डेंगुको ज्वरोबाट अत्तालिनुपर्दैन


हरेकपल November 1, 2019

डा. अनुप बास्तोला, प्रमुख कन्स्लट्यान्ट, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

यतिबेला एउटा रोगका कारण मान्छेमा आतंक फैलिएको छ । गर्मी मौसमका बेला लामखुट्टेको टोकाइबाट हुने विशेष खालको सर्ने डेंगु ज्वरो यतिबेला चर्चामा छ । मुलुकका मन्त्री, डाक्टर, अस्पतालका कर्मचारीदेखि सामान्य नागरिकसमेत यो रोगबाट संक्रमित भएका छन् । यो रोग कसरी सर्छ, यसको उपचार विधि के हुनसक्छ ? र, अपनाउनुपर्ने सावधानीका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.अनुप बास्तोलासँग गरेको कुराकानी :

० मिडियामा डेंगुबारे फरक–फरक शब्दावली प्रयोग भएको पाइन्छ, हो चाहिँ के ?
– उच्चारणमा फरक आएको हो, डेंगु, डेंगु नै भनिन्छ । त्यो उच्चारणको समस्या हो । तर महत्वपूर्ण कुरा डेंगु भनेको एउटा लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । संक्रमित लामखुट्टेमा भएको भाइरस मानिसमा प्रवेश गर्दछ ।

० लामखुट्टेमै डेंगुको भाइरस हुन्छ ?
– लामखुट्टेमै त्यो भाइरस हुन्छ, त्यसलाई हामी संक्रमित लामखुट्टे भन्छौं । जुन लामखुट्टे संक्रमित छ, त्यो डेंगु रोग भाइरस मानिसमा सार्न सक्षम हुन्छ । संक्रमित लामखुट्टेबाट जन्मेको अन्डाबाट डेभलप भएर जन्मेको अर्को पुस्तामा डेंगु रोग सार्न सक्छ । यही कारणले गर्दा जाडोयाम लाग्ने बेलामा डेंगु रोग सार्ने लामखुट्टे हराएर गए पनि अर्को वर्ष फेरि डेंगुका विरामीहरू बढेर आउन सक्छन् । यसको एउटै मात्र कारण अन्डाबाटै अर्को पुस्तामा डेंगु भाइरस सरेर जाने हो ।

० आफैं चाहिँ कसरी संक्रमित हुन्छ ?
– डेंगु लागेका संक्रमित व्यक्तिलाई ज्वरो आएको अवस्थामा अथवा लक्षण नदेखेका व्यक्तिको रगतमा भाइरियना भइरहेको अवस्था (पहिलो चरणको अवस्था) मा संक्रमण नभएको लामुखट्टेले त्यो व्यक्तिलाई टोक्छ, पोथी जातको लामखुट्टेलाई अन्डा पार्न विशेष प्रोटिनको जरुरी हुन्छ, जुन रगतबाट प्राप्त हुन्छ । अन्डा पार्ने बेलामा पोथी जातको एडिटाइपको लामखुट्टेको टोकाइ भयो भने मानिसमा भएको त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्दछ । लामखुट्टेमा आठ देखि १२ दिनमा त्यो भाइरस विकसित हुन्छ र त्यो लामखुट्टेले अर्कोपालिमा अन्डा पार्ने बेलामा अरु व्यक्तिलाई टोक्न पुग्दछ र डेंगु रोग सार्न सक्छ ।

