आश गुरुङ-
मनाङ। हिमालपारीको जिल्ला मनाङमा मिलारेपा लामा गुरुको सम्झनामा स्मृति पार्क निर्माण गरिएको छ । मिलारेपाको सम्झनामा माथिल्लो मनाङमा निर्माण गरिएको गुम्वा सहितको स्मृति पार्कको सोमबार उदघाट्न गरिएको छ । स्मृति पार्कको मनाङ गाउँको प्रमुख लामा गुरु कुन्साङ्ग गुरुङले उदघाट्न गर्नुभयो ।

स्थानीय लामा बुद्धिजीवीका अनुसार मिलारेपा अर्थात लामा गुरु योगीको रुपमा हिमाली क्षेत्रमा परापुर्वकालमा ध्यान गर्थे । मिलारेपाले परापुर्वकालदेखी तपस्या गर्दै आएको स्थान मनाङको भ्राका स्याकुङ्ग (हाल ङिस्याङ गाउँपालिका–५) मा मिलारेपा गुफा समेत रहेको छ । सो स्थान धार्मिक तिर्थ स्थलको रुपमा निकै परिचित छ । सो स्थानमा धेरै धार्मिक पर्यटक लगाएत अन्य पर्यटकहरु समेत पुग्ने गर्छन् । सो स्थानमा जान बृद्धबृद्धाका लागी कठिनाई हुने भएकाले सबैको सहजताका लागी स्थानीय लामा छोजे लामा फुन्छोक रिन्पोछेको एक प्रयासमा माथिल्लो मनाङमै मिलारेपा स्मृति पार्क निर्माण गरिएको हो ।

गुम्वा सहित निर्माण गरिएको यस पार्कमा मिलारेपा लामा गुरुको सम्पूर्ण इतिहास थाहा पाउन सकिने लामा फुन्छोक रिन्पोछेले जानकारी दिनुभयो । पार्कमा मिलारेपा लामा गुरुको ४ भाषा (तिब्बेतियन, नेपाली, अग्रेजी र चाईनिज) मा ईतिहास सँगै जीवनीबारे बुझ्न सकिने समेत उहाँले बताउनुभयो ।

विश्व विख्यात चर्किय अन्नपूर्ण पदमार्गमा पर्ने माथिल्लो मनाङमा बार्षिक हजारौँ अन्तरिक र बाह्य पर्यटक भित्रन्छन् । यहाँ आउने पर्यटकका लागी पनि यस स्मृति पार्क आकर्षणको माध्यम बन्न सक्ने स्थानीय समाजसेवी विनोद गुरुङले बताउनुभयो । स्मृति पार्क उदघाट्न समारोहका अवसरमा मनाङबाट प्रतिनिधी सभा सांसद कर्म घले, पूर्व मन्त्री टेक बहादुर गुरुङ, विभिन्न देशका ख्यातिप्राप्त लामा गुरुहरुको सहभागीता थियो । यस स्मृति पार्क निर्माण कार्यको समन्वय भने, स्थानीय पर्यटक व्यवसायी छिरिङ ओङ्गमा घलेले गर्नुभएको थियो ।