कार्तिक २१, काठमाडौँ । भोलि अर्थात् कार्तिक २२ गते हरिबोधिनी एकादशीव्रत परेको छ । यस दिन तुलसीको विवाह हुने गर्दछ । यसैगरी देशका विभिन स्थानमा मेला पनि लाग्ने गर्दछ । एकादशी मध्ये उत्तम एकादशी भएकाले यस दिनलाई ठुली एकादशी पनि भनिन्छ ।
कार्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ । हरिबोधिनी एकादशीमा विधिवत् तुलसीको विवाह हुने गर्दछ । हरि भनेका साक्षत् विष्णु भगवान् हुनुहुन्छ । बोधिनीको अर्थ जागृत हुने वा उठ्ने भन्ने अर्थ हुन्छ । क्षीरसागरको शेषशैयामा आषाढ शुक्ल एकादशीका दिन शयन गर्नुभएका विष्णु भगवान् यही कार्तिक शुक्लपक्षको एकादशीका दिन चार महिनापछि उठ्ने भएकाले यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो ।
विष्णु भगवान् स्वप्न अवस्थाबाट जागृत हुने भएकाले यस तिथिलाई हरिबोधिनी एकादशी पनि भनिन्छ । एकादशीको व्रत सबै व्रतभन्दा उत्तम मानिएको छ ।