कम्युनिष्ट विचार नै अर्काको घृणाबाट जन्मेको हो


हरेकपल November 20, 2019

कलानिधि दाहाल

एउटा कृति लेखेँ–मैले । ‘विभाजित विश्व’नामक कृतिका लागि चलन अनुसार भूमिका लेखाउन डा.वासुदेव त्रिपाठीकहाँ पुगेँ । निकै लामो वहसपछि ‘ओके’उत्तर आयो । हेर्दै गरेका अवधिमा फेरि पुगेँ । डा.त्रिपाठीका मुखबाट एकाएक प्रश्न आयो–कम्युनिष्टप्रतिको भनाइँ ज्यादा भएन र ? यतिबिध्न किन ठटाएको ? तर म झस्किन र गुरुलाई भनेँ–‘ म आत्माको आवाज बोल्छु है त सर ? ’ सहज उत्तर आयो –‘हुन्छ ।’


मेरो मान्यतामा ,मेरो सुझबुझमा , मेरो अन्तर्आत्मादेखिको सङ्कल्पिति विश्वासमा कहिल्यै विचलित नहुने र उनीहरूका व्यबहारसम्मले देखाएको तथ्यबोधका आधारमा –कम्युनिष्ट पार्टी , सिध्दान्त वा विचारको जन्म नै अर्काको इष्र्याबाट भएको छ । अर्काको डाह र उसलाई समाप्त पारेर आफू त्यस ठाउँमा पुग्ने भित्री आपराधिक सोचबाट वा मनोवृत्तिबाट भएको छ । यसमा जे लेखेँ, जसलाई लेखेँ , जसरी सिम्बोलाइज गरेँ,गरेको छु त्यो मेरो आत्माको आवाज हो , म यसबाट विचलित हुन्न भन्नासाथ गुरुले समग्र विश्व कम्युनिष्ट आन्दोलन , जन्म , विस्तार , फैलावट र अन्त्यसम्मको विशद चित्र प्रस्तुतीसँगै मेरो माथिको भनाइमाथि सहमत भएको त्यो क्षण म गद्गद् भएँ नै ।


आजका घटनाले पनि त्यसकै पुष्टि गरिरहेको पाउँदा जनता र भूपरिवेशका लागि दुःखद र हानीकारक छ तर मेरो अन्तर आत्मविश्वासको साकार रूपप्रति भने म गद्गद् छु , खुशी छु , सन्तुष्ट छु । वर्तमान अवस्थाका कम्युनिष्ट मनोविज्ञानको अपरेशन पनि उहाँले सजीव ढङ्गमा नामै लिएर गर्नुभयो तर यहाँ उल्लेख गर्नचाहिँ किन असमर्थ छु भने उनीहरूसँँगै मेरो सहयात्रा छ ।
‘ भाइ ! कम्युनिष्ट विचारलाई किन यसरी ठोकेको ?’ कुन्ता शर्मा दिदीले अचानक प्रश्न गर्नुभयो । यसै कृति परिचर्चाका क्रममा महेन्द्र क्याम्पस धरानमा साठी जना प्राध्यापकका बिच उहाँले गरेको प्रश्न थियो यो । टीकाराम वस्तीको सभापतित्वमा टङ्क न्यौपानेको सक्रियतामा यस कार्यक्रममा उपस्थित प्राय प्राध्यापकहरू वाममार्गी नै थिए ।

कुन्ता दिदीले शुरुमै गरेको यस प्रश्नको उत्तर आफ्नै बोल्ने पालामा माथिकै उत्तर मैले दिएँ । निस्तव्ध, शान्त कसैले कुनै प्रश्न नउठाएको पाउँदा मलाई लाग्यो –कम्युनिष्ट शब्दको खोल र अन्तरमनोसङ्कल्प अनि व्यबहारिक गतिविधिमा आसमान फरक हुदोरहेछ कम्युनिष्ट सिध्दान्तधारकहरूको । व्दैधचरित्तको यो जीवन क्षणिक ढाँटछलका लागि त होला तर के सच्चा जीवनको भित्री संतुष्टिमा निर्भीकताका साथ उभिएको हुनसक्छ ? अँहँ, पत्यार लागेन मलाई ।