० कुनै विशेष जातको लामखुट्टेले टोक्यो भने मात्र यो रोग सर्छ भनिन्छ नि ?
– लामखुट्टेका चारवटा प्रजाति छन् । किलेक्स, डाइनोमेनिक्स, म्यानसोनिक र एडिक प्रजातिको हुन्छ । एडिक भन्ने जातको लामखुट्टे जुन साँझबिहान बढी सक्रिय हुन्छ, त्यो लामखुट्टेले डेंगु रोग सार्छ । साँझबिहानमा मानिसहरू पनि सक्रिय हुन्छन्, त्यसबेला पोथी लामखुट्टेबाट एकजना मानिसबाट खाना पूरा गर्न सक्दैन, त्यो अवस्थामा उसले धेरै मानिसको रगत चुस्न पुग्छ । यो रोग धेरै मानिसलाई देखिनुको कारण पनि यही हो । जस्तो, किलेक्स जातको लामखुट्टेको अर्को प्रजातिले जापानिज इन्स्फ्लाइटिस रोग सार्छ, यसले राति टोक्छ, त्यसबेला मानिस निष्क्रियजस्तै हुन्छ, त्यो बेला लामखुट्टे एउटै व्यक्तिबाट अघाएर जान्छ । तर एडिग भन्ने लामखुट्टेले दिउँसो मात्र टोक्छ, त्यसबेला मानिस पनि सक्रिय नै हुने भएकाले एकजना मान्छेसँग मात्र उसले अघाउन्जेल रगत लिन सक्दैन । त्यसकारण उसले धेरै मानिसलाई टोक्छ । यसले टोकेपछि डेंगु, चिकिमिनियाँ, एल्लो फेविर, जिकालगायतको रोगको प्रकोप चाँडै फैलिएको देखिन्छ । धेरै मानिसहरू संक्रमित हुने गर्दछन् ।

० एडिगले टोक्दा मात्र डेंगु संक्रमित हुन्छ ?
– अरु लामखुट्टेबाट सर्दैन, एडिग प्रजातिको लामखुट्टेको टोकाइबाट मात्र डेंगु रोग सर्छ । अरु प्रजातिको लामखुट्टे डेंगु संक्रमित हुँदैन ।

० यसको प्रारम्भिक लक्षण के हुन् ?
– दसजनालाई डेंगु भएको छ भने १० जनाले मात्र लक्षण देखाउँछन् । अरु सबै लक्षणविहीन हुन्छन् । केही पनि देखिँदैन, यसलाई हामी बिना लक्षणको इन्फेक्सन भन्छौं । यी १० मध्ये पनि पाँचजनालाई भाइरलजस्तो ज्वरो आउँछ । मौसमी रुघाखोकीको जस्तो लक्षण हुनसक्छन् । यी पाँचजनालाई चाहिँ क्लासिकल डेंगुको ज्वारो देखिन्छ । सुरुका लक्षणमा ज्वरो आउँछ, टाउको दुख्छ, आँखाका गेडीहरू दुख्छन् । मासंपेशी र जोर्नीहरू एकदमै दुख्छन् । शरीर कटकटी खाएजस्तो हुन्छ । डेंगुको संक्रमण भएपछि कहिलेकाहीँ शरीरमा रातो दाग पनि आउने गर्दछन् । यो पनि धेरै प्रकारका हुन्छन् । कहिलेकाहीँ रगत खराब भएर रातो दाग आउँछ, कहिलेकाहीँ सन्चो हुनेबेलामा अलिकति चिलाउने राता खटिराहरू पनि आउन सक्छन् ।

धेरै कम व्यक्तिहरूमा अलिकति होमोरोजी फिगरका रूपमा हामीले देख्न सक्छौं । जस्तो, रगत बग्ने लक्षणहरू देख्न सकिन्छ । यसको कारणले गर्दा केही व्यक्तिहरूमा रगत नली जसलाई प्लाज्मा भनिन्छ, त्यो हाम्रो शरीरको विभिन्न भागमा जस्तो फोक्सो र पेटमा जम्मा हुन पुग्छ । त्यसपछि हाम्रो शरीरको रक्तचाप घटेर जान्छ । रक्तचाप घटेर गएको अवस्थामा हाम्रो शरीरको अंगलाई चाहिने जस्तो मृगौलालाई चाहिने न्यूट्रेसन अक्सिजन पुग्दैन । त्यसपछि रक्तकोसिका मर्न थाल्छ । त्यसपछि मान्छेको मृत्यु पनि हुनसक्छ । तर डेंगुको कारण मान्छेको मृत्यु निक्कै कम हुने गर्दछ ।

