पत्रकारको सुरक्षा विना सत्य र तथ्यपूर्ण सूचना कसरी पाइएला र ?


हरेकपल November 3, 2019

-हरिविनोद अधिकारी-

एउटा कल्पना गरौँ—सबैलाई निर्वाध अभिव्यक्ति स्वतन्त्रता छ, सबै मानिसहरु मानव अधिकारको प्रयोग निर्वाध तरिकाले गरिरहेका छन् । सूचनाको खुलासामा कसैको कुनै दबाब छैन, भ्रष्टाचारका लागि शून्य सहनशीलता छ, सबै आफ्ना आफ्ना काममा दत्तचित्त छन् ।

मुलुकमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका शक्ति सन्तुलनका हिसाबले चुस्त दुरुस्त छन् । संविधानका प्रावधानलाई कसैले पनि कहिल्यै उल्लङ्घन गर्दैनन् । अनि समाजका वारेमा आउने समाचार र विचारका वारेमा , व्यक्तिका वारेमा आउने समाचार, विचारका वारेमा सबै उत्तरदायी छन् र समाजमा सहिष्णुता छ । वास्तवमा प्रजातन्त्र भनौँ वा लोकतन्त्र भनौँ , त्यसमा देखिनु पर्ने शासन प्रणाली र प्रजातान्त्रिक सँस्कार भनेको नै त्यही हुनुपर्ने हो । अर्थात् हामी त्यस्तो विश्वको कल्पना गर्दछौँ जहाँ दण्डहीनता नहोस् , सँसदले बनाएको विधिको पालना सहज तरिकाले होस् । नागरिकका वारेमा कुनै विभेद नहोस् । कोही ठूलो वा कोही सानो नहोस् । सबैका लागि कानुनको छाता बराबर होस् ।

मानव अधिकारको पालना भन्ने पनि त्यही हो, सामाजिक न्यायको विस्तार भनेको पनि त्यही हो र दण्डहीनता कतै नदेखियोस् भन्ने पनि त्यही हो ।

जुनबेलामा प्रजातन्त्रको कल्पना गरिएको थियो, त्यो बेलामा यही आदर्शको कल्पनामा कतिले आफ्नो अमूल्य जोबन अर्पिए,कतिले आफ्नो जीवन अर्पिए, कतिले आफ्नो कलकलाउँदो जोबनलाई जेलको कालकोठरीमा बिताए । तिनको एउटै सपना थियो होला, समतामूलक समाज । निर्वाध मानव अधिकारको प्रयोग जहाँ कतैबाट पनि कुनै प्रकारको वाधा नदेखियोस् । वाधा पु¥याउने तत्वलाई विधिको शासनले नै समाधान गरोस् । यसरी समाधान गरोस् कि कसैले पनि विधिको शासनलाई चुनौती दिनै नसकून् ।

यसका लागि अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोग ,त्यो पनि स्वतन्त्रतापूर्वक गर्न पाउने हकको सदुपयोग गर्न सकियोस् । अभिव्यक्ति स्वतन्त्रता, सूचना प्राप्तिमा स्वतन्त्रता,कामको लागि रोजगारीको छनोट र बाँच्न पाउने हकको स्वतन्त्रता,गलत कामको विरुद्धमा सचेत गराउने स्वतन्त्रता र न्यायको लागि आह्वान गर्ने स्वतन्त्रता नै मौलिक हकअन्तर्गत पर्ने कुराहरु हुन् । मौलिक हकहरुको स्वतन्त्रतापूर्वक प्रयोग गर्न पाएको वा न पाएको अनुगमन गर्ने भनेको नै पत्रकारिताले हो । त्यसैले आमरुपमा पत्रकारितालाई राज्यको चौथो अङ्ग भनिएको होला । राज्यका ती तीन अङ्गको रेखदेख गर्ने र भएका कामको लेखाजोखा गर्दै सचेत बनाउने देखि सुझाब सम्म दिने भएकाले पत्रकारिताको महत्व बढेको हो ।

त्यो पत्रकारिता गर्ने त पत्रकारले हो । सँस्थागतरुपमा पत्रकारिता गरे पनि सदुपयोग गरेर समाचार , विचार, चित्र, धारणा , अन्तरवार्ताका माध्यमबाट समाजलाई सुसूचित गराउने र समाजका तर्फबाट ती सार्वजनिक निकायहरुको काम कार्बाहीहरुको जानकारी दिने भनेको नै पत्रकारिताले हो, पत्रकारले हो । डर र त्रासविना देखिएको बोल्ने, लेख्ने र दृश्यमा देखाउने काम पत्रकारले गर्ने हो ।
प्रजातन्त्रका गुणहरु जेजे भए पनि यता केही वर्षदेखि पत्रकारिता र पत्रकारहरु खतरामा छन् । सोचेजस्तो कहाँ हुने रहेछ र ? पत्रकारहरुको अवस्था नाजुक यसकारणले छ कि निर्वाध आफ्नो काम गर्ने छुट पाएका छैनन् ।

