यसकारण हुन सकेन मन्त्रिपरिषद् पुनर्गठन


हरेकपल November 20, 2019

काठमाडौं, ४ मंसिर । नयाँ मन्त्रीको नामबारे सहमति हुन नसकेपछि बुधबार गर्ने भनिएको मन्त्रिपरिषद् पुनर्गठन बिहीबारका लागि सरेको छ ।

यसअघि नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आजै मन्त्रीहरु परिवर्तन गर्ने बताएका थिए । सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपाको कार्यकारी अध्यक्ष बनाउने र मन्त्रिपरिषद् पुनर्गठनको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीलाई दिने निर्णय गरेको थियो ।

बालुवाटार स्रोतले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण पुनर्गठन हुन नसकेका बताए पनि नयाँ मन्त्री कसलाई बनाउने भन्नेमा सहमति हुन नसक्दा पुनर्गठन रोकिएको हो ।

नयाँ मन्त्री कसलाई बनाउने भन्नेमा सहमति नभए पनि हटाउन लागिएका केही मन्त्रीको नाम सार्वजनिक भएको छ । जसअनुसार पूर्वमाओवादीबाट मन्त्री बनेका उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणी खनाल, त्यसैगरी पूर्वएमालेबाट मन्त्री बनेकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा हट्ने पक्का भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिएर मन्त्री बन्न आग्रह गरेका छन् । तर, तुम्बाहाम्फेले भने प्रधानमन्त्रीको आग्रहलाई अस्वीकार गर्दै आएकी छिन् । उनले आफूलाई सभामुख बनाउनुपर्ने माग राखेकी छिन् ।

यीलगायत विभिन्न कारणले नयाँ मन्त्रीको नामबारे सहमति गरेर बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ ।