आचार्य निवासमा लोकतान्त्रिक समाजवाद विषयमा बहस


हरेकपल November 10, 2019

नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा लोकतान्त्रिक समाजवाद विषयमा बहस भएको छ । नरहरि आचार्यले उक्त कार्यक्रममा लोकतान्त्रिक समाजवाद भनेको के हो भने एकठाउँमा वीपी कोइरालाले भन्नु भएको छ समाजवादबाट लोकतन्त्र झिके साम्यवाद हुन्छ र साम्यवादमा लोकतन्त्र थप्यो भने समाजवाद हुन्छ । उहाँले यो कुरा सैद्धान्तिक भन्दा पनि सामान्य मान्छेलाई बुझाउन यस्तो शब्दावलीमा भन्नु भएको होला । साम्यवाद र लोकतन्त्रमा आधारभूत अन्र्तर भएको कुरा सिद्धान्ततः सबैले बुझेका छन् । बुझ्दा बुझ्दै पनि साम्यवाद भन्दा हामी कति भिन्न छौं, हामी भन्दा उनीहरु कसरी भिन्न छन् भन्ने कुरा बुझाउनु भएको होला भन्ने मलाई लाग्छ ।

नेपालको संविधानसभाले बनाएको संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहने भन्ने प्रस्तावनामा लेखिएको छ । त्यसरी लेखिदा संविधानको भाग ४मा नेपाल राज्यको परिचयमा समाजवाद उन्मुख राज्य हुनेछ भनेर समाजवाद त्यसरी लेखिएको छ । समाजवाद र साम्यवादको अन्तर नीजि सम्पत्ति र स्वामित्वको अन्तरले नै गरेको छ । संविधानको धारा २५मा सम्पत्तिको हकमा भन्छ प्रत्येक नागरिकलाई कानुनको अधिनमा रहि सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचविखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने, सम्पत्तिको अन्य कारोवार गर्ने हक हुनेछ । निजि सम्पत्तिको स्वतन्त्रता, स्वामित्वको अधिकार सबै व्यक्तिलाई दिएको छ । यसैले गर्दा नेपालको संविधानमा रहेको समाजवाद केही कम्युनिष्ट विचारकहरुले अनुमान गरेजस्तो माक्र्सवादी समाजवाद होइन । लोकतान्त्रिक समाजवाद नै हो ।

संविधानसभामा हाम्रो संविधानको प्रस्तावनामा व्यापक छलफल भएको हो । त्यसमा जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन पद्धति, नागरिक स्वतन्त्रता, मौलिकअधिकार, मानवअधिकार, वालिक मताधिकार, आवधिक निर्वाचन, पूर्णप्रेस स्वतन्त्रता र स्वतन्त्र, निस्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध छौ भनिएको छ । कम्युनिष्टका ४ प्रधानमन्त्री हुँदा बन्न नसकेको संविधान हाम्रो सभापति प्रधानमन्त्री हुँदा बनायौं । सबैलाई मिलाउन सक्ने क्षमता कांग्रेससँग देखियो ।

प्रजातान्त्रिक समाजवादलाई नेपालका सन्दर्भमा प्रवेश गराउने र लोकप्रिय बनाउने काम पनि वीपी कोइरालालेनै गराउनु भएको हो । वीपी कोइराला निर्वाचित प्रधानमन्त्री भएको त्यो बेलामा भएको तरुण दलको सम्मेलनमा उहाँले बोलेको भाषणको अन्त्यमा उहाँले जय नेपाल भन्नु भएको छैन, जय समाजवाद भनेर आफ्नो भाषण टुङ्ग्याउनु भएको छ । त्यसबेला २०१३, ०१४, ०१५ सालतिरको अन्तराष्ट्रिय परिस्थितिले पनि समाजवादलाई अत्यन्त आकर्षित गरेको थियो । समाजवादी कार्यक्रम भनेर उहाँले ल्याएका सबै कार्यक्रम बनको राष्ट्रिय करण, जमिनमा विर्ता प्रथाको उन्मुलन, मोहियानी हकको स्थापना इत्यादी कुरा हेर्दा जमिनमा आधारित समाजवाद उन्मुख परिपाटीलाई एकदमै महत्व दिएको देखिन्छ ।

