प्रधानमन्त्रीको आशा मार्दै प्रचण्डले भने– पार्टीले र संसदले जतिवेला जे निर्णय गर्छ, त्यसै हुन्छ


हरेकपल November 6, 2019

दाङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब प्रधानमन्त्रीको आशा मारेको छनक दिएका छन् ।

बुधबार प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीसँग गरेको भनिएको आधा–आधा सरकारको नेतृत्व गर्ने भन्ने विषय अब इतिहास भइसकेको बताए ।

सो विषयलाई थप प्रस्ट पार्दै दाहालले अब पाँच वर्षसम्म यही सरकार चल्छ भन्नेमा प्रस्ट हुन आग्रह गरे । अध्यक्ष प्रचण्डले भने, ‘हामीले राजनीतिक स्थायित्वको लागि भनेर गठबन्धन गरेर चुनाव पनि लड्यौँ, राजनीतिक स्थायित्वकै लागि भनेर पार्टी एकता गरेर यहाँसम्म आएका छौँ ।’

‘पाँच वर्ष यो सरकार चल्छ यत्ति बुझ्नुहोला, बाँकी कतिवेला के गर्ने पार्टीले र संसदले जतिवेला जे निर्णय गर्छ त्यसै हुन्छ,’ उनले थपे, ‘ढाई–ढाई वर्ष भन्ने कुरा अब इतिहास भइसक्यो ।’