस्कानका बीचमा निकै भावुक देखिनुहुन्थ्यो प्रधानमन्त्री ओली । उनको हाँसो सतहमा त्यति आउन सकेन । त्यसैकारण सो प्रस्तुतिलाई अरु वाहिरीहरूको हावाले छोएको प्रतिक्रिया प्रधानमन्त्रीले दिनुभयो । निकै मजा त पुष्पकमल दाहाललाई आइरहेको हुनुपर्छ । उहाँ निकै प्रफुल्ल मुद्रामा हुनुहुन्थ्यो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि कुनै टिप्पणी थिएन उहाँ शान्त नै लाग्नुभयो । आलम र देउवाको भनाइलाई व्यंग गर्दा भने उहाँमा गहिरो मुस्कान पलायो । यद्यपि आलम प्रकरणमा देउवा आफैले प्रेस विज्ञप्ति मार्फत स्पष्ट गर्दै नेपाली कांग्रेस र आफूु कानूनी राज्यमा विश्वास गर्ने भएको र दवावरहित अनुसन्धानमा कांग्रेसको सहयोग रहने छ भनी सक्नुभएको थियो । तैपनि त्यो एकदिनको आधा मिनेटको त्यो वाक्यको संचरण निरन्तर भइरहेको छ । खण्डन वा स्पष्टीकरण अभिलेख भइसके पनि मनोरञ्जनका लागि त्यो पुरानो कुरा मसला हुँदैछ ।

कलाकारहरूको प्रस्तुतिलाई लिएर विवाद र वहस हुनसक्छ । खासगरी तिहार वा दीपावली जस्ता पर्वहरू भाइचाराका, मित्रता र प्रेमका लागि प्रसिद्ध छन् । शत्रुका लागि समेत अंकमाल गरी प्रेम साटासाट गर्ने समय हो दीपावली । यस्तो पर्वमा कसैलाई सिस्नुपानी लगाउनु उचित हो वा होइन ? त्यसमा पनि मित्र राष्ट्रका नेताहरूलाई अनावश्यक मुछेर व्यंग गर्नु कति शोभनीय हुन्छ ? प्रधानमन्त्री वा अरु नेताहरू त आफै सधँै हास्य र व्यंगका प्रयोग कर्ता हुन् । उनीहरूको प्रहसन नेपाली जनताले हेरिरहेका हुन् । आफैँ हास्यकलाकार भएका नेताहरूलाई जम्मा गरेर हँसाउनुको के अर्थ होला र ? यी प्रश्न उठिरहेका छन् । त्यसमा पनि जिम्मेदार मानिसहरूलाई अगाडि राखेर मर्ममा नै प्रहार गर्नु उपयुक्त हो कि होइन ? गैँडाको छाला जस्तो मन र मस्तिष्क वनाइसकेका नेताहरूलाई सुनाउनुको कुनै अर्थ हुन्छ र ? नेपालमा गाईजात्रा छ, जुन दिन सर्वाधिक व्यंग गर्न सकिन्छ । यस्ता अनेक चर्चा र वहसहरू हुनसक्छ, भइरहेको पनि छ । तर कलाकारहरूको प्रस्तुति अधिकांश सही घटनाहरूमा केन्द्रित थिए । सिस्नु पानीको अर्थ नै पोल्ने हो । कसैलाई दण्ड र सजाय दिनु छ भने सिस्नु पानीले हिर्काउने पुरानो प्रचलन हो । अहिले त सिस्नो डाइविटिजको औषधिका रूपमा सेवन हुन लागेको छ । सिस्नो अत्यन्त गुणग्राही हुन्छ ।


तर सिस्नुका काँडाले पोल्यो भने खपिनसक्नु हुन्छ । कलाकारहरूले शासनमा वस्नेहरूलाई पोल्ने गरी सिस्नु लगाएका छन् । शासकहरू कान सुन्दैनन्, आँंखा देख्दैनन्, काम र व्यवहार परिवर्तन गर्दैनन् । केही भने सुनिरहन्छन् र हाँसेर उडाइदिन्छन् । सिस्नु पानीको प्रयास सही भए पनि सार्थक हुने संभावना पटक्कै छैन । खाली दर्शकहरूले नेताहरूको लज्जाविहीन मुस्कानबाट विस्तारै वाहिर चयाएका दांँतहरूको दर्शन गर्न पाए, त्यस दिन सिस्नु पानीको प्रस्तुतिको मुख्य सफलता यो पनि भएको छ । नेताहरूको दाँतको दर्शन पाएर मन्त्रमुग्ध भएका दर्शकहरू र नेताहरूले देखाएको सपनाको खेती फलाएर खान प्रतीक्षारत मतदान गर्ने मतदाताहरूलाई लाजले कति छोयो वा छोएन ? यो फरक प्रश्न गरिरहनु आवस्यक छैन ।