एकपटक वीपी कोइरालाले म पनि माक्र्सवाद सँग नजिक छु भन्नु भएको छ । तर माक्र्सवादी समाजवादले निजत्व र निजि स्वामित्वको निषेध गर्छ । लोकतान्त्रिक समाजवादले गर्दैन यो आधारभूत कुरा हो । विचारका रुपमा जोसँग पनि जो नजिक हुन सक्छ । तर राजनीतिक दर्शन र सिद्धान्तका आधारमा माक्र्सवादी समाजवाद अहिलेको हाम्रो समाजवादको कुनै लक्षण देखिदैन । कस्तो समाजवाद भन्ने संविधान लागु भएपछि अझ कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकार बनेपछि यसको चर्चा धेरै भएको छ । यस चर्चालाई हामीले राम्रोसँग विश्लेषण गर्न जरुरी छ ।
नेपाली कांग्रेसको २०१२ सालको छैटौं महाधिवेशनले राष्ट्रियतालाई आदर्श भनेको छ । लोकतन्त्रलाई सिद्धान्त भनेको छ । समाजवादलाई नीति र कार्यक्रम भनेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सचेतक पुष्पा भुसालले नरहरि दाइको अगाडि हामीले लोकतान्त्रिक समाजवादको व्याख्या कसरी गर्ने ! नेपाली कांग्रेस, वीपी कोइरालाले लोकतान्त्रिक समाजवादको जसरी व्याख्या गर्नुभयो एउटा कम्युनिष्ट विचारधारा भएको व्यक्ति भएको भए उसले कसरी व्याख्या गथ्र्यो होला ! उसले हामीले सोचेको जस्तै लोकतान्त्रिक समाजवादको व्याख्या गथ्र्यो की फरक ढंगले व्याख्या गथ्र्यो होला ! एकपटक हामीले यो सोच्न जरुरी छ । किनभने यो विचारधाराको कुरा हो । कम्युनिष्ट आखाले गर्ने व्याख्या र कांग्रेस लोकतान्त्रिक मान्यताहरुलाई विश्वास गर्ने पार्टी वा नेताले गर्ने व्याख्या फरक हुन्थ्यो की एउटै ? हामीले कम्युनिष्टको पनि समाजवाद भनेर भन्न मिल्छर ? नरहरि दाइलाई मेरो जिज्ञासा मात्र हो ।

हामीले कम्युनिष्टको पनि समाजवाद भनेर कम्युनिष्टहरुले समाजवाद भन्ने शब्दलाई स्वीकार गर्छन्र ? स्वीकार गर्ने भए संविधानमा किन समाजवाद उन्मुख भनेर शब्द थप्नु प¥यो कम्युनिष्टहरुले ? संविधान बनाउदा कांग्रेसले उन्मुख किन चाहियो भनेको थियो, मानेको थिएन । संख्यात्मक रुपमा कम्युनिष्टहरु बढी भएको हुनाले हामीले लोकतान्त्रिक संविधान बनाउनु प¥यो भन्ने आधार स्तम्भ मात्रै थियो । त्यो लोकतान्त्रिक संविधान बनाउनकालागि संझौता गर्दा कति शब्दसम्म तन्काउन सकिन्छ त्यो शब्द लोकतान्त्रिक मूल्य, मान्यतामा रहनु पर्छ भनेर संझौता गरेको हो कांग्रेसले ।
कम्युनिष्टले समाजवाद भन्ने शब्दनै स्वीकार गर्दैनन् । त्यसैले समाजवादलाई समाजवाद उन्मुख भनेर संविधानमा लेखे । वीपी कोइरालादेखि लिएर नरहरि आचार्यसम्मले भन्नु प¥यो लोकतान्त्रिक समाजवाद भनेको कसको सिद्धान्त हो । कम्युनिष्टको सिद्धान्त यो हुँदै होइन । कम्युनिष्ट शासन भएको कुनै पनि देशले लोकतान्त्रिक समाजवाद स्वीकार गर्दैनन् । कम्युनिष्टहरुको साम्यवाद हो ।

