कालापानी र लिपुलेक सन्दर्भमा कांग्रेस सभापति देउवाको कूटनीतिक पहल


हरेकपल November 7, 2019

काठमाडौं, कात्तिक २१ । भारत सरकारले हालै सार्वजनिक गरेको नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश भएको सन्दर्भमा यसकाे समाधानका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक पहल सुरु गर्नुभएको छ ।

यसअघि सो सन्दर्भमा सरकारले बुधबार सार्वजनिक गरेको विज्ञप्ति अत्यन्त हल्का भएको भन्दै सर्वत्र आलोचना भइरहँदा कांग्रेस सभापति देउवाले भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग टेलिफोन संवाद गरी असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

नेपाली कांग्रेसले बिहीबार एक विज्ञप्ति जारी गरी सोबारे जानकारी गराएको छ । बिहीबार जारी विज्ञप्तिमा कांग्रेसले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ ।

यसअघि सो सम्बन्धमा कांग्रेस प्रवक्ताले ट्विटमार्फत तत्कालै आफ्नो औपचारिक धारणा सार्वजनिक गर्नुभएकाे थियो । कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्यमा नेपाली कांग्रेस प्रस्ट रहेको उल्लेख गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रा कुनै पनि भूमिमाथि हुने कुनै पनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ ।’

कांग्रेस सभापति देउवाले राजदूत पुरीसँगको संवादका क्रममा सो नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराउनुभएको थियो ।

नेपाली कांग्रेसले यस्तो महत्वपूर्ण सवालमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कूटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने धारणा व्यक्त गरेको छ ।