शनिबार तेस्रो डायलासिसका लागि प्रधानमन्त्री ओलीलाई ग्राण्डीले बोलायाे


हरेकपल November 1, 2019

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार पुनः मिर्गौलाको डायलासिस गरिने भएको छ । उनी बुधबार र बिहीबार धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार गराएर फर्किएका थिए । चार दिनको बीचमा उनको तेस्रो डायलासिस हुने भएको हो ।  

प्रधानमन्त्रीले सातामा तीनपटक डायलासिस गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । डायलासिसको विकल्पमा पुनः मिर्गौला प्रत्यारोपणमा समेत जान सकिने स्रोतको भनाइ छ । 

तेस्रो डायलासिसका लागि प्रधानमन्त्री ओलीलाई चिकित्सकले शनिबारका लागि बोलाएको स्रोतको भनाइ छ । यसअघि प्रधानमन्त्रीको दुईपटक डायलासिस भइसकेको छ ।

भारतको नयाँ दिल्लीमा १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली नियमित फलोअपका लागि गत साउनमा सिंगापुर गएका थिए । सिंगापुरमा उनले पहिले खाने औषधि परिवर्तन गरिएको थियो ।

औषधिको नकारात्मक असर देखिएपछि भदौमा प्रधानमन्त्री ओली फेरि सिंगापुर गएका थिए । प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा जटिलता बढ्दै गएकाे देखिन्छ ।