काठमाडौं, २९ कार्तिक । नेपाल सांस्कृतिक सङ्घ र नेपाल नेपाली लेखक सङ्घले संयुक्त रूपमा एक विज्ञप्ति प्रकाशित गरी हालै भारत सरकारले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूभाग समावेश गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भारतले नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई बलमिच्याइँ गरेर आफ्नो नक्सामा पारेकोमा घोर आपत्ति प्रकट गर्दै सार्वभौम राष्ट्रको सीमामाथि गरिएको अतिक्रमण कुनै पनि हालतमा सैह्य नहुने जनाइएको छ । दक्षिणी छिमेकीको यस्तो विस्तारवादी नीतिको विज्ञप्तिमा कडा शब्दमा विरोध गरिएको छ ।
सबै राजनीतिक शक्ति एक ठाउँमा हुँदा र सम्पूर्ण देशबासी साथमा रहँदा पनि यस विषयमा सरकारले उदासिनता देखाएकोमा आश्चर्य प्रकट गरिएको छ । सीमा विवादलाई सुल्झाई अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता गराउन र नेपाली भूमिबाट भारतीय सैनिक तत्काल हटाउन सरकारसँग जोडदार माग गरिएको छ । नेपाली लेखक सङ्घका अध्यक्ष श्रवण मुकारुङ र नेपाल सांस्कृतिक सङ्घका सभापति तीर्थ बहादुर थापाद्वारा जारी विज्ञप्तिमा द्विपक्षीय संवादबाट सीमा समस्याको समाधान ननिस्किए उक्त मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न पनि माग गरिएको छ ।