मेरा गाउँका मान्छेहरु भगवान हुन्


हरेकपल October 31, 2019

– हरिहर दाहाल-

३८ बर्ष अघी चामलको भात खान मधेंस झरेको मलाई ,कहिल्यै पनि गाँउ फर्कन फुर्सद भएन। ३८ बर्षपछि गाउँ फर्किदा ज-जस्लाई भेटें,सबैले मलाई चिन्नु भयो ।बाल्यकालमा संगै गोठ् बसेका ,घाँस दाउरा काट्दा उकाली चढेका , ओराली झरेका ,संगै पत्कर सोरेका , गुच्चा, गट्टा र डण्डीबियो खेलेका , डल्ला फुटाएका , बाउसे गरेका ,फाटेको नाईलनको मोजामा आमाको मजेत्रो खाँदेर भकुण्डो बनाएर गोल खेलेका,बनभात खाएकाे , काँक्रा, चिनी र घिउ चोरेर खाएका बालसखाहरु भेटिए।उनिहरुको आत्मिय अंगालोमा कसिएर,तुरुक्क खुशीको आँशु झार्दै,हामीले बिगत संझियौं। घाम नझुल्दिदै एकपेट खाएर उकाली चढेका हामीहरु,एकभारी घाँस लिएर फर्कदा झमक्क साँझ पर्थ्यो ।दिनभरीको थकानले यती भोक लाग्थ्यो की माटो खाँउ झैं हुन्थ्यो ।हिंउ पग्लिएर कलकल बगेको चिसो पानी खाएर भोको पेट भरेका सुखहरु संझिएर हामीहरु भक्कानियौं ।


प्राय धेरै साथीहरु पुरानै जिवनशैलीमा रमाएको भेटियो।कोही घाँस काट्दै भेटिए।कोही गाई भैंसीको भकारो सोर्दै भेटिए।कोही हलो र हरिस बनाउदै गर्दा भेटिए।झट्ट हेर्दा मैला देखिने तर मनका सुकिला मेरा बाल सखाहरुको मन भने सुन जत्तिकै शुद्ध र हिउँ जत्तिकै कञ्चन थियो।उनीहरुको मायामा स्वार्थ थिएन, थियो त केबल सम्बन्धको मुल्य थियो ।मनभरी माया बोकेका बाल सखाहरुले मलाई दिल खोलेर अगालाे हाले। पातलिदै गरेका हजुबा र हजुर आमा पुस्ताहरुले मेरो गाला चिमोेटे।टाउको सुम्सुम्याए।नाति पुस्ताहरुसे ट्वाल्ल परेर हेरे।ठुलाघरे साहिलाको कान्छो छोरो देश छोडेर भागेको कुरा उनिहरुले सुनेका रहेछन।

“तपाईको नाम धेरै सुनेका थियौं, आज गाउँमै भेटिनु भो ” भनेर फुरुक्क पारे।म पनि मसक्क मस्किए।सप्पैसे “खाएर जा “ भने।सप्पैसे “आज यतै बस् “ भने।उनिहरुले आफ्नै ओच्छ्यानमा सुताए।कसुडिमा भात थोरै थियो तर मलाई कर गरिगरी थपी दिए।अघाए भन्दा पनि कोच्याए।छुट्टिने बेलामा सप्पैसे “हामीलाई नबिर्सिनु है “भन्दै एकोहोरो हेरिरहे। मेरो गाउँका मान्छेका मन मनमा देउता बस्छन् ।उनीहरुको हेराईमा कपट छैन। बोलाईमा पाप छैन , छुवाईमा शंका छैन।भगवान भन्दा पवित्र छन गाँउका मान्छेहरु !

(अमेरीकामा बसोबास गर्नुहुने दाहाल ३८ वर्ष पछि जन्मभुमी ओखलढुङ्गाको विकट गाउँ विगुटार पुगेपछि लेख्नुभएको विचार प्रस्तुत गरिएको छ।)