आज देश संचालन गरिरहेका कम्युनिष्टहरुले देशको व्यवस्थालाई साम्यवाद तर्फ लग्ने हो नै आफ्नो सिद्धान्त । अहिलेको कम्युनिष्टको २ तिहाइको सरकारले साम्यवादको संविधानमा लोकतान्त्रिक मूल्य, मान्यता लेखिएको भएपनि उनीहरु यसलाई स्वीकार नै गर्दैनन् । वीपी वा कांग्रेसको सिद्धान्त भनेको जीवन शैलीले पनि प्रमाणित गर्ने कुरा हो । अहिलेका कम्युनिष्टहरुको जीवनशैली हेर्ने हो भने त्यो देख्न पाइन्छर ?
नेपालका प्रधानमन्त्रीलाई नेदरल्याण्डका प्रधानमन्त्री साइकल चढेर हिडेकोसँग तुलना गर्ने हो भने कांग्रेसका वीपी कम जननेता हुनुहुन्थ्योर ? किसुनजी प्रधानमन्त्री भएपछि निस्कदा एउटा सुराई, छाता र बाक्सा लिएर निस्केको होइनर नेपालको प्रधानमन्त्री । सुशील कोइराला प्रधानमन्त्री भएर निस्कदा कुन आलिशान लिएर निस्कुन भएको थियो त्यसलाई हेरौं । कांग्रेसका नेताहरु प्रधानमन्त्री भएपनि नभएपनि प्रधानमन्त्रीको स्टाटस पाएका नेताहरु हुनुहुन्थ्यो । उहाँहरुको जीवनशैलीले त्यो प्राप्त गराएको थियो । हामीले हाम्रो नजिकको कुरालाई पहिचान नगरेको हो ।

लोकतान्त्रिक समाजवादको बहस हुन जरुरी छ । वैचारिक ढंगलेनै बहस हुन जरुरी छ । के कम्युनिष्टले आज पनि लोकतान्त्रिक समाजवाद स्वीकार गर्छन् । कम्युनिष्टले संघीयता स्वीकार गर्छन् ? कम्युनिष्टको सिद्धान्तले संघीयता स्वीकार गर्न मिल्दैन । कम्युनिष्टको सिद्धान्तले लोकतान्त्रिक संविधान, सिद्धान्त, पद्धति, जनतालाई स्वीकार नै गर्दैन । तर पनि उनीहरु लोकतन्त्र मान्न बाध्य छन् । किनभने, उनीहरुले त्यो मानेनन् भने मुलुकमा चल्नै सक्दैनन् । त्यसैगरी गणतन्त्र उनीहरुले स्वीकार गर्न नसक्ने सिद्धान्त हो । उनीहरुले स्वीकारर्ने गणतन्त्र निरंकुशता हो । हामी अधिनायकवादलाई स्वीकार गर्दैनौं । हाम्रो गणतन्त्रको र उनीहरुको गणतन्त्रको सिद्धान्तनै फरक छ । अब हामीले समाजवादलाई हेर्ने हो भने उनीहरुले समाजवादलाई स्वीकार गरेका होइनन् । समाजवादलाई स्वीकार गरे जस्तो भ्रम फैलाएका छन् ।


नरहरि दाइले भन्नु भएको जस्तै समाजवादलाई अब हामीले आर्थिक मापदण्ड भित्र बसेर यसको व्याख्या गर्न जरुरी छ । आर्थिक मापदण्ड भित्र कृषि क्रान्ति आउछ । असमानतालाई तोड्न त्यसबेलाका कांग्रेसका ब्राह्मण नेताहरुले हलो जोतेर क्रान्ति गरे । त्यसबेलाको समाजले बाहुनले हलो जोत्न हुदैन भन्थे । कांग्रेस नेताहरु विक्रितिको अन्त्य, विर्ता उन्मुलन गरेका हुन् । २०१२ सालमा सुरुभएको समाजवादलाई बैधानिक ढंगबाट पारित गराउनु भन्दा अगाडिबाटै लोकतान्त्रिक नेताहरुले समाजमा भएका विविधताहरुलाई तोड्ने काम गरेका थिए ।

