काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउन सरकारसँग माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कालापानी र लिपुलेक नेपालका अभिन्न अंग भएको भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउन तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभएको छ ।

उहाँले नेपाली जनताको चाहना बमोजिम उक्त भूभाग बारे ओली सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै नेपालको एक मुठ्ठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य नहुनेसमेत बताउनुभएको छ ।
“नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभागहरु कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति नेपाल तरुण दलको गम्भीर ध्यानाकर्षण भएको छ,” बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने तीन करोड नेपाली जनताको आत्मामा चोटपुग्ने विषय आउँदा समेत राष्ट्रवादी भनिने केपी ओली नेतृत्वको सरकार किन मौन भन्ने कुरामा नेपाल तरुण दल अत्यन्तै दुःखी भएको कुरा अवगत गराउन चाहन्छु ।”