बंगलादेशका राष्ट्रपति हमिद आज नेपाल भ्रमणमा आउँदै


हरेकपल November 12, 2019

काठमाडौं, २६ कार्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपालको ४ दिने औपचारिक राजकीय भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएको हो। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद आजदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनुहुनेछ ।

बङ्गलादेशका राष्ट्रपतिको औपचारिक भ्रमणको सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । उहाँको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई सजाइएको छ ।
राजकीय सम्मान दिने गरी भ्रमणको विशेष तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको राजकीय सम्मानका साथ स्वागत गरिनेछ । विशिष्ट भेटवार्ता, स्वागत समारोह, रात्रिभोज लगायतलाई सम्मानित ढङ्गबाट अघि बढाउने गरी शिष्टाचार महाशाखाले तयारी गरिरहेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ । सो क्रममा राष्ट्रपति भण्डारीले समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुने कार्यक्रम छ । राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकाे छ ।

मन्त्रालयका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।

त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उहाँसँग भेटवार्ता गर्नुहुनेछ । भ्रमणमा रहँदा उहाँले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्नुहुनेछ नेपाल बसाइका बेला उहाँले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ ।