विदेशमा हासिल विज्ञता स्वदेशमा उच्च आकर्षण


हरेकपल November 20, 2019

काठमाडौं ४ मंसिर ।
विदेशमा रहेका नेपाली विज्ञको सीप, ज्ञान र दक्षता स्वदेशको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले स्थापना गरेको ‘ब्रेन गेन’ सेन्टरमा त्यस्ता नेपाली जोडिने क्रम बढेको छ । गएको वैशाखमा औपचारिक रूपमा स्थापना भएको ब्रेन गेन सेन्टरमा विदेशमा अनुभव सँगालेका नेपालीलाई सूचीकृत हुन आह्वान गरिएको थियो ।
परराष्ट्र मन्त्रालयको आह्वानअनुसार विदेशमा अनुभव सँगालेका नेपाली सेन्टरमा उत्साहजनक रूपमा जोडिन आइपुगेका छन् । अझै आउने क्रम जारी छ तर दर्ता भएका विज्ञलाई राष्ट्रिय विकासको योजनासँगै जोडेर लैजान नसक्दा अन्योल बढेको छ । मन्त्रालयका अनुसार ठोस कार्य्विधिको अभावमा कुन निकायसँग कसरी समेटिएर जाने भन्ने अन्योल बढेको हो ।

“अलिकति प्रचारप्रसार र यसको प्रभावकारिताकै जानकारी नपुगेको हो कि भन्ने महसुस हामीलाई पनि भएको छ,” नीति, योजना, विकास, कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाका प्रमुख कुमारराज खरेलले भन्नुभयो, “दर्ता भएपछि विज्ञहरूले काम गर्न चाहिरहेका छन् तर मेसो मिलेको छैन ।”
उहाँका अनुसार दुईवटा परियोजनामा दूतावासमार्फत ब्रेन गेन सेन्टरमा जोडिएकाले काम थालिसकेका छन् तर सबैलाई दूतावासमार्फत योजनामा जोड्न सकिने अवस्था छैन । कसरी, कुन निकायमा विज्ञ पठाउने भन्ने योजना बन्न भने बाँकी रहेको उहाँले प्रस्ट्याउनुभयो ।
राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग जोडिएका विकासका योजनासँगै निजी क्षेत्रसँग सहकार्य गरेर सेन्टरमा आएका विज्ञको सीप र विवेक प्रयोग गर्ने विषयमा थप योजना बनाउन पहल भइरहेको उहाँले औँल्याउनुभयो तर त्यसैमा केन्द्रित भएर मन्त्रालयले काम गर्न भने सकिरहेको छैन ।

परराष्ट्र मन्त्रालयले अन्य मन्त्रालयसँगको संयोजन, परियोजनाको सूची सङ्कलन गर्ने, विज्ञ प्रयोग गर्न सम्बन्धित क्षेत्रलाई प्रोत्साहित गर्ने लगायतका विषयमा गृहकार्य गर्न बाँकी रहेको छ । सरकारले स्थापना गरेको ‘थिङ्क ट्याङ्क’सँग जोडेर अगाडि बढाउने भन्ने योजनाले पनि त्यो ‘थिङ्क ट्याङ्क’ नै अलपत्र परेपछि थप अन्योल बढेको मन्त्रालयका अन्य अधिकारीहरू सुनाउँछन् ।

