आज छठपर्व महिमासहित हेर्नुहोस् आजको दिन २०७६ कार्तिक १६ गते


हरेकपल November 2, 2019


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको १६ गते शुक्रवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको षष्ठी तिथि राति ४।२६ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाषाढा नक्षत्र राति २।४६ बजेसम्म रहनेछ । यसैगरी आज सुकर्म योग र कौलव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।१५ मा छ भने सूर्यास्त बेलुका ५।१८ बजे हुनेछ ।


चन्द्रमा आज धनु राशिमा छन् । आज छठपर्व अस्ताउँदो सूर्यलाई अर्घ दिएर देशभर मनाइदैछ । कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको धार्मिक एवं साँस्कृतिक महिमा पाइन्छ । यस पर्वमा सूर्यको विशेष उपासना गरिन्छ । सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । वेदले पनि सूर्यको उपासना गरेको पाइन्छ । सूर्यसूक्त यसको प्रमाण हो । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ । यसैगरी देवी भागवतामा पनि षष्ठिका देवीको महिमागान गरेको पाइन्छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले पनि यो व्रत धारण गरेको वर्णन महाभारतमा उल्लेख छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रतधारण गरेको पाइन्छ । शारदीय र वासन्तिक गरी वर्षमा दुई पटक छठ पूजा हुने गर्दछ । शारदीय अर्थात् कार्तिक शुक्ल पक्षको छठ विशेष रूपमा मनाउने परम्परा चलिआएको छ । चैत्र शुक्लषष्ठीका दिन पनि छठ पूजा हुने गर्दछ । पृथ्वीमा पर्याप्त प्रकाश छरेको र कामना पूर्ण गरेकोमा सूर्यलाई धन्यवाद दिदै यो पर्व मनाइन्छ ।


यो पर्वमा षष्ठिका देवीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । यो पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन रहेको छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्