मन्त्रिपरिषद पुनर्गठन: को को हटे, को को आए ? (सूचीसहित)


हरेकपल November 21, 2019

काठमाडौं ५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जनाएको छ ।

राष्ट्रपति भण्डारीले ओली सरकार गठन भएको २१ महिनापछि मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । ओलीले ३ फागुन २०७४ मा सरकारको नेतृत्व लिएका थिए । नयाँ मन्त्रीहरूको शपथ बिहीबार बिहान ११ बजे गरिने भएको छ ।

पुनर्गठनमा केही मन्त्रीलाई हटाइएको छ भने केही नयाँ अनुहार ल्याइएको छ । केहीको मन्त्रालय परिवर्तन गरिएको छ । ६ मन्त्री र तीन राज्यमन्त्री गरी नौ जना नयाँ अनुहारका रूपमा आएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा बादल, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र खानेपानीमन्त्री बिना मगरको जिम्मेवारी यथावत् राखिएको छ ।

उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिएको छ । उपेन्द्रलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाइएको छ । नेकपा नेता भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाइएको छ । यसअघि यादव स्वास्थ्यमन्त्री थिए । ढकाल कानुनमन्त्री थिए ।

पूर्वएमालेबाट मन्त्री बनेका संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ ।

पूर्वमाओवादीबाट मन्त्री बनेका उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र कृष्णराज्यमन्त्री रामकुमारी चौधरीलाई हटाइएको छ ।

नयाँ मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङको ‘इन्ट्री’ भएको छ । त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, भुसाललाई कृषि तथा पशुपन्छी विकास, भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, रामेश्वर राय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएको छ ।

यसैगरी, वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात र पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाइएको छ ।

यसैगरी, तीन राज्यमन्त्री पनि नियुक्त गरिएको छ । मोतीलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री बनाइएको छ ।