फिलिपिन्समा डेंगु भाइरसको चारवटै प्रजाति भएका मान्छेहरू छन् । यसपालि डेंगु भाइरसले पचासौं हजार मानिसहरू संक्रमित भए, तर मृत्यु हुनेको संख्या ६२२ जना मात्र छ । अर्थात् डेंगुले मानिसको मृत्यु एकदमै कम हुन्छ । डेंगु दोस्रो पटक हुँदा मानिसलाई अप्ठ्यारो पार्छ । यसका चारवटा प्रजातिहरू हुन्छन् । एकपटक डेंगु भयो भने विस्तारै शरीरमा शक्ति बन्दछ, त्यसपछि हाम्रो शरीरमा त्यो प्रजातिको डेंगु हुँदैन, अरु प्रजातिको डेंगु हुनसक्छ । अरु तीन प्रजातिको डेंगु भयो भने शरीरमा पहिला रहेको शक्तिको कारणले अझ साह्रो किसिमले डेंगुका विरामी देखिन सक्छन् ।

० त्यही प्रजातिले सारेको डेंगु रोग फेरि लाग्दैन भन्ने कुरा सत्य हो ?
– एडिग भन्ने छिर्केमिर्के भएको साँझबिहान टोक्ने लामखुट्टे हो । त्यही लामखुट्टेको टोकाइबाट डेंगु भन्ने रोग लाग्छ । यो लामखुट्टेमा चारवटै प्रजातिको भाइरस विकसित हुनसक्छ र यो लामखुट्टेले चारवटै प्रजातिको डेंगुको भाइरस सार्न सक्दछन् । जस्तो, तपाईंको क्षेत्रमा डेंगु–१ को संक्रमण फैलिरहेको छ भने अर्को पटक डेंगु–२ को लामखुट्टेबाट प्रभावित क्षेत्र भयो र त्यसले डेंगु–२ सा¥यो भने डेंगु–१ बाट तपाईं जीवनभर सुरक्षित हुनुभयो, तर डेंगु–२, डेंगु–३ र डेंगु–४ बाट सुरक्षित रहन सक्नु हुन्न । डेंगुका लक्षणहरू देखिन सक्छ, दाँजेर हेरियो भने पहिलोपटक डेंगु भएको भन्दा दोस्रोपटक डेंगु हुँदा अझ साह्रो हुन्छ ।

० रोग निको हुन अझ समस्या पर्छ ?
– रोग निको हुनुभन्दा पनि यसको कारणले गर्दा जटिलताहरू आउन सक्छ । तर त्यो न्यून रूपमा हुन्छ ।

० एक मान्छेबाट अर्को मान्छे पनि संक्रमित हुनसक्छ ?
– यो लामखुट्टेले सार्ने रोग हो । अरु कुनै माध्यमबाट यो डेंगु रोग सर्दैन । खोक्दा, हाँछ्यु गर्दा र सँगै बस्दा यो रोग सर्दैन । डेंगु सर्दा तपाईंलाई संक्रमित लामखुट्टेले टोकेकै हुनुपर्छ ।

० यो कत्ति खतरनाक रोग हो ?
– डेंगु रोगको ज्वरोलाई खतरनाकका रूपमा लिनु हुँदैन । यसलाई सामान्य भाइरल ज्वरोको रूपमा लिँदा हुन्छ । ९९ प्रतिशत मानिसलाई डेंगुजन्य ज्वरोको लक्षण आउँछ । त्यो लक्षण दुईदेखि पाँच दिनसम्म मात्र बस्ने गर्छ । विरामीलाई दुखाई सहन अप्ठ्यारो हुनसक्छ, शरीर कटकटी खाने हुनसक्छ, मासंपेशी एकदमै दुख्ने हुन्छ । जब हाम्रो शरीरमा यो भाइरसविरुद्ध शक्ति बन्छ, दुईदेखि सात दिनपछि त्यो भाइरस हराएर जान्छ । त्यो मान्छेले जीवनभर त्यो भाइरसविरुद्ध इम्युनिटी प्राप्त गर्छ । अर्थात् डेंगु ज्वरो सामान्य किसिमको भाइरल ज्वरो हो, यसमा डराइहाल्नुपर्दैन ।

यदि कुनै लक्षणहरू जस्तै पटक–पटक उल्टी भइरहेको छ, रोकिँदैन, पेट एकदमै दुखिरहेको छ, गिजाबाट रक्तश्राव भइरहेको छ, श्वासप्रश्वास एकदमै बढेर गएको देखियो, श्वास फेर्न गाह्रो हुन थाल्यो, दिसामा रगत आउन थाल्यो भने ती व्यक्तिहरू अस्पताल गएर उपचार गराउन जरुरी हुन्छ । नत्र, डेंगु ज्वरो आएका ९९ प्रतिशत मानिस घरमै उपचार गराएर बस्न सक्छन् । डेंगु सक सिन्ड्रम भएका १ देखि ५ प्रतिशत विरामीको उपचार गर्ने संस्थाको अनुभवले विरामीलाई मृत्युबाट बचाउन सक्छन् ।

