पवित्र पर्व छठमा – बढ्दो विश्वास


हरेकपल November 1, 2019

– बेनीबहादुर कार्की-

पवित्र पर्व छठ यस बर्ष कार्तिक १४ गते देखिनै शुरु भई सकेको छ । यो महिला प्रधान पर्व हो । यो पर्वमा प्रायः महिलाहरुनै ब्रत बस्ने गर्दछन् । यसको मतलव पुरुषले ब्रत बस्न नहुने भन्ने होइन । यो पर्र्व पवित्र धार्मिक पर्व भएकाले प्रायः महिलालेनै भाकल गरेर ब्रत बस्ने गर्दछन् र भनेअनुसार ब्रत गरेपछि मागेको फल पुग्ने भएकाले यसको प्रभाव दिनानुदिन बढ्दो छ ।

यसरी यो पर्व महिला प्रधान छ । पुरुषहरुभने सहयोगीको भूमिकामा ब्रतालुलाई सहयोग गर्ने गर्दछन् । यो पर्वको प्रभाव मधेसमा धेरै भएपनि बिस्तारै यसको प्रभाव काठमाडौंदेखि पहाडमासमेत बढ्दै गएको छ । यता केही बर्षदेखि काठमाडौंको रानीपोखरी, कमलपोखरी, नागपोखरी लगायतका स्थानहरुमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसमेत यो पर्वमा सहभागि हुने गरेकाले यो पर्वको महत्व झन् राजधानीमा बढेको छ । यसरी छठ पर्वको महत्व मधेस, पहाड जताततै बढ्दो छ ।

विधिअनुसार यो पर्व चारदिनसम्म मनाइन्छ । कार्तिक १४ गते स्नान गरी चोखो खाना खाएर ब्रतको शुरुवात गरिन्छ । कार्तिक १५ गते खरनाकोरुपमा चोखो भएर नुन बिनाको प्रसादी खीर पुरीमात्र खाने चलन छ । कार्तिक १६ गते प्रसादीका सामग्री तयारगरी सँझिया घाट गरिन्छ ।

जहाँ सबै प्रसादी केरा, ठेकुवा फलफुल आदी लिएर नदी वा पोखरीको पानीमा स्नान् गरेर घन्टौंसम्म आधा शरीर पानीमा डुबाएर अस्ताउँदो सुर्यलाई प्राथना गरेर सुर्य अस्ताउने समयमा सुर्यलाई अर्गसमेत सबै ब्रतालुहरुले चढाउँदछन् । र, आ–आफ्नो स्थान (पाल) मा रातभरी सुर्य भगवानको गीत भजन सहितको प्रार्थना गर्दछन् र १७ गते आइतबार बिहान सुर्य उदाउनुभन्दा घन्टौं पहिलेदेखि पुनः पानीमा स्नान गरेर आधा शरीर पानीमै डुबाएर सूर्य र छठीमाताको पूजा र आरधाना गर्दछन् । यसलाई सबेरै घाट भनिन्छ ।

सूर्य उदाउनासाथ सूर्यको दर्शन गरेपछि यो ब्रत सम्पन्न भएको मानिन्छ । यसपछि ब्रतालुले पनि प्रसादी खान्छन् र प्रसादीसहित आफ्नो घर,घरमा गएर आफन्त, इष्टमित्र नातेदारलाई घरमै बोलाएर प्रसादी खुवाउने वा घरमै प्रसादी लगिदिने चलन छ । यसरी यो पर्बपनि खर्चिलो भएको छ । पवित्र पोशाक,धेरैथरीका प्रसादीहरु चारदिनसम्म तयार गर्नुपर्ने र सबै आफन्तहरुलाई खुवाउनुसमेतपर्ने भएकाले यो पर्वमा ब्रतलिने र निजको घर परिबारमा धेरै खर्च लाग्ने भएकाले तयारी गर्नभने सजिलो छैन । तैपनि पवित्र पर्व भएकाले र ब्रत गरेपछि मागेको फल पाउने गरेकाले दिन, दिनै यो ब्रतको प्रभाव बढिरहेको छ ।

यो पर्व पवित्र पर्व भएकाले यसमा माछा,मासु बर्जीत छ । शुद्ध साकाहारी भोजन, त्यस्मापनि नुनसमेत नखाएर ब्रत गरिने हुनाले यो ब्रत अरुझैं त्यति सजिलो छैन । अझ यो ब्रतमा मानेकाहरुले आफ्नो निबासदेखि घाटसम्म आफ्नो शरीर र हातले बाटो नापेर जाने पनि कसै–कसैले गरेका हुन्छन् । यो त झन् अतिनै कठिन कार्य हो । यो सबैबाट सम्भब हुँदैन । सक्नेले प्रायः तीन बर्षसम्म यो कठीन ब्रत पनि गर्ने गरेको पाइन्छ । कार्तिक १५ गते साँझ घाटमा हेर्न गएका दर्शकले यो दृश्य धेरै स्थानमा हेर्न पाइन्छ ।

यसरी यो पर्व बहुतै पवित्र, साक्षात र शुद्ध साकाहारी र सबैको सम्मान हुने र बलि पनि दिनु नपर्ने भएकाले यो पर्वको प्रभाव बढिरहेको छ । के मधेस, के पहाड, के हिन्दु, मुसलमानले पनि यो पर्व यता आएर मनाउन थालेका छन् । यो पर्वको महत्वपूर्ण कार्य भनेको तेश्रो दिनको सँझीया घाट र चौथो वा अन्तिम दिनको सबेरै घाटमा मधेसमा जहीं तहीं नदी र पोखरीमा ब्रतालु ,सहयोगी र दर्शकको भीड लाग्ने गर्दछ ।

खास गरेर जनकपुरको गंगासागर र बीरगंजको घडीयामाइ पोखरीमा बिशेष रौनक र दर्शकको भीड,भाड हुने गर्दछ । यसरी यो पर्वले बिस्तारै ब्यापकरुप लिंदै छ । यस्तो पबित्र र साकाहारी पर्बलाई सबैले मान्नेहोभने बिस्तारै बली दिने पर्व हरु कम हुँदै जाने छन् । यसो गर्न सके सबै प्राणीको रक्षा पनि हुने र अहिलेको मान्सहारी भोजनले मानिसलाई हानी गरेर अल्पायुमै ज्यान जाने कारण घटेर मानिसको आयु पनि लामो हुँदै जाने छ । यसरी छठ पर्वले चौतर्फीरुपमा सबैलाई फाइदै फाइदा हुने देखिन्छ ।

( लेखक सर्लाहीबाट स्वतन्त्र पत्रकार हुनुहुन्छ )