२१औं शताब्दीको समाजवाद युवाहरुको समृद्धिसँग जोडिएको छ । समाजवादमा आर्थिक दृष्टिले नै हामीले कम्युनिष्टबाट आफुलाई फरक देखाउनु पर्छ । हामीले आर्थिक दृष्टिबाट यसको फरक देखाउन नसके कांग्रेस र कम्युनिष्टको समाजवाद एउटै हो भन्ने भ्रम मुलुकमा रहिरहन्छ । नयाँ युवाहरुका लागि राम्रो अबसरका रुपमा समाजवादलाई हामीले अगाडि बढाउनु पर्छ । पूजीँलाई न्यायोचित वितरण गर्नु पर्दछ । पूजीँको उत्पादन भएन भने न्यायोचित वितरणको कुरा हामीले कहाँ गर्ने ! हामीले मुलुकमा भएका स्रोतहरुलाई परिचालन गरेर हाम्रो उत्पादन पहिला बढाउनु प¥यो ।
कांग्रेसलेले लिएको पूजीँवादलाई सामन्तिसँग लगेर जोडिदिन्छन् । यो हामी माथि आउने अप्ठेरो हो । तर पनि हामीले पूजीँलाई बढाउन सकेनौं भने समाजवाद र समृद्धि तर्फ अगाडि बढ्न सक्दैनौं । कम्युनिजम भनेको स्टेट कन्ट्रोल सिस्टम हो । हाम्रो लोकतान्त्रिक गणतन्त्रको सिस्टम भनेको जनता नियन्त्रित राज्य प्रणाली हो । त्यसैले हामीले पालिका सरकार बलियो हुनुपर्छ, संघीयता पालिकासम्म पुग्नु पर्छ भन्यौं । हामीले एकात्मक शासनलाई मान्दैनौं भनेर भनेका छौं ।

कांग्रेसकाले पार्टीको संगठन भित्र, जनताले खोजेको काम गरेनन् । लोकतान्त्रिक माध्यमबाट मुलुकको समृद्धि सम्भव छ भनेर अघि बढेको हो । समाजवादको लक्ष्य पुरा गर्न लोकतान्त्रिक सिद्धान्तले तोकेको बाटोबाट हामी अघि जानु पर्छ । कांग्रेससँग कमि कमजोरी होला तर लोकतन्त्रमा कमी कमजोरी छैन भन्ने हाम्रो निष्कर्ष हो । तर कम्युनिष्टले यो सिद्धान्तलाई नै स्वीकार गर्दैन ।

नेपाली कांग्रेस सोलुखुम्बुका नेता आङ्गेलु शेर्पाले हाम्रो छलफलको विषय सान्दर्भीक छ । नेपाली कांग्रेसमा लोकतान्त्रिक समाजवादको बहस वीपी कोइरालाले सुरु गर्नु भयो । पछिल्लो समयमा कांग्रेसले त्यसको सम्पूर्ण रुपले लिन सकेको छैन । कांग्रेस सामाजिक, आर्थिक, राजनीतिक मुद्दाहरुलाई समानुपातिक ढंगले बहसमा लैजान सक्नु पथ्र्यो । पछिल्लो समय लोकतन्त्रलाई बलियो रुपमा उठायो । सास्कृतिक, सामाजिक र आर्थिक मुद्दालाई लान सकेको छैन ।

