काठमाडौं, १४ असोज । जबर्जस्ती करणी प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
१८ वर्षमाथिको महिलालाई बलात्कार गरेमा ७ देखि १० वर्ष जेल सजाय हुने व्यवस्था छ । बलात्कार प्रयासको हकमा भने अधिकतम १० वर्षको आधा ५ वर्ष जेल सजाय माग गरिएको छ । सोहीबमोजिम महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को जबर्जस्ती करणीसम्बन्धि दफा आकर्षित हुने गरी मुद्दा दायर गरिएको हो ।
त्यसमा थप फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ पनि आकिर्षत हुनेछ । कुनै सरकारी कार्यालय वा सार्वजनिक वा संगठित संस्थाको पद वा ओहोदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसुर गरेमा डेढी सजायको व्यवस्था छ ।
महराले आफ्नै सचिवालयमा कार्यरत महिलामाथि जबर्जस्ती करणी प्रयास गरेकोले दफा १५ ङ अनुसार उनीमाति मुद्दा दर्ता भएको छ ।