विज्ञताको आयाम
विदेशी भूमिमा आर्जित सीप, ज्ञान, दक्षतासँगै नेपालमा काम गर्ने अमिट चाहना बोकेका नेपालीले ब्रेन गेन सेन्टरमा आफूलाई दर्ता गराएका छन् । हालसम्म ६४६ जनाले नेपालमा केही गर्न चाहेको अपेक्षासहित अनुभवको फेहरिस्त निवेदनमा प्रस्तुत गरेका छन् ।
नेपालको कृषि, विकासका योजना, स्वास्थ्य, सरसफाइ, अटोमोबाइल, शान्ति सुव्यवस्था, नीति निर्माण, हाइड्रोपावर, सूचना प्रविधिको विकास, अनुसन्धान र अन्वेषण गर्नसक्ने क्षमता दर्ता भएकाले प्रस्तुत गरेका छन् । पछिल्लो ५० जनाको सूची हेर्दा मात्र पनि आधुनिक नेपाललाई समृद्ध बनाउने गुणस्तरीय सीप र योग्यताको पूर्ति ब्रेन गेन सेन्टरबाट हुन सकिने देखिन्छ ।
जर्मनीमा पूर्वाधार र आर्किटेक्चरल इन्जिनियरिङमा विज्ञता हासिल गर्नुभएका मनोज पनेरू ऊर्जा, हाइड्रो, सोलार, बायो, हाइब्रिड इन्जिनियरिङका क्षेत्रमा नेपालमा सघाउन इच्छुक हुनुहुन्छ । भारतबाट सुशान्त श्रेष्ठले शासन व्यवस्थापन तथा व्यापार क्षेत्रमा र मनिष नेपालले व्यापार, उद्योग, टेलिकम्युनिकेसन तथा सूचना प्रविधिमा अनुभव आदानप्रदान गर्न खोज्नुभएको छ ।

महेन्द्र भुजेलले भारतको अटोमोबाइल उत्पादनको अनुभव नेपालमा प्रयोग गर्न सकिने सम्भावना व्यक्त गर्नुभएको छ । नेपालमा सवारी साधन उत्पादन नहुँदाको अवस्थामा भारतसँग निर्भर हुनुपरेको छ । अत्यधिक राजस्वको भार आमउपभोक्तामा छ । नेपालमै सवारी साधनका पार्टपूर्जा बनेमा सवारी यातायात सर्वसुलभ हुनसक्ने आशय उहाँको छ ।
कतारका अजित शिवाकोटी इन्जिनियरिङमार्फत आर्थिक विकास, सहरी विकास योजनामा र कतारमै रहनुभएका प्रदीपबहादुर खत्रीले हाइड्रोपावर, सोलार, नीति निर्माण तथा इन्जिनियरिङमा आफ्नो अनुभव रहेको उल्लेख गर्नुभएको छ । कतारबाटै श्रीधर आचार्यले स्वास्थ्य, औषधि र व्यापार क्षेत्रमा अनुभव बाँड्न खोज्नुभएको छ ।
दक्षिण कोरिया चोजवुक नेशनल युनिभर्सिटीका डा. काशीराज भट्टराईले स्वास्थ्य, औषधि, शिक्षा क्षेत्रमा योगदान गर्न खोज्नुभएको छ । दक्षिण कोरियामै लामो अनुभव सँगाल्नुभएका डा. विनायक भण्डारी विभिन्न परियोजनामा काम गरेको अनुभवलाई नेपालमा कार्यान्वयन गर्नसक्ने सम्भावना देख्नुहुन्छ । दक्षिण कोरियाकी प्रतिमा भण्डारीले भने नसर्ने रोगका सम्बन्धमा आफ्नो अनुभव नेपालमा प्रयोग गर्ने चाहना राख्नुभएको छ ।

अमेरिकाका थरिथरि विज्ञ
मेरिका अस्टिन कम्युनिटी कलेजबाट उच्च शिक्षा हासिल गर्नुभएका डा. तुलसीप्रसाद दाहालले उत्साहजनक निवेदन दिनुभएको छ । उहाँले इनर्जी, हाइड्रो, सोलार, हाइब्रिड, इन्जिनियरिङ, प्राकृतिक विज्ञानमा र अमेरिकामा कृषि क्षेत्रमा अनुभव हासिल गर्नुभएका डा. दिवाकर दाहालले नेपालको कृषि क्षेत्रमा आफूले सघाउन सक्ने निवेदनमा उल्लेख गर्नुभएको छ ।
अमेरिकी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएका तोेयनाथ भण्डारीले नेपालमा औषधि, स्वास्थ्य र सरसफाइ क्षेत्रमा काम गर्ने रुचि प्रस्तुत गर्नुभएको छ । त्यस्तै डा. विजय थापा अमेरिकामा बस्नुहुन्छ । नेपालमा रहँदा व्यवस्थापकीय क्षेत्रमा २६ वर्ष र १३ वर्ष संयुक्त राष्ट्रसङ्घको एसिया प्रशान्त क्षेत्रमा सुरक्षा सुपरभाइजरका रूपमा कार्यरत रहनुभयो । उहाँसँग अफगानिस्तान, भारत, नेपालसहित ४६ देशमा काम गरेको अनुभव छ । सुरक्षा क्षेत्रको सुधार, द्वन्द्व व्यवस्थापन, शिक्षा नीति निर्माण र उच्च व्यवस्थापकीय क्षेत्रमा काम गर्ने उहाँले चाहना अभिव्यक्त गर्नुभएको छ ।

