महिला सहकर्मीमाथि दुर्व्यवहार गरेपछि स्वास्थ्य अनुसन्धान परिषदका अधिकृत निलम्बित


हरेकपल November 23, 2019

काठमाडौं ७ मंसिर । मादक पदार्थ सेवन गरी महिला सहकर्मीमाथि दुव्र्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झा निलम्बनमा परेका छन् । १ मंसिरमा मादक पदार्थ सेवन गरी झाले कार्यलय परिसरमै दुव्र्यवहार गरेको भन्दै पीडित कर्मचारीले परिषदका कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झा समक्ष उजुरी गरेकी थिइन् ।

अधिकृत झाविरुद्ध उजुरी परेपछि अध्यक्ष झाले कर्मचारी बैठक बोलाएर विभागीय कारबाही गर्ने निर्णय गरेका हुन् । अधिकृत झालाई ४ मंसिरदेखि १७ मंसिरसम्म निलम्बन गरिएको छ । साथै, परिषदले उनको मंसिर र पुस दुई महिनाको तलब समेत रोक्का गर्ने निर्णय गरेको छ ।

तलब रोक्का तथा निलम्बन पत्रमा परिषद्को कर्मचारी प्रशासन विनियमावली १०.३ बमोजिम निलम्बन गरिएको र सोही विनियम अनुसार दुई महिनाको तलब रोक्का गरिएको उल्लेख छ । निलम्बन पत्रमा भविष्यमा कार्यालय समयमा फेरि पदीय मर्यादा विपरित कार्य दोहोरिएको पाइएमा विनियमको १०.६ बमोजिम परिषद्को सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिने चेतावनी पनि दिइएको छ ।

पीडित कर्मचारीले कार्यालयमा भएको दुव्र्यवहारविरुद्ध प्रहरीमा जाने तयारी गरिरहेको कार्यकारी अध्यक्षलाई मौखिक जानकारी गराएकी थिइन् । मुद्दा प्रहरीसम्म पुग्ने देखिएपछि परिषद अधिकृत झालाई निलम्बन गर्न वाध्य भएको परिषद् स्रोतले जनाएको छ । अध्यक्ष झाले मानिसबाट कहिलेकाहीँ गल्ती हुने भन्दै पीडित महिलालाई छलफलको माध्यमबाट विवाद टुंगो लगाउन आग्रह गरेका थिए ।

बैठकमा सहभागी स्रोतकाअनुसार अध्यक्ष झाले पीडित कर्मचारीलाई पटकपटक ‘मानिसबाट कहिलेकाहीँ गल्ती हुन्छ, एक पटकलाई कुरा बाहिर नलैजाउँ’ भन्दै सम्झाएका थिए । उनले पुनः त्यस्ता घटना दोहोरिए थप कारबाहीका लागि आफैँ अग्रसर हुने आश्वासन दिएपछि पीडित महिला कर्मचारी प्रहरीमा उजुरी नगर्न तयार भएकी थिइन् ।

विभागीय कारबाहीको प्रक्रियामा जाने सहमति भएपछि पीडित महिलाले आफूमाथि मादक पदार्थ सेवन गरेर दुव्र्यवहार गरेको परिषदमा उजुरी गरेकी थिइन् ।