पूजा बोहोरा बलात्कार प्रकरण : भट्ट र अवस्थीलाई साढे ११ वर्ष जेल


हरेकपल November 19, 2019

काठमाडौं ३ मंसिर ।

सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणका अभियुक्तलाई जनही साढे ११ वर्ष जेल सजाय तोकेको छ। घटनाको ८ वर्षपछि सोमबार अभियुक्तद्वय सागर भट्ट र अम्मरराज अवस्थीलाई जेल सजाय तोकेको हो।

यसैगरी पीडितलाई राज्य र पीडकबाट दश लाख क्षतिपूर्ति भराउने आदेशसमेत भएको छ। बलात्कार प्रकरणमा दोषी ठहर गरिएका भट्ट र अवस्थीलाई जेल सजाय हुने गरी अन्तिम फैसला भएको छ। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र हरि फुँयालको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। उनीहरुलाई यसअघि सोही इजलासले बलात्कारी ठहर गरेको थियो। सर्वोच्चले दोषी ठहर गरे पनि सजाय तोक्न बाँकी थियो।

जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना एवं तथ्य प्रमाणको न्यायोचित विश्लेषण हुन नसकेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा ‘दाहो‍याई पाउँ’ निवेदन दर्ता गराएको थियो। २०७१ साल पुस २ गते पेश भएको उक्त निवेदनमा पाँच वर्षपछि अन्तिम फैसला आएको हो।

फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४) को नयाँ व्यवस्था अनुसार सजाय किटान र क्षतिपूर्ति निर्धारण भएको छ। जेल सजाय मुलुकी ऐन, जबर्जस्ती करणी महलको दफा १० अनुसार निर्धारण गरिएको छ। उक्त मुद्दा तीन वर्ष जिल्ला र उच्चमा मुद्दा अल्झिएको थियो।

जिल्ला अदालत बैतडीबाट जनही १३ वर्ष कैंद र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने गरी भएको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले अभियुक्तलाई सफाई दिएको थियो। जिल्ला अदालत बैतडीले भट्ट र अवस्थीलाई बलात्कारमा आठ वर्ष र सामूहिक बलात्कारमा पाँच वर्ष गरी १३ वर्ष जेल सजायसहित ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

२०६८ चैत ७ एसएलसी परीक्षा दिन बैतडीको कैलापालबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा बलात्कारको शिकार भएकी थिइन्। गेस पेपर किन्न स्टेशनरी पसलमा गएका बेला कोकाकोलामा लागूपदार्थ मिसावट गरी खुवाएर बेहोस बनाइएको अभियोग भट्ट र अवस्थीविरुद्ध थियो। शौचालयमा बलात्कृत भएकी बोहोरा पसल नजिकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन्।

पीडितको उपचार, मेडिकल रिपोर्ट र घटना प्रकृती मुचुल्का प्रतिवेदनबाट उनीमाथि बलात्कार भएको तथ्य खुलेको थियो। तर भट्ट र अवस्थी उक्त प्रकरणमा संलग्न भएको भन्ने शंकारहित प्रमाणको अभाव दर्शाउँदै उच्च अदालत महेन्द्रनगरका तत्कालीन न्यायाधीशद्वय रमेशप्रसाद भण्डारी र नरबहादुर शाहीको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाई पाउने निर्णय दिएको थियो।

उच्चको उक्त फैसलामा ‘वारदातस्थल’ स्पष्ट नभएको र ‘अभियुक्तले कसूरमा इन्कारी बयान दिएको’ तथा ‘पीडितको बकपत्रमा असंगति देखिएको’ भन्ने आधारसमेत लिइएको थियो। सर्वोच्चले यो प्रकरणमा घटना र स्वतन्त्र प्रमाणले बलात्कार नै पुष्टि भएको किटान गरेको छ। साथै पीडितको बकपत्र तलमाथि परेका आधारमा मात्र न्याय नमर्ने मानक फैसलासमेत भएको छ।

उच्च अदालतबाट अभियुक्तले सफाई पाएपछि पीडित बोहोराले त्यतिबेला भनेकी थिइन्, ‘उनीहरु निर्दोष ठहरिनु भनेको म दोषी ठहरिनु हो। जस्ले उनीहरुलाई निर्दोष सावित गर्‍यो, तिनले मलाई दोषी ठहर्‍याउनुपर्छ। मेरो जीवन निमोठ्नेहरु अदालतबाटै निर्दोष भएपछि सबभन्दा ठूलो अपराधी म हुन पुगेकी छु।’ बोहोराले ढिलै भए पनि न्याय पाएकी छन् ।
अन्नपूर्ण पोष्टबाट