काठमाडौं २ मंसिर ।
नेपालकै प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरमा तामाको स्वागतद्धार (गेट) बनाइएको छ। भक्तजनले मन्दिरमा चढाएका तामा र पित्तल प्रयोग गरी पाथिभरा जाने मार्गको माथिल्लो फेदीमा स्वागतद्धार बनाइएको हो ।
भक्तजनले मन्दिरमा चढाएका त्रिशूल, माना, पाथी, दियो जस्ता सामग्रीलाई गालेर फुङलिङ नगरपालिका–१०स्थित ठूलोफेदीमा अवस्थित कान्छी पाथिभरासँगै गेट बनाइएको छ ।
कान्छी पाथिभरादेखि पाथिभराको प्रवेशद्धार शुरु भएको मानिन्छ। गेट निर्माणका लागि एक हजार ६ सय केजी तामा प्रयोग गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले जनाएको छ ।
मन्दिर उत्पत्तिको कथा झल्कने गरी द्वार निर्माण गरिएको र केही समयपछि द्धारको दायाँ–बायाँ तामाकै सिंहका मूर्ति समेत राख्ने तयारी गरिएको छ। चढाइएका सामग्री गेटका लागि प्रयोग गर्ने तयारी गरिएपछि पाथिभरा मन्दिरमा क्षमा पुजा समेत गरिएको थियो ।
तामा र पित्तलका सामग्री काठमाडौं ल्याएर गेट तयार गर्दा २६ लाख हाराहारीको रकम खर्च भएको पाथिभरा क्षेत्र विकास समितिका सदस्य इन्द्रनारायण भट्टराईले जानकारी दिनुभयो ।
गेट निर्माणको गृहकार्य तीन वर्ष अघिदेखि शुरु भएको बताउँदै उहाँले भन्नुभयो–‘फुललिङ नगरपालिकाका व्यवसायी सुरेश मादेन र दुवै समिति पदाधिकारीले यस्तो अवधारणा अघि बढाएको हो भक्तजनले चढाउनुभएको सामग्री उहाँहरूकै स्वागतमा प्रयोग भएको छ ।’
सोही जिल्लाका सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गत कार्तिक पहिलो साता गेटको उद्घाटन गर्नुभएको थियो ।
ताप्लेजुङको पाथिभरा मन्दिर समुद्र सतहबाट तीन हजार सात सय ९४ मिटर उचाई अवस्थित छ ।
अन्न भरेको पाथीझैं पहाडको टुप्पोमा देवीको उत्पतिस्थल रहेकोले भक्तजनले सो धार्मिकस्थल ‘पाथीभरा देवी’का रुपमा पुजा गर्ने प्रचलन छ । मनोकामना पुरा हुने विश्वासका साथ नेपालका अधिकांश भेग, भारत र विदेशमा रहेका हिन्दु, बौद्ध र किराँत धर्मावालम्बी पाथिभराको दर्शनका लागि पुग्ने गर्छन् ।
ठूलो फेदीका होटल व्यवसायीसमेत रहनुभएका भट्टराईका अनुसार बडादशैं र चैते दशैंको समयमा पाथिभरामा भक्तजनको चहलपहल निकै बढ्ने गर्छ। मौसम खुलेको समयमा मन्दिर परिसरबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमशृंखला प्रस्टै नियाल्न सकिन्छ ।
ठूलो फेदीस्थित अस्थायी प्रहरी चौकीका अनुसार गत दशैंको घटस्थापनादेखि आइतबारसम्म ३७ हजार सात सय ३५ दर्शनार्थी पाथिभरा दर्शनका लागि पुगेका छन् । वार्षिक डेढदेखि दुई लाख दर्शनार्थी पाथिभरा पुग्ने पाथिभरा क्षेत्र विकास समितिको ठहर छ ।