ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा पुगेर लम्पसारवादमा परिणत भयो : सभापति देउवा


हरेकपल November 23, 2019

पोखरा, ७ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले मिचेको भूभाग फिर्ता ल्याउने विषयमा सरकार कानमा तेल हालेर बसेको आरोप लगाउनुभएको छ । पोखरा–१६ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको आरोप लगाउनुभयो ।

कम्युनिष्ट सरकारले जनताका हक अधिकार खोस्ने काम गरेको बताउँदै देउवाले भन्नुभयो, ‘केपी ओली सरकारलाई ‘तिमी गलत बाटोमा छौ, अब सच्चिनुपर्छ’ भन्नकै लागि पनि यो उपनिर्वाचन कांग्रेसले जित्नुपर्छ ।’

सरकारले जनताका हक अधिकार खोस्ने काम गरेको, न्यायालय, प्रेस, संवैधानिक अंगहरूमा हस्तक्षेप गर्न उद्यत रहेको आरोप लगाउँदै उहाँले जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गरिएकाले सो कदमलाई सच्याउन पनि माग गर्नुभयो ।

आफूहरुले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भूभाग फिर्ता ल्याउन पहल गर्न आग्रह गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र कान खोल्न खोज्यौं, तर सरकार मौन छ । कानमा तेल हालेर बसिरहेको छ ।’

नेता खेमराज पौडेल तपस्वी नेता भएको बताउँदै उहाँलाई जिताउन सभापति देउवाले आग्रह गर्नुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले अनेक भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसँग बुझिसकेको बताउनुभयो ।

महामन्त्री डा. सशांक कोइरालाले कम्युनिष्ट सरकारले मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन खोजेको आरोप लगाउनुभयो ।

केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा कम्युनिष्ट सरकार ब्रम्हलुट मच्चाएको आरोप लगाउनुभयो ।

युवा नेता गगन थापाले स्व. रवीन्द्र अधिकारीको सपना पूरा गर्ने नाममा पुस्ताको राजनीति गर्ने कसैले छुट नपाउने बताउनुभयो ।

शनिबारै कांग्रेसका उपसभापति विमलेन्द्र निधीले भरतपुर महानगर पालिका वडा नं १६ को उपनिर्वाचनलाई सम्बोधन गर्दै लोकतन्त्रको स्थायित्व र स्थानीय विकास गर्न कांग्रेसका युवा उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

सो कार्यक्रममा निधिले विभिन्न पार्टीबाट नेपाली कांग्रेस प्रवेश गरेका १५ जनालाई माला र खादा आढाएर स्वागत गर्नुभयो ।