अमेरिकाकी डा. शिक्षा सिलवालले नेपालमा शान्ति र पुनःनिर्माणसँगै मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न खोज्नुभएको छ । अमेरिकाबाटै डा. मेघबहादुर महत भौतिक पूर्वाधार निर्माण, टेलिकम्युनिकेसन तथा सूचना प्रविधिमा दख्खल राख्नुहुने उहाँले नेपालमा पनि यही क्षेत्रमा योगदान गर्ने रुचि राख्नुभएको छ ।
अमेरिकाकै निर्मलकुमार मास्के भने सनफ्रान्सिस्को विमानस्थल परियोजनामा काम गरेको अनुभव नेपालको विमानस्थल निर्माणमा खर्चन खोज्नुभएको छ । उहाँले विभिन्न विपद्का समयमा आपत्कालीन बासस्थान निर्माणका साथै सार्वजनिक सेवा एवं आर्थिक विकाससँग जोडिएका परियोजनामा काम गर्नसक्ने जनाउनुभएको छ ।
अमेरिकाका अभिबन्धु काफ्ले साइबर सेक्युरिटीको अनुभव नेपालमा पोख्न खोज्नुभएको छ । नेपालस्थित विश्व बैङ्कसँग आबद्ध भएर काम गरिसक्नुभएकी र हाल अमेरिकामा रहनुभएकी समीक्षा शिवाकोटीले नेपालको गैरसरकारी निकायसँग मिलेर योगदान गर्नसक्ने लेख्नुभएको छ ।
डा. रामु विश्वकर्माले अमेरिकामा पोषण र खाद्य सुरक्षामा हासिल गरेको अनुभव नेपालमा खन्याउन चाहनुभएको छ । अमेरिकाबाट डा. तारा सिग्देलले पनि आफ्नो परामर्श सेवा र अनुभव नेपालमा थप खर्च गर्ने चाहना राख्नुभएको छ ।
अमेरिकामा रहनुभएका डा. रोहण शर्माले नेपालमा ऊर्जासम्बन्धी योजनामा काम गर्ने उत्कट चाहना व्यक्त गर्नुभएको छ । अमेरिकाकै इरिस शाक्यले छापाखाना र डिजाइनिङका काममा सघाउन सक्ने बताउनुभएको छ ।

जापानमा रहनुभएका प्रकाश गौतमले नेपालमा इन्जिनियरिङ तथा सूचना प्रविधिमा आफ्नो इच्छा प्रकट गर्नुभएको छ । अमेरिकाका राजेन्द्र महर्जनले पनि सोही क्षेत्रमा योगदान दिन खोज्नुभएको छ ।
नर्वेको विश्वविद्यालयबाट शान्ति र द्वन्द्व विषयमा स्नातकोत्तर गर्नुभएका गणेशकुमार खनालले नेपालको शान्ति तथा पुनःनिर्माणअन्तर्गत तथा नेपालका बा(लबालिका र युवाको क्षेत्रमा सुधारका योजनासहित काम गर्ने चाहना राख्नुभएको छ । त्यसैगरी डा. उत्सव केसी अरबमा बस्नुहुन्छ । अमेरिकाको टेक्सासमा अध्ययन गर्नुभएका उहाँ शैक्षिक अध्ययन, अध्यापन तथा पाठ्यक्रम निर्माण एवं नीति निर्माणमा सघाउने इच्छा राख्नुहुन्छ ।
बहराइनमा रहनुभएका इन्जिनियर सुशील भण्डारीले आफ्नो लामो अनुभवको फेहरिस्तसहित नेपालको पानी आपूर्ति तथा जलविद्युत् क्षेत्रमा काम गर्नसक्ने योग्यता प्रस्तुत गर्नुभएको छ ।

