विदेशी लगानीमा फड्को: १५९ प्रतिशतले बढ्यो लगानी


हरेकपल November 23, 2019

काठमाडौँ, ७ मंसिर । गत आर्थिक वर्षमा तुलनात्मक रूपमा कम विदेशी लगानी भित्रिएकोमा चालू आर्थिक वर्षमा भने यसको प्रवृत्तिमा व्यापक सुधार देखिएको छ ।
लगानी रकमका हिसाबले चालू आवको तीन महिनाभित्रै नेपालले करिब चार अर्ब रुपियाँ भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५८.७ प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिसम्म नेपालले एक अर्ब ५४ करोड ३२ लाख रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो ।
गत आर्थिक वर्षभर नेपालले कुल १३ अर्ब सात करोड रुपियाँ विदेशी लगानी भिœयाएको थियो । जुन त्यसअघिको आव २०७४÷७५ को तुलनामा ७४.६ प्रतिशतले कम थियो । विदेशी लगानीमा भएको गिरावटको प्रवृत्तिमा सुधार गर्दै समीक्षा अवधिमा साढे दुई गुणाभन्दा बढी लगानी नेपाल भित्रिएको हो ।
पर्यटकको खर्च पनि बढ्यो
विदेशी लगानीसहित यात्राबापत नेपाल भित्रिने रकममा पनि वृद्धि आएको छ । पर्यटकले नेपालमा गर्ने खर्चका रूपमा आउने यस्तो रकम १६.५ प्रतिशतले बढेर तीन महिनामा १८ अर्ब २८ करोड रुपियाँ पुगेको छ । गत आवको तीन महिनामा यो शीर्षकमा नेपालले १५ अर्ब ६९ करोड रुपियाँ प्राप्त गरेको थियो ।
यति मात्र होइन यात्रा र शिक्षाबापत नेपालबाट बाहिरिने रकम भने घटेको छ । अघिल्लो वर्षको असोजसम्म २९ अर्ब ४९ करोड रुपियाँ यात्राबापत नेपालबाट बाहिरिएकोमा २८.१ प्रतिशतले घटेर २१ अर्ब २१ करोड रुपियाँ पुगेको छ ।
त्यस्तै शिक्षाबापत बाहिरिने रकम ४० प्रतिशतले घटेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो आवमा १७ अर्ब सात करोड रुपियाँ शिक्षाका लागि बाहिरिएकोमा यस वर्ष १० अर्ब २४ करोड रुपियाँ मात्र बाहिरिएको छ ।
नेपालबाट बाहिरिने रकममा घटेको र भित्रिने रकममा आएको सुधारले समग्र शोधनान्तर स्थितिमा समेत टेवा पुगेको छ । असोजसम्म नेपालको शोधनान्तर स्थिति १४ अर्ब ४२ करोड रुपियाँले नाफामा छ । अघिल्लो आवको तीन महिनासम्म नेपालको शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोड रुपियाँ घाटामा थियो ।
गोरखापत्र दैनिकबाट