सीमा विवादबारे उत्तेजना फैलाएर समस्या समाधान हुँदैन : प्रचण्ड


हरेकपल November 11, 2019

काठमाडौं, २५ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादबारे उत्तेजना फैलाएर समस्या समाधान नहुने बताउनुभएकाे छ । संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको समाधान गर्नुपर्नेमा जोड दिनुभयाे ।

महाकाली नदी नेपाल र भारतको सीमा नदी भएको र लिम्पियाधुरा महाकालीको मुहान भएकोमा कुनै कन्फ्युजन नरहेको भन्दै उहाँले प्राप्त प्रमाण संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभयाे ।

यस विषयमा उत्तेजना वा भ्रम फैलाएर समस्या समाधान नहुने उल्लेख गर्दै प्रचण्डले कालापानी र सुस्तामा सीमा समस्या छ भनेर दुवै देशले स्वीकार गरेका कारण कूटनीतिक पहलमार्फत समस्या समाधान गर्नुपर्ने बताउनुभयाे । ‘हामी एक इन्च जमिन छोड्न पनि सक्दैनौं, अरुको एक इन्च जमिन पनि चाहिएन,’ उहाँले भन्नुभयाे, ‘यही मान्यतामा उभिने हो ।’