चीनबाट प्रविधि र प्रकृतिका विज्ञ
चीनमा अध्ययन सक्नुभएका डा. भूपति न्यौपानले कोइला, भूकम्प र पहिरोका विषयमा विज्ञता हासिल गर्नुभएको जनाउँदै त्यस क्षेत्रमा योगदान गर्ने मनसाय राख्नुभएको छ । चीनमा फोर जी र फाइभ जी मोबाइल प्रविधिको ज्ञान हासिल गर्नुभएका राकेश ताम्राकारले नेपालमा यही क्षेत्रमा नयाँ उत्पादन गर्नसक्ने क्षमता राख्नुभएको छ ।
चीनबाटै प्रविधि हस्तान्तरणमा विज्ञता हासिल गर्नुभएका डा. कमल पौडेलको चाहना पनि नेपालमा केही गरौँ भन्ने रहेको छ । प्रविधिमार्फत नेपालमा लगानी भिœयाउन सकिन्छ भन्ने धारणासमेत उहाँले आफ्नो अनुभव पत्रमा उल्लेख गर्नुभएको छ ।
इशान पोखरेल जर्मनीमा प्राप्त गरेको अनुभवलाई नेपालको शिक्षा, औद्योगिक क्षेत्र र परामर्श क्षेत्रमा खर्चन चाहनुहुन्छ । डा. द्रोणप्रसाद रसाइली क्यानडा र नेपाल सम्बन्धको मियोलाई समातेर कूटनीतिक माध्यमबाट विभिन्न गतिविधि गराउन र नेपाललाई लाभ दिलाउन सक्ने क्षमता रहेको आफ्नो अनुभव पत्रमा उल्लेख गर्नुुहुन्छ ।
जर्मनीबाट अमृतकुमार वासुकला आफूले नेपालका विभिन्न क्षेत्रमा पहिले गरेका कार्यको अनुभवबाट जल तथा सरसफाइको क्षेत्रमा थप योगदान पु¥याउनसक्ने जनाउनुहुन्छ ।

देशभित्रकै विज्ञको पनि चाहना
विदेशकाले मात्र हैन, नेपालमै अवसर खोजिरहेका विज्ञ पनि ब्रेन गेन सेन्टरमा दर्ता भएका छन् । नेपालको त्रिभुवन विश्वविद्यालयबाट डा. गिरिराज त्रिपाठीले सिकलसेल, एनिमिया र अन्य वंशाणुगत रोगको मोलिक्युलर डाइग्नोसिस गर्नुभएको छ । उहाँ उच्च मूल्यको इकटोमाइकोरशिजा च्याउको अध्ययन, हर्टिकल्चर बिरुवाको जन्म र अध्ययनमा संलग्न रहनुभएको अनुभवबाट सिकेको ज्ञान आगामी पुस्तामाझ बाँड्न चाहनुहुन्छ ।
जाभरा सफ्टवेयर नेपालका केशव विष्ट नेपालमै रहेर देशका लागि योगदान दिने चाहना राख्नुहुन्छ । त्यस्तै सेफकुमार चालिसे आफ्नो खाद्य अनुभवबाट नेपालको खाद्य सुधारको क्षेत्रमा अनुभव बाँड्न चाहनुहुन्छ ।
अमेरिकामा पढ्नुभएको हाल नेपालमा बस्ने अश्रुता आचार्यले नेपालमा आफूले अवसर पाएको खण्डमा प्रशासनिक व्यवस्थापन, नीति निर्माण र योजनाको क्षेत्रमा काम गर्ने चाहना अघि सार्नुभएको छ । उहाँहरूले जस्तै दर्ता भएका निवेदकले छिटोभन्दा छिटो देशका लागि काम गर्ने मेसो मिलाउन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराइरहेको अधिकारीहरू बताउँछन् ।
गोरखापत्रबाट