मन्त्रीपरिषद् पुनर्गठनको अन्तर्य


हरेकपल November 23, 2019

बेनीबहादुर कार्की


हालै प्रधानमन्त्री के.पी.शर्मा ओलीले २१ महिनापछि मन्त्रीपरिषद् पुनर्गठन गर्नु भएको छ । गृह, अर्थ, रक्षा, परराष्ट्र र सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीसमेत उही रहेकाले ६ जना अन्य मन्त्री र १, २ जना राज्यमन्त्री परिवर्तन गर्दैमा तात्विक फरक पर्ने देखिंदैन ।

हुनत यो प्रधानमन्त्रीको स्वविवेकीय अधिकार भएकाले अरुले टाउको दुखाउनुपर्ने बिषय होइन । तर यहाँ कार्य सम्पादन मूल्यांकनको आधारमा नराम्रो काम गरेकालाई हटाइएको भन्ने भनाई सार्बजनिक भएकाले जनताको पनि टाउको दुखाईको बिषय भएको हो । यदि यही आधार हो भने कार्यसम्पादन मूल्यांकनमा पहिलो र दोश्रो भएका भनिएर यस अघिनै सार्वजनिक भइसकेका लालबाबु पण्डित, गोकर्ण बिष्ट र मातृका यादव कसरी हटे ? अनि यही मन्त्री परिषद्मा सबैभन्दा नराम्रो काम गरेर कार्यसम्पादनमा परेका भने यथावत रहेपछि जनताको लागि चित्त दुख्ने भयो कि भएन ? यसरी यो बिषय जनताको सरोकारको हुनगएको छ । शक्तिकै आडमा यस्तै गर्ने हो भने अब यस्तै नराम्रो काम गर्नेनै उपप्रधानमन्त्री र प्रधानमन्त्री हुने भए । यस्तै हो भने नेपालको भविष्य के होला ? यतिबेला नेपाली जनतालाई परेको चिन्ता यही हो ।

हुनत धेरै प्रधानमन्त्रीनै परिवर्तन हुँदापनि उहिरुप हुँदै आएको यो मुलुकमा केही मन्त्रीहरु फेरिंदा खासैफरक नपर्नु स्वभाविकै हुन्छ । तैपनि राम्रो काम गरेका जाँदा र राम्रो छवि भएका यही भुंग्रोमा पर्दा चिन्ता लाग्दो रहेछ । जाने त गए, गए । आउनेलाई पनि ठूलै चुनौति छ । नाम कमाएका घनश्याम भुषाल, लेखराज भट्ट, हृदेश त्रिपाठी र रामेश्वर रायलाई अब त्यो भन्दा राम्रो कामगर्न ठुलै चुनौति छ । पण्डित र बिष्टले राम्रै काम गरेका थिए । यादवले पनि विगतको तुलनामा सहनशील भएरै काम गरेका हुन् । प्रधानमन्त्रीलाई चित्त नबुझ्नु आफ्नो ठाउँमा छ ।

कुन शक्तिले यो देशमा मन्त्री बनाउँछन् र हटाउँछन् यो सम्बन्धितलाई नै थाहा हुने बिषय भएपनि यहाँ भू.पू. भएपछि भने कुरो खुल्छ र नेपाली जनताले पनि थाहा पाउने गरेका छन् । यही क्रममा यसपाली पनि केही त थाहा भइनै सकेको छ । नराम्रो काम गरेका मन्त्रीलाई हटाउन खोज्दा अध्यक्ष प्रचण्डले ठूलो बाँकेटा हानेकाले आफ्नो अध्यक्षनै खुस्केपछि ओलीले पनि बिचारा के गरुन् । उनको पनि केही लागेन । यहाँ यस्तै हुन्छ । धेरैले पद पाएपछि पत्तो पाउँछन् । केहीले पद गुमाएपछि । यो देश कसरी चलेको रहेछ भनेर ।

हुनत नेपाल र नेपालीकालागि प्रधानमन्त्रीमा प्रचण्ड र अध्यक्षमा ओली भएको भए केही फाइदा हुने थियो । किनभने बिरामी खर्चपनि दिनु नपर्ने, दौडधुप गरेर काम पनि गर्न सक्ने भएकाले । नभएत नेपाली जनतालाई जे गर्दापनि नाफा छैन । ओली र प्रचण्ड मिलेर हुने नहुने सबै काम गरिरहेकै छन् । राष्ट्रपति विद्या भण्डारी छाप लगाइ हाल्नु हुन्छ । यसो नभएको भए संबिधान मिचेर प्रेस संकुचन् हुने कानून आउने थिएन । सबै अधिकार प्रधानमन्त्रीमै गएर अदालत, अख्तियार र अनुसन्धान यसरी फितलो हुने थिएन । अनि संबिधानको भावना र लोकतन्त्रको मर्म मर्ने गरी संबैधानिक परिषद्लाई निष्तेज गर्ने कुचेष्टा गर्ने आँट गरिने थिएन । ओली र प्रचण्ड पालो–पालो प्रधानमन्त्री हुनेसमेतका सबै काम मिली भगतमै भइरहेका छन् । यी कामले राष्ट्रको लागि ठूलो क्षती भइरहेको छ ।

निष्कर्शमा के भन्नैपर्छ भने अहिले भएको मन्त्री परिषद्को पुनर्गठन कार्य सम्पादनको आधारमा भएको देखिएन । शक्तिकेन्द्र र पैसाकोलागि बिचौलीयाको चलखेल नभए प्रधानमन्त्री ओलीको ब्यक्तिगत तुष्टीमा भएको हुन सक्छ । यसो पनि होइनभने सत्तामा रहेकाहरुको पुरानै एउटा चलन छ । त्यो के भने सत्ता बाहिर बसेर आफ्नो बिरोध गर्नेहरुलाई सत्ता भित्र हुलेर डामेर आफूजस्तै बनाएर छाडि दिने । नभए इज्जत भएकालाई सत्तामा ल्याएर असफल बनाएर बेइज्जत गरि दिने । यस पटकको हेरफेरमा यसो पनि भएको हुन सक्छ । यस अन्तरगत खास गरेर घनश्याम भुषाल, हृदेश त्रिपाठी र लेखराज भट्ट पर्नु हुन्छ ।

बौद्धिक र इज्जत बचाएर बसेकाले । त्यसैले यस पटक मन्त्री बनेका भुषाल, त्रिपाठी भट्ट र रायले बेलैमा होस् गरेर पहिलेकाले गरेको भन्दापनि राम्रो काम गर्नैपर्ने चुनौति छ । पार्वत गुरुङ भने फौजदारी मुद्दाको तारेखमै रहेकाले महिला मन्त्री कोटा घटाएर उहाँलाई महिला मन्त्रालयको मन्त्री बनाएकोनै रहस्यमय भएको छ । बसन्त नेवाङ भने नयाँ नै भए । हुनत जनताको नूनको सोझो गर्ने हो भने मन्त्री भएका सबैले नेपाल र नेपाली जनताको हितमा काम गर्नुपर्ने हुन्छ । तर अपवाद बाहेक अहिलेसम्म यस्तो गरेको पाइएको छैन । आशा गरौं अहिले मन्त्री बनेका २५ जनाले नै भाषणमा भनेझैं नेपाल र नेपालीको हित चिताएर राम्रो काम गरेर यस अघिको कामले निराश भएका नेपाली जनताको मन पलाउने काम गर्ने छन् ।


( लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ )