पूर्वअर्थराज्यमन्त्री ज्योतिको पक्राउप्रति निर्माण व्यवसायी महासंघको आपत्ति


हरेकपल November 13, 2019

काठमाडौं, २७ कात्तिक । उद्योगपति तथा पूर्वअर्थराज्यमन्त्री डा. रुप ज्योतिसहित उनकी छोरीलाई ठगी मुद्दामा अपमानजनक ढंगले पक्राउ गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

मुलुककै स्थापित उद्योगपतिलाई लेनदेनसम्बन्धी मुद्दा भए पनि ठगी मुद्दामा पक्राउ गरेको घटनाप्रति महासंघले आपत्ति जनाएको हो ।

महासंघद्वारा मंगलबार जारी विज्ञप्तिमा उनीहरुलाई थुनछेकको म्याद थप गरिएबाट मुलुकको सिंगो निजी क्षेत्र मर्माहत बन्न पुगेकाले तत्काल अदालतमा लगेर न्यायका लागि मार्गप्रशस्त गर्न माग गरिएको छ ।

प्रत्येक वर्ष ठूलो मात्रामा राजस्व बुझाउँदै आएका प्रतिष्ठित उद्योगपति र उनकी छोरीको पक्राउ प्रकरणले निजी क्षेत्रप्रति राज्यले गर्ने व्यवहार उदाङगो भएको विज्ञप्तिमा उल्लेख छ ।

निजी क्षेत्रका उद्यमी व्यवसायीलाई कानुन परिपालनका क्रममा सम्मानजनक व्यवहार गर्नसमेत महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा माग गरिएको छ ।