पानी बोक्नकै ध्याउन्न !


हरेकपल November 23, 2019

काठमाडौं ७ मंसिर । कालिकोटको पलाँता गाउँपालिका–२ बान्जडाकी सरस्वती प्याकुरेलको दैनिकी पीठिउँमा खानेपानीको भारी बोक्दै बित्छ। एक गाग्री पानी लिन उनी दुई घण्टाको बाटो हिँडेर खोला किनारमा रहेको धारामा पुग्ने गर्छिन् ।

गाउँमा पानीको निकै पीडा पाएकी सरस्वती त एक प्रतिनिधि मुलक पात्र मात्र हुन् । उनी जस्तै पानीको जोहो गर्दै यहाँका धेरै स्थानीयको दैनिकी गुजरा गर्न मुस्किल बन्दै गएको छ । उनले खाडाको घरबाट एक घण्टा ओरोलो झरेर थाडीबाट पानी ल्याउनुपर्ने बाध्यता छ । सरस्वतीको वर्षौंदखि पानी बोक्दा बोक्दै थाप्लोका कपाल झरिसकेका छन् । सजिलै एक गाग्री पानी पाउँदा पनि लडाइँ जितेजस्तै गर्नु पर्ने समस्या छ ।

धारोमा गाउँभरिका मानिस पानी भर्न लाइन लागेर बसेका हुन्छन् । जीवनकै ठुलो दुःख पानीको पाएको सरस्वतीको गुनासो छ । गाउँमा आउने सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिले खानेपानी समस्या समाधानका लागि धेरै आश्वासन दिए पनि पानीकै पिरलो छुट्न नसकेको स्थानीय महिलाहरू गुनासो गर्छन् । पलाँताको खाँडामा एउटा मात्र धारो छ । त्यही पनि पालो कुरेर बस्नु पर्ने मात्र होइन् ।

रातभरी जागराम बस्नु पर्ने बाध्यता छ । धाराको वरिपरी बिस्कुन डाँसे जस्तै रित्ता भाँडाको लस्कर लागेको छ । पानी भर्न लाइन लाग्नुपर्ने हुँदा छिटो भर्न खोज्दा भागदौड हुने र बालबालिका घाइतेसमेत हुने गरेका छन् ।

धौलागोह राडुनेटाकी ६० बर्षीया वेलकला बमको पीडा पनि कम छैन् । उनी रातभरी पानीको लागि धारोमै वास बस्ने गर्छन् । पानीको लागि पाउनु दुःख पाएको पीडा पोख्छिन् । विगतका सरकारभन्दा स्थानीय सरकार आएपछि खानेपानीको आशा जागेको स्थानीय बलले बताईन् । बालबालिकालाई पानी ल्याउँदैरातदिन बित्छ । स्कुल जानै भ्याइँदैन ।

पानी नहुँदा नुहाउन नपाइने र विद्यालयमा शिक्षकले रिसाउने गर्छन् । बान्जडामा खानेपानीका लागि बजेट नआएको पनि होइन् । पलाँताकै चर्चित बुड्ने खानेपानी आयोजनामा वर्षौंदेखि बजेट आइरहेको छ । लाखौं बजेट खर्चिए पनि खानेपानी योजना अधुरै रहेका छन् ।

पलाँताको खाडाँ, बान्जाडा र थिर्पुको पारौटी जिल्लाकै सबैभन्दा बढी खानेपानी अभाव क्षेत्र रहेका हुन् । बान्जाडाका एक सय ८२ घरधुरीका लागि गाउँमा एउटा मात्र खानेपानी धारा रहेको छ । गाउँपालिकाले वडा नं. २ लाई लक्षित गर्दै २३ किलोमिटर टाढाबाट खानेपानी ल्याउने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । खानेपानी आयोजनाका लागि गाउँपालिकाले १० करोडभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।

स्थानीयको आवश्यकतालार्य मध्यनजर गर्दै खानेपानीका योजना चालु आर्थिक वर्षमै सुरुवात गरिने पलाँता २ का वडाध्यक्ष कृद्धि कामीले बताए ।

गाउँपालिकाले विकास निर्माण कार्यदल लगायर पाइप लाइन खनेको छ । गाउँमा पानी भने आउन सकेको छैन । तर, गाउँपालिकाले भने यसै वर्ष्भित्र गाउँमा खानेपानी पु¥याउने स्थानीयलाई आसवाशन दिएको छ । खानेपानी उपभोक्ता समितिलको लापरवाहीले पनि खानेपानी योजना अलपत्र पर्ने गरेको जनगुनाशो आउने गरेको छ । उपभोक्ताको बदमासीलाई खबदारी गर्न र काम सम्पन गर्ने विकास निर्माण कार्यदलको जिम्मा कगाएको गाउँपालिले बताएको छ ।

पलाँता पारौटीमा पनि उस्तै पानीको दर्दनाक अवस्था छ । खानेपानीको अभाव हुदाँ टाढाबाट बोकेर खानेपानीको जोहो गर्नु परेको स्थानीय बताउँछन् । यहाँका स्थानीयलाई पानीको हाहाकार मचिएको छ । खानेपानी उपभोक्ता समिति र खानेपानी कार्यालयको लापरवाहीका कारणले हामीले खानेपानी नपाएको वडाध्यक्ष नै दुखेसो गर्छन् ।खानेपानी समस्याबारे खानेपानी कार्यालय र उपभोक्ता समितिलाई कार्यालयबाट पत्रचार गरेर समस्या हल गर्न निर्देशन दिइएको वडाध्यक्ष बर्जबहादुर बमले बताए ।

राजधानी दैनिकबाट