उत्तर कोरियाले जो बाइडेनलाई ‘पागल कुकुर’ किन भने ? ट्रम्पको यस्तो बचाउ


हरेकपल November 18, 2019

काठमाडौं २ मंसिर ।
अमेरिकी पूर्व राष्ट्रपति तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्या्टिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा अघि रहेका जो बाइडेनमाथि केही दिनअघि उत्तर कोरियाले आक्रमक टिप्पणी गर्‍यो ।

उत्तर कोरियाले सरकारी सञ्चारमाध्यम केसिएनए मार्फत वक्तव्य जारी गरेर जो बाइडेनलाई ‘पागल कुकुर’ को संज्ञा दिएको थियो ।

बाइडेन शक्ति प्राप्तिका लागि आशक्त रहेको र उनी जस्ताले धेरैलाई नोक्सान गर्न सक्ने भएकाले लौरीले हानेर हत्या गर्नु पर्ने उत्तर कोरियाले गएको बिहीबार बताएको थियो ।

दुई हप्ताअघि जो बाइडेनले राष्ट्रपति ट्रम्पको उत्तर कोरिया सम्बन्धी नीतिको आलोचना गर्दै वक्तव्य जारी गरेका थिए । बाइडेनले उत्तर कोरियाका नेता किम जोङ–उनलाई हत्यारा तानाशाह भनेका थिए । उत्तर कोरियाले त्यसको जवाफमा बाइडेनलाई ‘पागल कुकुर’ भनेको हो ।

उत्तर कोरियाले बाइडेनमाथि निच टिप्पणी गरेको चार दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्प अप्रत्यासित रुपमा बाइडेनको बचाउमा प्रस्तुत भएको देखिएको छ । तर त्यो व्यंग्यात्मक र उपहास पूर्ण देखिएको छ ।

ट्रम्पले आफ्ना सम्भावित प्रतिस्पर्धी बाइडेनमाथि लगातार आक्रमण गर्दै आएका छन् । ट्रम्पले बाइडेनलाई अधिकांश समय ‘सिल्पी बाइडेन’ भन्ने गरेका छन् ।

उनले युक्रेनका राष्ट्रपतिलाई बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएको आरोपमा हाल महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान भइरहेको छ ।

तर ट्रम्पले आइतबार ट्वीटमार्फत उपहास पूर्ण स्वरुपमा बाइडेनको बचाउ गरेका हुन् । ट्रम्पले बाइडेन ‘सिल्पी’ हुन सक्ने तर ‘पागल कुकुर’ भने नरहेको उल्लेख गरेका छन् ।

ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘मिस्टर चेयरम्यान (किम जोङ–उन), जो बाइडेन सिल्पी र अछि सुस्त हुन सक्छन्, तर उनी पागल कुकर भने होइनन् । वास्तवमा उनी त्यो भन्दा केही राम्रा छन्, तर म मात्रै हुँ तपाईँ जहाँ हुनु पर्छ त्यहाँ लैजाने । त्यसैले चाँडो गर्नु होस्, सम्झौता गरौँ । चाँडै भेटौँला ।’

ट्रम्पले आफ्नो ट्वीटमा सहमति गर्ने आफू मात्रै रहेको र त्यसका लागि चाँडो गर्न किमसँग आग्रह गरेका छन् । यसको अर्थ उनी आउँदो चुनावमा पराजित हुन्छु भन्ने मनसायमा रहेको पनि देखिएको छ ।