नेकपा सचिवालय बैठक शुरु, मन्त्रिपरिषद् पुनर्गठनको तयारी


हरेकपल November 11, 2019

काठमाडौँ, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको बालुवाटार स्रोतले बताएको छ । मन्त्रिपरिषद् पुनर्गठनको तयारीका लागि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहलबीच एक चरणको सहमति भइसके पनि अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग भने कुनै छलफल नभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार मन्त्रिपरिषद् हेरफेरमै आजको सचिवालय बैठक केन्द्रित हुने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णुप्रसाद पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ ।