यसकारण फेर्दै छन् प्रधानमन्त्रीले सल्लाहकार र मन्त्रीहरू


हरेकपल November 9, 2019

काठमाडौ, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सल्लाहकार र मन्त्रीहरू फेर्न गृहकार्य थालेको बुझिएको छ । मन्त्रिमण्डल फेरबदलका क्रममा कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्री पर्ने नेकपानिकट उच्च स्रोतको दाबी छ ।

मन्त्री हेरफेरको गृहकार्यमा लागेका प्रधानमन्त्री ओलीले आफ्नै सचिवालय र सल्लाहकार समेत फेर्न लागेको बुझिएको छ । प्रधानमन्त्री ओलीले सल्लाहकार र सचिवालयका अधिकांश सदस्यलाई बोलाएर राजीनामा दिन निर्देशन दिएको स्रोतको दाबी छ ।

‘एकाएक प्रधानमन्त्रीले प्रमुख सल्लाहकार समेत सबैलाई बोलाएर राजीनामा दिन निर्देशन दिएको सचिवालय एक सदस्यले गुनासो गरेका छन् । प्रधानमन्त्रीले सबैलाई कात्तिक महिनाभरको तलब खान र त्यसपछि मंसिर १ गतेदेखि लागू हुनेगरी तुरुन्त राजीनामा दिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओली प्रमुख सल्लाहकार रिमालसँग असन्तुष्ट रहेको समाचार यसअघि नै प्रकाशित भएका थिए । उनले सरकारको पक्षमा पनि सकारात्मक माहोल हुने गरी काम गर्न नसकेको र सरुवा–बढुवामा अनावश्यक हस्तक्षेप गर्ने गर्दा आफू अफ्ठ्यारोमा परेको ओलीको बुझाइ छ ।

प्रधानमन्त्री ओलीले केही समयअघि देखि नै रिमालको बहिर्गमन चाहे पनि उनले राजीनामा पनि नदिएको र अहिले मन्त्रिमण्डलको पनि हेरफेर गर्ने गृहकार्य हुँदै गर्दा सबैभन्दा पहिला सचिवालय हेरफेर गर्ने निचोडमा प्रधानमन्त्री ओली पुगेको बताइएको छ ।

सल्लाहकारदेखि सचिवालयका सदस्यहरुले केही दिनमै राजीनामा दिनेछन् र त्यसपछि ओलीको नयाँ टिम बनाउनेछन् । हाल सचिवालय र सल्लाहकारको भूमिकामा रहेका केही भने दोहोरिन सक्ने स्रोतको दाबी छ ।