नेपाली कांग्रेसले वीरगंज महाधिवेशन २०१२ सालमा जहाँ सुवर्णशंशेर राणा पार्टी सभापति हुनुभएको थियो । यो अधिवेशनबाट नेपाली कांग्रेसले आफुलाई समाजवादी पार्टीका रुपमा रुपान्तरण गरेको हो । त्यस समयमा अमेरिका र रस्साको ध्रुव्रिकरणमा युरोपमा तिब्र ध्रुविकरण भइराखेको थियो । रस्साले कम्युनिष्टहरुको नेतृत्व गरेर पूर्वतिरका युरोपियन देशहरुलाई कम्युनिष्ट बनाइरहेको थियो । अमेरिकाले पश्चिमतिरका युरोपियन देशहरुलाई पूजीँवादी राष्ट्रका रुपमा रुपान्तरण गरिरहेको थियो । यसको प्रभाव एशीयाली मुलुकहरुमा पनि परिराखेको थियो । १९४९मा चीनमा कम्युनिष्ट पर्टीले सत्ता लिएको थियो । यस्तो परिस्थितिमा वीपीले २०१२ सालमा नेपालमा बहुसख्यक गरिब मान्छे छन् यिनको नेतृत्व लिनुपर्छ अन्यथा हामी लोकतान्त्रिक चुनावमा अल्पमतमा पर्छौ भनेर समाजवादी नीति लिनु भयो होला । उहाँको यो दुरगामी रणनीति नै हो ।

वीपीको समयको ९७ प्रतिशतको अर्थतन्त्र कृषिमा आधारित थियो । हामीसँग उद्योगधन्दा, कलकारखाना थिएन । बाटोघाटो कुनै विकास भएको थिएन । अहिले हाम्रो अर्थतन्त्र कृषिमा ३२ प्रतिशत मात्र छ । वीपको समायमा कृषिका माध्यमले समतामुलक समाज निर्माणको प्रयास गर्नु भएको थियो ।
वीपीले आफुलाई माक्र्सवादी भन्नु भएको छ । वीपीले राजनीतिक एजेण्डा माने पुष्पलालको आर्थिक एजेण्डा मान्छुसम्म भन्नु भएको छ । त्यसलाई सैद्धान्तिक रुपमा भन्दा पनि एउटा स्प्रिटको रुपमा लिनुपर्छ । वीपीले समाजवादको स्थापना भनेको समतामुलक समाजको स्थापना भन्नु भएको छ । वीपीले त्यतिखेरका समाजवादी धारको प्रख्यात व्यक्तित्व रोजर लग्जेम्बरको धेरै ठाउँमा उदाहरण दिनु भएको छ । एडम स्मीथको पूजीँवादी धार भन्दा भिन्न किसिमको धार रोजर लग्जेम्बरले त्यस समयमा दिएका थिए ।

हामी कांग्रेसीहरु वीपीको दृष्टान्तलाई पनि सिद्धान्तका रुपमा बुझ्ने गर्छौं कतिपय सन्दर्भमा । वीपीले जनताले बुझ्ने भाषामा गोरु, गाई, हस्पीटल, स्कुल, जमिन भन्नु भयो । आज पनि हामी त्यही भनिराखेका छौं । वीपीले त्यतिखेरको समयको लागि समाजवाद भनेको यस्तो हो भनेर दिनु भएको दृष्टान्त हो यो । पछिल्लो जेनेरेसनले यसको थप व्याख्या गर्न नसक्नु हाम्रो कमजोरी हो । अहिले पनि समाजवादको सान्दर्भीकता छ । हामीले निजिकरण अन्धाधुन्ध जानु हुदैन । धनी र गरिवमा ठूलो खाडल भएको देश मध्ये नेपाल पनि एक हो । गरिव वर्गका लागि समाजवाद शिक्षा, स्वास्थ्य, खान, बस्न, लक्षीत गर्नुपर्दछ ।

