साहित्यिक पत्रकार शर्माको अभिनन्दन चैत २२ मा गरिने


हरेकपल November 15, 2019

काठमाडौँ । वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको चैत २२ गते अभिनन्दन गरिने भएको छ । शर्मा ८२ वर्षको उमेरमा पनि लेखन, सम्पादन तथा द्वैमासिक साहित्यिक पत्रिका अभिव्यक्तिको सम्पूृर्ण व्यवस्थापनमा सक्रिय रहेका छन् । अभिनन्दन कार्यक्रममा शर्माको जीवनी, अभिनन्दन ग्रन्थ, हालसम्म प्रकाशित उहाँका कृतिको छुट्टाछुट्टै सङ्ग्रह प्रकाशन गरिने पनि अभिनन्दन मूल आयोजक समितिका अध्यक्ष पवन आलोक जानकारी दिएका छन् ।

आलोकका अनुसार आगामी चैत २२ गते शर्माको जन्मदिनका अवसरमा काठमाडौँमा विशेष कार्यक्रमका साथ उनको अभिनन्दन गरिने बताएका छन् । शर्माले नेपाली साहित्यको उत्थानमा पु¥याउनु भएको विशिष्ट योगदानको कदर गर्दै नयाँ पुस्तालाई साहित्य साधनामा प्रेरितगर्नको लागि यस्तो कार्यक्रम उपयोगी भएको मूल आयोजक समितिका सदस्य सचिव गोविन्द गिरी प्रेरणाले बताएका छन् । देशभरिका वरिष्ठ साहित्यकार, सर्जक तथा प्रतिष्ठित व्यक्ति सम्मिलित मूल आयोजक समिति गठन भइसकेको र शर्माका बारेमा जानकारी राख्ने व्यक्तिसँग सम्पर्कको काम भइरहेको पनि अध्यक्ष आलोकले जानकारी दिएका छन् ।