प्रत्येक वर्ष पत्रकारमाथिको ज्यादती थपिँदो छ । हत्याका घटनाहरु र पत्रकार बेपत्ता पार्ने घटनाहरु बढेकै छन् । समाजमा हुने भ्रष्टाचार, चोरी, निर्वाचन अपराध, मानव तस्करी, लागुपदार्थ ओसार पसार, भूमाफियाका चर्तिकला , बलात्कार आदिका घटनाको खुलासा गर्ने बित्तिकै पीडकपक्षले पत्रकारमाथि हमला गर्ने, आक्रमण गर्ने अनि त्यसका वारेमा कसैले पनि वास्ता नगर्ने अनि कसरी स्वतन्त्र पत्रकारिता फस्टाउने होला र ? तर पत्रकारहरुले खतरा मोलेकै छन्,सत्यको खुलासा गरेकै छन् र प्रताडना पनि खपेकै छन् । हत्या गरिएका पत्रकारहरुका वारेमा कुनै छानबिन गरिएको पाइँदैन । भनिन्छ, ९०प्रतिशत घटनाका वारेमा कुनै छानबिन पनि हुँदैन, यदि समाजलाई देखाउन भइहालेको रहेछ भने पनि धीमा गतिमा कार्बाही हुन्छ जसको कुनै परिणाम तत्काल देखिँदैन ।

खासगरी युद्धरत क्षेत्रमा सत्य सधैँ ओझेलमा हुन्छ, पत्रकारले सत्यको खोजी गर्नु भनेको पत्रकारले आफ्नो पेसाबाट हातधुनु पनि हो , ज्यान नै माया मार्नु पनि हो र परिवारसमेतको लागि खतरा मोल्नुुपर्ने अवस्था आउनु पनि हो । त्यसैका लागि पत्रकारहरुमाथि हुने अपराधको अन्त्यका लागि नोभेम्बर २लाई संयुक्त राष्ट्रसंघले पत्रकारमाथि हुने अपराधको अन्त्यका लागि दिवस तोकेको पाइन्छ । वर्षको एकदिनमात्र त्यो दिवस मनाउने कुरामात्र होइन, पत्रकारको कलम वा माइक वा क्यामेराले जेजे कुरोको खुलासा गरे पनि सहने र गलत भए खण्डन गरेर वा अदालतमा उजुर गरेर आफूले न्याय पाउने हक सबै नागरिकको हुने कुरामा प्रत्याभूति दिलाउन सक्नुपर्छ ।

एकातिर हामी विश्व एउटा साँधुरो गाउँजस्तै तत्काल पहुँचयोग्य भइसक्यो पनि भन्छौँ सञ्चारको विकासले अनि फेरि त्यही सुसूचित गर्ने पत्रकारलाई मार्ने , धम्क्याउने, अपाङ्ग बनाउने , बेपत्ता पार्ने काम पनि भइरहेको पाउँछौँ । हाम्रो देशमा जनयुद्ध कालमा भएका घटना हुन् या पछि भएका थुप्रै घटनाहरुमा , दण्डहीनता मौलाएको छ भनिन्छ र कतिपय बेपत्ता पारिएका पत्रकारहरुको वारेमा कुनै जानकारी पाउन सकिएको छैन , हत्या भएका पत्रकारहरुका हत्याराहरु स्वतन्त्रतापूर्वक धम्कीसमेत दिएर बाहिर घुमेका पाइन्छन् भनिन्छ ।

अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगको निर्भय वातावरण बनाउने काम त सरकारको हो । सुरक्षाको जिम्मा लिने सँस्थाहरुको हो । विधिको शासन स्थापना गर्ने आधिकारिक सँस्था भनेको नै सुरक्षा निकाय र न्यायिक निकायहरुको हो । अर्थात् सरकारको जिम्मा र उत्तरदायित्वमा पर्ने कुरा हो ।