नेपाली कांग्रेस महासमिति सदस्य दामोदर खड्काले नेपाली कांग्रेसको सिद्धान्त नीतिका कितावहरु पढ्दा लोकतान्त्रिक समाजवादले ठूलो आकर्षण ग¥यो । लोकतन्त्रलाई सँगै लिएर जाने र समाजमा तलपरेको वर्ग, समुदाय, क्षेत्र, लिङ्गलाई पनि माथि ल्याउने आधार लोकतान्त्रिक समाजवाद हो । कांग्रेस पर्टीको गतिलो पूजीँ लोकतान्त्रिक समाजवाद हो । संविधानसभामा संविधान बनाउदा हाम्रो बहुमत थिएन । सबैको साझा रुपमा संविधान बनाइयो । अहिले संविधानमा रहेको समाजवादलाई हेर्दा हामीले लोकतान्त्रिक संविधानका रुपमा व्याख्या गर्छौ भने कम्युनिष्टहरु आफ्नो किसिमको व्याख्या गर्छन । अन्धोले हात्तिलाई छामेको जस्तो पनि भएको होला । संविधानमा धेरै कुरा मौलिक हकमा राखियो । शिक्षा, स्वास्थ्य, आवास लगायतका महत्वपूर्ण विषयहरु परेका छन् । यसको दायित्व राज्यले लिन सक्नु पर्छ । संविधानमा लेखेर हुँदैन लागु गर्नु पर्दछ ।नेपाली कांग्रेसमा भूमी सम्बन्धी नीति वीपी कोइरालाले लिनु भयो । पछि शेरबहादुर देउवाले लिनुभयो । जग्गाको हदबन्दीले उत्पादन बढाउन सके मूल्य कम हुने भयो । उत्पादन बढाउन नसक्दा झन मूल्य बढ्ने भयो । समाजलाई समान बनाउने उद्देश्यले हामीले गरेको यो कामले के भइरहेको छ यसलाई हेर्न जरुरी छ । हाम्रो समाजवादले काम गरेको छ छैन परिक्षण पनि यसबाट हुन्छ ।

काठमाडौं कांग्रेसका सदस्य रामचन्द्र घिमिरेले लोकतान्त्रिक समाजवाद के हो ? नेपालका सन्दर्भमा हामीले अभ्यास गर्न नपरेको साम्यवादी विचारधार पढीएको विषय मात्र हो । साम्यवादी दर्शनको आकर्षण नेपालका कम्युनिष्टहरुले राजनीति गर्ने र भोट लिने आधार बनेको छ । संविधानसभामा पहिलो पटक पनि र दोस्रो पटक पनि कम्युनिष्टहरु बलियो रुपमा नै उपस्थित रहे । वीपीको समयको विश्वराजनीतिको परिस्थितिले समाजवाद अत्यन्तै उपयोगी विषय थियो होला । समाजवाद सैद्धान्तिक, बैचारिक रुपले प्रष्ट हुने विषय होइन । लोकतन्त्र छ, लोकतान्त्रिक शासन पद्धति हाम्रो हो । वीपी र नरहरि आचार्यले लोकतान्त्रिक समाजवाद भन्दै आउनु भएको छ । राजनीतिक रुपले कम्युनिष्टहरुको बर्चस्व अझै कायमै रहेको परिस्थितिमा यसको सान्दर्भीकता देखिएको होला ।
नेपाली कांग्रेसले यतिखेर गर्नुपर्ने काम शिक्षालाई निशुल्क गराउनु प¥यो, स्वास्थ्य निशुल्क गराउनु प¥यो, मौलिक अधिकार, मानव अधिकार दिनु प¥यो समाजवाद यही हो । विचारलाई अस्पष्ट बनाउने समाजवादको के अर्थ छ ?
२०४६ साल पछि नेपाली कांग्रेसको जिम्मामा मुलुक अघि बढी रहेको छ । आजको जतिपनि विकास र परिवर्तन भएका छन् त्यो नेपाली कांग्र्रेसकै सिद्धान्त, कार्यक्रम अनुसार भएको छ । विकास पूर्ण भएन भनेर आलोचना हामी गर्न सक्छौं । तर जे भएको छ त्यो कांग्रेसको लोकतान्त्रिक पूजीँवादी व्यवस्थाबाट नै भएको हो । आज व्यक्तिका हातहातमा मोवाइल र सूचना पुग्ने परिस्थिति नेपलाी कांग्रेसकै नीतिका कारण बनेको हो । नेपाल सूचनामा कायापलट भएको छ । यसरी नै अन्यमा पनि हुनुप¥यो भन्ने नेपाली जनताको आक्रोश, विरोध हुन सक्छ ।
नेपालमा खासैधेरै धनी मानीस छैनन् । नेपाली जनता बहुसंख्यक मध्यम वर्गिय छन् । मध्यम वर्गियलाई माथि उठाउने साना–साना पुजीँको परिचालन, घरघरमा उद्योगले नै हो । उद्योगधन्दा व्यकितको आर्थिक लगानी निजीकरण नै हो । हाम्रो सम्बन्धमा समाजवाद वितरणको लागि पनि कति सम्भव छ ? हाम्रो उत्पादन खासै छैन । वितरण के गर्छौं ? हाम्रालागि समाजवाद पेचिलो रुपमा छ । लोकतान्त्रिक समाजवादले दिने कुरा संविधान भित्र भएका पूजीँगत स्वतन्त्रता, मौलिकहक, मानवअधिकारका कुराहरु हुन् भनेर नेपाली कांग्रेसले स्पष्ट रुपमा आउन जरुरी छ ।