० कुनै रोग लागेको व्यक्तिलाई डेंगुको संक्रमण देखियो भने कत्तिको खतरा हुन्छ ?
– दोस्रोपटक डेंगु भएको छ भने केही खतरा हुनसक्छ । थाइल्यान्ड वा म्यानमारतिरको डेंगु–२ भाइरस हो भने केही खतरा हुनसक्छ । यदि डेंगु भएको विरामीलाई टाइफाइड फिबर पनि सँगसँगै छ, स्पाइरोसिस छ अथवा स्क्रपटाइपस भन्ने रोगहरू सँगसँगै देखिएको छ भने उनीहरूलाई जटिलता हुन्छ । सेकेन्डरी भ्याक्टोरिया इन्फेक्सन भएका व्यक्तिहरूको शंका न्यून (७ प्रतिशतभन्दा कम) हुन्छ, लक्षण न्यून देखिन्छ, ती व्यक्तिहरूको मृत्यु हुनसक्ने सम्भावना बढी हुन्छ ।

० यसको उपचार विधि के हो ?
– यसको उपचार विधि लक्षणअनुसारको हुन्छ । शरीरको मांसपेशी, जोर्नी, टाउको, पेट दुख्छ ज्वारो आउँछ भने त्यस्ता व्यक्तिलाई प्यारासिटामोल खानका लागि सुझाव दिन्छौं । झोल कुरा प्रशस्त खानुपर्छ, डेंगु ज्वरोको उपचारका लागि झोल कुरा र सिटामोल नै उपचार हो । कोही व्यक्तिलाई जटिलता देखिएको छ भने आवश्यक उपचार अस्पताल भर्ना गरेर गर्नुपर्छ । पटकपटक उल्टी भएको, पेट एकदमै दुखिरहेको विरामी छ, गिजाबाट रगत बगिरहेको छ, रक्तश्रावका लक्षण देखिन्छन्, श्वासप्रश्वासमा समस्या भएको देखिन्छ भने त्यस्ता व्यक्तिलाई हामीले अस्पतालमा भर्ना गरेर आवश्यकताअनुसारको उपचार विधि गर्नुपर्छ ।

डेंगु भाइरसकै लागि भनेर एन्टिभाइरस औषधि बजारमा पाइँदैन । रगतमा भाइरस हुँदा केही समस्या गर्छ, तर शरीरको शक्ति जब हामीसँग बन्छ, त्यसपछि त्यो भाइरसलाई त्यो शक्तिले निर्मुलपार्छ । त्यसपछि जिन्दगीभर त्यो भाइरस हाम्रो शरीरमा आउँदैन । खासै ठूलो उपचार पद्धति यसका लागि छैन । यसबाट बच्नका लागि खोपको व्यवस्था अहिलेसम्म छैन । केही समयअघि अध्ययन भएको छ, त्यो अहिले पूरा भएको छैन ।

० डेंगु लागेका एकजना मन्त्रीलाई आईसीयूमा राखेर उपचार गरिएको छ नि ?
– यसले एकदमै गलत सन्देश दिइरहेको छ । उपचार भइरहेको अस्पतालले अहिले उक्त कुराको खण्डन गरिसकेको छ । डेंगु ज्वरो घरमै बसेर सिटामोल र झोलिलो पदार्थ खाएर म्यानेज गर्न सकिने रोग हो । मैले अघि भनेजस्तो जटिलता आयो भने मात्र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्छ । अस्पताल भर्ना भएका केही विरामीहरू जस्को रक्तश्राव भइरहेको छ, शरीरमा खटिरा आएर विभिन्न असर देखिन्छ भने त्यस्ता व्यक्तिलाई मात्र आईसीयूमा राखेर उपचार गरिन्छ । आईसीयूमा राख्नुपर्ने विरामी संसारमा एकदमै थोरै हुन्छन् । दसौं हजार मान्छेमध्ये तीन–चारजनालाई मात्र आईसीयूमा राखेर उपचार गराउनुपर्ने हुन्छ । मन्त्रीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने होइन भन्ने जानकारी हामीलाई प्राप्त भएको छ ।

