आज भद्रा रहने, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ कार्तिक २९ गते


हरेकपल November 15, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको २९ गते शुक्रवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरदऋतुअन्तर्गत मार्गशीर्ष कृष्णपक्षको तृतीया तिथि बेलुका ७।३१ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । मृगशिरा नक्षत्र राति ११।५० बजेसम्म रहनेछन् । यसैगरी आज शिव योग र वणिज करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।२५ मा छ भने सूर्यास्त बेलुका ५।१० बजे हुनेछ ।

चन्द्रमा आज वृष राशिमा छन् । आज बिहान ७।४६ देखि बेलुका ७।३१ बजेसम्म भद्रा रहनेछ । भद्रामा घर छाउने, मह काड्ने जस्ता कार्य गरिँदैनन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्