पूर्वप्रधानाध्यापक विनोद शिलवालले राष्ट्र, समाज चलाउन पद्धति चाहिन्छ । संसारमा धेरै वाद र दर्शनहरु छन् । पूजीँवाद, साम्यवाद, समाजवादमा हामी विभिन्न समयमा चर्चामा छौं । समाजवादलाई पनि प्रत्येक व्यक्तिले, प्रत्येक पार्टीले आफ्नो अनुरुप व्याख्या गर्ने गरिन्छ । नेपाली कांग्रेसले पनि आफ्नै किसिमबाट व्याख्या, विश्लेषण गरेकै छ । प्रजातन्त्र, लोकतन्त्र जनताका प्रतिनिधिले शासन गर्ने पद्धतिनै हुन् । कांग्रेसको समाजवाद निजिसम्पत्ति माथिको आफ्नो हक सुरक्षितलाई मान्छौं । कम्युनिष्टहरु निजीसम्पत्ति भन्दा आफुलाई बाहिर राखेर समाजवादी हुन चाहन्छन् । यो के हो ? यसले समाजवाद भनेको नै के हो ? भन्ने प्रश्न पनि छ ।
हामी लोकतन्त्रवादी सबैलाई समान भन्छौं । आर्थिक रुपमा तल माथि हुन्छन् यो पनि स्वभाविक हो भन्छौं । कम्युनिष्ट सबैलाई समानता भन्छन् अभ्यासमा त्यस्तो देखिदैन । कांग्रेसको समाजवादी अभ्यास कतै भेटिदैन । यसको थप व्याख्या आवश्यक छ । समाजवादलाई हामीले मानवअधिकारसँग जोडेर हेर्नुपर्छ । मानवअधिकारको पूर्णता प्राप्त गरेको छ भने त्यो समाजवाद हो ।

गणेश बहुमुखी क्याम्पस नेविसंघका कोषाध्यक्ष भीमराज उपाध्यायले नयाँ पुस्ता राजनीति त्यति मन पराउदैनन । तर देश चलाउने राजनीति आवश्यक विषय हो । म सोसोलोजीको विद्यार्थी हुँ, हामी समाज अध्ययनको विषय पढ्छौं । समाजवाद र विभिन्न राजनीतिका विषयमा पढाई हुन्छन् । हाम्रा अग्रजले त्यो समय अनुसार समाजको आवश्यकतालाई ध्यानमा राखेर समाजवादी नीति अबलम्बन गर्नु भयो । अहिलेको सन्दर्भमा नयाँ समाजवादको बहस, चर्चा र लागू हुन आवश्यक छ । समाजमा विविधता छ, समाजमा उचनीच छ, त्यसलाई समानता दिने राजनीतिले हो । समानताको अर्को अर्थ समाजवाद नै हो । कांग्रेसलाई पूजीँवादी भनिन्छ, कांग्रेसमा गरिव मानिसहरु धेरै हुनुहुन्छ । सबैलाई समान अवसर दिने समाजवादी कार्यक्रम सहित कांग्रेस अघि आउन जरुरी छ ।

कार्यक्रममा सन्दीप थापा, प्रदिप कुवर, अनिष श्रेष्ठ, माइला डंगोल, भरत दंगाल, कृष्णकुमार चौलागाई, श्याममणी आचार्य, दामोदर गौतम, नवराज श्रेष्ठ, टोपेन्द्र रानामगर लगायतले आफ्नो विचार राख्नु भएको थियो ।