श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको १७ गते आइतवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको सप्तमी तिथि राति ५।१४ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । उत्तराषाढा नक्षत्र राति ४।६ बजेसम्म रहनेछन् । यसैगरी आज धृति योग र गर करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।१६ मा छ भने सूर्यास्त बेलुका ५।१७ बजे हुनेछ ।
चन्द्रमा आज धनु राशिमा छन् । आज रविसप्तमीव्रत परेको छ । आइतवार सप्तमी तिथि परेको दिन रविसप्तमी हुन्छ । आज सोही संयोग जुरेको छ । सूर्य भगवान्को आराधना गर्ने यो उत्तम दिन हो । सूर्यजन्य दोष निवारणका निम्ति पनि रविसप्तमीको व्रत धारण गर्न सकिन्छ । आज सूर्य भगवान्लाई अर्घ दानपूर्वक उपासना गर्न सकिन्छ । यसैगरी आज राता वस्तुको प्रयोग पनि शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्