बुढीगण्डकी आयोजनाको मुआब्जा ताेक्न माग गर्दै पूर्वप्रधानमन्त्रीदेखि प्रतिपक्षी दलका नेतासम्म धर्नामा


हरेकपल November 21, 2019

गोरखा, ५ मंसिर । बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा तत्काल तोक्न माग गर्दै पूर्वप्रधानमन्त्रीदेखि प्रतिपक्षी दलका नेतासम्म धर्नामा बसेका छन् ।

पूर्वप्रधानमन्त्री तथा गोरखा २ का सांसद बाबुराम भट्टराई, राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीसहितको जनप्रतिनिधिहको टोली बुढिगण्डकी आयोजनास्थल आरुघाट बजार, धादिङको खहरे र गोरखाको आर्खेत क्षेत्रको मुआब्जा तत्काल तोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

अन्य क्षेत्रको मुआब्जा वितरण भएको लामो समय भइसक्दा पनि तीन स्थानको मुआब्जा तोक्न माग गर्दै स्थानीयवासीले पटकपटक दबाब दिँदै आएका छन् । तर, जिल्लाप्रशासन कार्यलयले भने मुआब्जा तोक्न आलटाल गरेपछि जनप्रतिनिधिसहितको टोली आन्दोलनमा उत्रिएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले ‘पहिल्यै टुंगिनुपर्ने विषय अहिलेसम्म नमिलेकोमा आश्चर्य प्रकट गर्दै भने, ‘जनताको समस्यामा सँगै ‘सती’ जान पनि तयार छु ।’

बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रको जग्गा पाँच वर्षदेखि सरकारले रोक्का गरेर राखेको छ । स्थानीयवासीले ज्ञापन पत्र बुझाउने, प्रधानमन्त्री, मन्त्री भेट्ने, दलका नेता, प्रजिअ, आयोजनालाई गुनासो गर्दा पनि अहिलेसम्म ती स्थानको मुआब्जा तोकिएको छैन ।

राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘जनताको समस्या हाम्रो समस्या हो, जनतालाई अन्योलमा राखेर पीडा दिनुहुँदैन भनेर हामी दबाब दिन धर्नामा बसेका छौँ ।’

बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्नाम बसेका जनप्रतिनिधिसहितको टोलेले शुक्रवार जिल्ला प्रशासन कार्यालयका धादिङमा र आइतबार बुढीगण्डकी आयोजनाको कार्यालय घ्याल्चोकमा धर्ना दिने कार्यक्रम तय गरेको छ । १० गतेसम्म मुआब्जा निर्धारण नभए थप आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।