‘भारतीय संरचनाले डुबान’


हरेकपल November 20, 2019

काठमाडौं ४ मंसिर ।
सरकारले भारतीय पक्षबाट सीमा क्षेत्रमा बनाइएका अनधिकृत संरचनाका कारण तराईमा बाढी र डुबान समस्या निम्तिएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले त्यस्ता संरचना विस्थापनका लागि परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहल थाल्न निर्देशनसमेत दिएको छ ।

बैठकले शीतलहर, हिमपात, चिसोलगायत प्रकोप व्यवस्थापन पूर्वतयारी स्वरूप संघ, प्रदेश र स्थानीय सरकारबाट प्रभावकारी कदम चाल्नुपर्ने भन्दै १८ बुँदे निर्णय गरेको छ ।

‘छिमेकी देशले सीमा सुरक्षाका नाममा निर्माण गरेका अग्ला संरचना बाढी तथा डुबानको एक प्रमुख कारण देखिएकाले यस सम्बन्धमा परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक रूपमा पहल गरी समस्या समाधान गर्नुपर्ने,’ समितिको निर्णयमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीले भने समितिको निर्देशन र निर्णय आइनसकेको भन्दै अनभिज्ञता जनाए । ‘आधिकारिक पत्र पाएपछि मात्रै के भएको छ, के पहल गर्ने भनेर बताउन सकिन्छ,’ परराष्ट्रका प्रवक्ता भरतराज पौडेलले भने।
कान्तिपुर दैनिकबाट