ध्यानुपर्ने कुरा के हो भने, डेंगु एक किसिमको भाइरल ज्वरो हो, यसमा हामीले झोल कुरा र सिटामोल खाए पुग्छ, यसमा कुनै एन्टिबायोटिकको भूमिका हुँदैन । एन्टिबायोटिकले ब्याक्टिोरिया मार्ने हो, यो डेंगु भाइरस हो । विरामीमा त्रास आउने भनेको शरीरको रक्त कोषिकाहरू घटेर गयो भनेर त्रासमा आउनुहुन्छ । हो, डेंगु भाइरसले गर्दा केही समयका लागि हाम्रो रगत बनाउने फ्याक्ट्री बोनम्यारो त्यसले काम गर्न सक्दैन, त्यतिबेला घटेर जाने हो । पछि त्यो यथास्थानमा आउँछ । त्यही घटिरहेका बेलामा कुनै किसिमको समस्या देखिँदैन । त्यो घटिहाल्यो भन्दैमा डराउनुपर्दैन । डेंगुका ९९ प्रतिशत विरामीको उपचार घरमै सम्भव हुन्छ ।

० मन्त्री उपचारका लागि पहिला तपाईंहरूकहाँ आउनुभएको थियो ?
– मन्त्री शुक्रराज ट्रपिकल अस्पतालमा उपचारका लागि आउनुभएको कुरा मैले समाचारमा पढेको हुँ । उहाँलाई हामीले उपचारका लागि कतै जान सिफारिस गरेका छैनौं । परिवारको सदस्यबाटै पे्ररित भएर उहाँ निजी अस्पतालमा उपचारका लागि जानुभयो होला ।

० सरुवा रोग होइन भन्नुहुन्छ, तर तपाईंका अस्पतालका कर्मचारी आफै विरामी भइरहेका छन् नि ?
– यसलाई हामी सरुवा रोगकै रूपमा लिन्छौं, तर संसर्गमा आएर सार्ने रोग होइन । जस्तै, इन्फ्लुएन्जा, एचआईभी वा टिबीजस्ता रोगहरू डेंगु ज्वरो होइन । यसलाई किटजन्य सरुवा रोगका रूपमा लिन सकिन्छ । संक्रमितबाट लामखुट्टेको माध्यमबाट अर्कोलाई सर्न सक्छ ।

० डेंगु ज्वरो उपचारका लागि आएका विरामीबाट कर्मचारीमा सरेको होइन ?
– ज्वरो आएका व्यक्ति जसको शरीरमा भाइरसहरू आइरहेको हुन्छ, त्यस्ता व्यक्ति उपचारका लागि अस्पतालमा भर्ना भएका हुन्छन् । हामीसँग रैथाने लामखुट्टे छ, डेंगु सार्न सक्ने लामखुट्टे काठमाडौंमा र हाम्रो अस्पतालमा पनि छ । डेंगु लक्षण भएका विरामी आउन थालेको झन्डै तीन महिनाजति भयो । यहाँका रैथाने लामखुट्टेले उपचारका लागि भर्ना भएका विरामीलाई टोक्न पुग्यो । त्यो भाइरसको वृद्धिविकास ८–१० दिनमा भयो होला । यो लामखुट्टेले अन्य व्यक्तिमा रोग सार्न सक्षम भयो । अर्थात् रैथाने लामखुट्टेले संक्रमित व्यक्तिबाट संक्रमित भयो । हाम्रा स्वास्थ्यकर्मी जो क्वार्टरमा बस्नुहुन्छ, साँझबिहान निस्कँदा संक्रमित रैथाने लामखुट्टेले टोक्न पुग्यो कि । अस्पताल परिसरमा बस्ने हाम्रा तीनजना साथीहरूलाई डेंगु देखियो । अन्य बाहिर बस्ने साथीहरूलाई पनि संक्रमण देखियो । अहिले जताततै डेंगुका विरामी छन् । रैथाने लामखुट्टेबाटै हाम्रा साथीहरूलाई डेंगु सारेको हुनसक्ने सम्भावना बढी देखिन्छ ।

साभार: तरुण साप्ताहिक