आइसिसी बरीयतामा पारस र सन्दीप खस्किए सोमपाल र करण उकासिए


हरेकपल November 18, 2019

काठमाडौं, २ मंसिर । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसीे)ले नयाँ टी–२० बरीयता क्रम सार्वजनिक गरेकाे छ । भर्खरै सार्वजनिक टी–२० बरीयतामा नेपालका सोमपाल कामी तथा करण केसीकोे बरीयता उकासिएकाे छ भने सन्दीप लामिछाने तथा पारस खड्काको बरीयता खस्किएकाे छ । 

अलराउन्डरतर्फ सोमपाल कामी सात स्थानमाथि उक्लिएर ६०औँ स्थानमा आइपुगेका छन् भने करण केसी ८४औँ स्थानमा उक्लिएका छन् । यस अघि कामी ६७औँ स्थानमा थिए भने केसी ८८औँ स्थानमा थिए । पूर्वकप्तान पारस खड्का यसअघि अलराउन्डरतर्फ ३२औँ स्थानमा थिए भने अहिले ३३औँ स्थानमा झरेका छन् । 

बलिङतर्फ भने सन्दीप ९ स्थान तल झर्दै ७८औँ स्थानमा पुगेका छन् । यसअघि उनी ६९औँ स्थानमा थिए । सोमपाल कामी पनि १० स्थान तल झर्दै ९५औँ स्थानमा पुगेका छन् । यसअघि उनी ८५औँ स्थानमा थिए । ब्याटिङतर्फ भने पारस खड्काले ५५औँ स्थान यथावत् कायम गरेका छन् । 

नयाँ टी–२० बरीयता क्रममा ब्याटिङतर्फ पाकिस्तानका बबर अजाम, बलिङतर्फ अफगानिस्तानका रासिद खान तथा अलराउन्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्वेल शीर्ष स्थानमा छन् ।