माग्ने बानी किन उचित होइन ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल November 12, 2019

तृणं लघु तृणात् तूलं तूलादपि च याचकः ।
वायुना किं न नीतोऽसौ मामयं याचयिष्यति ।।
–चाणक्य


तृण (घाँसको त्यान्द्रो) सबैभन्दा हलुका हुन्छ । तृण भन्दा पनि कपास झनै हलुका हुन्छ र कपास भन्दा पनि हलुका माग्ने मान्छे अर्थात् याचक हुन्छ । यस्तालाई वायुले पनि उडाउन सक्दैन किनकि वायुलाई पनि उससँग माग्छ भन्ने डर हुन्छ ।


संसारमा तृण अर्थात् त्यान्द्रोलाई हलुका मानिन्छ । सो भन्दा पनि हलुका कपास हुन्छ र कपास भन्दा पनि हलुका माग्ने मान्छे हुन्छ । अर्थात् याचक बन्नु भनेको सबैभन्दा हलुका बन्नु हो । याचकी प्रवृत्तिले मान्छेलाई ओजहीन लुल्याउँछ । यस्ता हलुका व्यक्तिलाई हावाल किन नउडाएको भन्ने प्रश्न उठ्न सक्छ । किनकि हावा पनि याचकसँग डराउने गर्दछ । वायुले पनि आफूसँग माग्छ कि भनेर याचकलाई उडाउदैन । त्यसैले हावाले उडाउन नसक्ने तर नितान्त हलुका बन्ने कार्य माग्ने भएकाले याचक बन्नु सर्वथा अनुचित हो भन्ने नीति वचन मननीय छ ।
–नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–