पत्रकारहरुको पेसा नै जोखिम उठाएर भए पनि सत्यको खोजी गर्ने भएकाले त्यस्तो खोजी गर्दा पर्ने खतराका वारेमा कतैबाट सुरक्षाको प्रत्याभूति आवश्यक पर्छ । त्यो दिनसक्ने सरकारले मात्रै हो । पत्रकारको सुरक्षाका वारेमा विभिन्न उपायहरु अपनाउनु आवश्यक छ । त्यसको सचेतनाका लागि पनि समाजले पत्रकारहरुबाट लिएको फाइदा र उपयोगितालाई उच्च मूल्याङ्कन गर्नुपर्छ । अहिले संयुक्त राष्ट्रसंघ चिन्तित छ । संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुथरेसले पत्रकारविरुद्धको अपराधमा दण्डहीनताको अन्त्यका लागि मनाउन लागिएको अन्तराष्ट्रिय दिवस २०१९मा दिएको सन्देशको पूर्ण पाठमा ( २ नोभेम्बर, २०१९) भनेका छन् —अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र मिडिया, प्रजातन्त्रको प्रवद्र्धन , प्रजातन्त्रको समर्थन र दिगो विकासका लागि तय गरिएका लक्ष्यहरु प्राप्तिका लागि अति नै आवश्यक छन् ।

हालैका वर्षहरुमा पत्रकारहरु र मिडियामाथि भौतिक आक्रमणका घटनाहरु बढिरहेका छन् जसले पत्रकारहरु र सञ्चारकर्मीहरुको सुरक्षामा गम्भीर समस्या देखिएको छ । उनीहरुलाई उनीहरुको महत्वपूर्ण कामका लागि पहुँच नदिने, पक्रने, जेलमा कोच्ने, मार्ने धम्की दिने, खोजी पत्रकारितामा बाधा गर्ने अनि पत्रकारहरुविरुद्ध अपराध गर्नेलाई कुनै कार्बाही नगर्ने काम भइरहेको पाइन्छ ।
महिला पत्रकारहरु माथि झन बढी नै अपराधका घटनाहरु भएको पाइन्छ ।

खासगरी लैँगिक विभेदजन्य हिँसा जस्तै यौन हिँसा, यौनजन्य क्रियाकलाप र यौनजन्य हमला भएको पाइन्छ जसमा यौनजन्य धम्कीका घटनाहरु पर्छन् । जब पत्रकार आक्रमणको निसानामा पर्छ, उसमाथि आक्रमण हुन्छ, त्यसको मूल्य पूरा समाजले बेहोर्नु पर्छ । पत्रकारको सुरक्षाविना हामीले सुसूचित हुने कल्पनासम्म पनि गर्न सक्दैनौँ जसले हाम्रो निर्णय गर्ने क्षमतामा प्रत्यक्ष नकारात्मक प्रभाव परेको हुन्छ । पत्रकारले सुरक्षितरुपमा काम गर्ने वातावरण नबनुन्जेलसम्म विश्वभर अन्यौल र कुसूचित भइरहने अवस्था रहिरहन्छ । त्यसैले पत्रकारमाथि हुने अपराधको दण्डहीनताका विरुद्धमा हामी सबै पत्रकारहरु सँग सत्यका लागि र न्यायका लागि एकताबद्ध होऔँ ।

नेपालमा नेपाल पत्रकार महासंघ छ, पत्रकारहरुका अरु पनि पेसागत सँस्थाहरु छन् र सञ्चार गृहहरुले पनि दण्डहीनताका विरुद्ध सक्रियताका साथ लाग्नु जरुरी छ। समाज त उपभोक्ता नै हो सूचनाको । समाजले पनि , समाजका विभिन्न तहका व्यक्ति तथा नागरिक समाजले पनि पत्रकारमाथि हुने अपराधका वारेमा निर्भयताका साथ बोल्नु जरुरी छ ।

नत्र यस्तो बेला पनि आउने छ जहाँ सूचनाका वारेमा कुनै पनि स्वतन्त्र सँस्था वा व्यक्तिको कुनै योगदान हुनेछैन । जसरी सूर्यविहीन ब्रह्माण्डको कल्पना गर्न सकिँदैन, त्यस्तै प्रजातान्त्रिक समाजमा पत्रकारिता विनाको शासन प्रणाली र समाजको कल्पना गर्न सकिँदैन । तानासाहहरुका लागि पत्रकारहरु जहिले पनि खतराका घण्टी नै हुन्छन् । त्यसैले समाजको हितका लागि सरकारलाई खुला , पारदर्शी र उत्तरदायी बनाउन पनि निर्भयी पत्रकारकै जरुरत पर्छ ।

पत्रकारहरुमाथि हुने कुनै पनि प्रकारको ज्यादती र अपराधको अन्त्यका लागि समाजले पनि सकारात्मक भूमिका खेल्नु आवश्यक छ । सभ्य समाजका लागि खुला समाजको जुन जरुरत छ, त्यसका लागि पत्रकारको सुरक्षा त्यति नै जरुरत छ । पत्रकारको सुरक्षाविना सत्य र तथ्य सूचनाको कल्पना पनि गर्न सकिँदैन।