रिचार्ज कार्ड छाप्ने कम्पनीमा अनुगमन


हरेकपल November 20, 2019

काठमाडौं ४ मंसिर ।
रिचार्ज कार्ड छाप्ने कम्पनीमा उद्योग विभागले अनुगमन गरेको छ। कानुनविपरीत रिचार्ज कार्ड छपेको आशंकामा विभागले सोमबार साँझ मिराज प्रिन्टिङ सोलुसन प्रालिमा अनुगमन गरेको हो।
विभागको शाखा अधिकृत टंक भट्टराई नेतृत्वको इन्जिनियरसहितको टोली धुम्बराहीमा रहेको प्रिन्टिङ कम्पनीको कार्यालयमा गएको थियो। अनुगमनमा गएका टोलीलाई कार्यालयका कर्मचारीले अवरोध गरेका थिए। उनीहरूले ‘सञ्चालकको अनुमति बिना कारखानाभित्र छिर्न नदिने’ भन्दै अनुगमनमा अवरोध गरेको विभागका एक अधिकारीले जानकारी दिए।

सन् २०१६को फेब्रुअरी ८ मा नेपाल टेलिकमले मिराजलाई ७० प्रतिशत रिचार्ज कार्ड खरिद तथा वितरणका लागि टेन्डर स्वीकृत गरेको पाइएको छ। यद्यपि, सुरक्षण मुद्रणको उद्देश्यले उद्योग तथा लगानी प्रवद्र्धन बोर्डसँग अनुमति लिनुपर्ने तथा कम्पनीको आधाकारिकताका विषयमा अध्ययन गरिरहेको विभागले जानकारी दिएको छ।

टोली पुग्दा कारखाना बन्द अवस्थामा रहेको उनले बताए। अनुगमनका बेला देखिएका विषय टिपोट गरेर प्रतिवेदन बनाइरहेको उनले जानकारी दिए। उनले भने, ‘कम्पनीले रिचार्ज कार्ड छाप्ने गरेको त थाहा पाइयो तर अन्य विषयमा अध्ययन भइरहेको छ।’ अनुगमनपछि विभागले कम्पनीका कार्यकारी निर्देशक मनोहरराज घिमिरेसँग स्पष्टीकरण मागको थियो। घिमिरेले मंगलबार विभागमा उपस्थित भएर स्पष्टीकरण दिएका थिए ।