निष्क्रिय हुनुहुन्छ ? रोग लाग्ला नि


हरेकपल November 24, 2019

काठमाडौं, ८ मंसिर । विलासी र निष्क्रिय जीवन यापन गरिरहेका सहरियालाई नसर्ने रोगको जोखिम बढेको छ। सन्तुलित भोजन र व्यायाम नगर्ने तर सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई उच्च रक्तचाप, हृदयाघात, क्यान्सर, फ्याटी लिभर, मधुमेह, दम र मिर्गौलाको समस्या देखिएको चिकित्सकहरू बताउँछन् ।

दाहिने कोखमा असाध्यै दुखेपछि यमनारायण शर्मा जँचाउन गए । अल्ट्रासाउन्ड गर्दा कलेजोमा बोसो जमेको देखियो। चिकित्सकले सोधे, ‘मदिरा सेवन गर्नुहुन्छ ? अब खानपान र व्यायाममा ध्यान दिनुस् ।’

४६ वर्षीय शर्मा अचेल मर्निङवाक जान थालेका छन्। उनले भने, ‘कलेजोमा बोसो (फ्याटी लिभर) को समस्या देखियो। व्यायाम नगरी सुखै पाइएन।’ वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेशकुमार कश्यपका अनुसार बसाइँ सरेर आउने र जागिरे जीवन बिताइरहेका सहरियाको कलेजो बिग्रन थालेको छ। घरबाहिर खानपान गर्ने र मदिरा सेवन गर्ने व्यक्तिमा कलेजोको समस्या देखिएको डा. कश्यप बताउँछन्।

वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाका अनुसार कलिलै उमेरमा क्यान्सर लागेका बिरामी अस्पताल धाउन थालेका छन्। सडकको धुलो, सवारीसाधन, इँटाभट्टाबाट निस्केको धुवाँलगायतले सहरमा प्रदूषण बढेको छ। सानै उमेरमा धूमपान एवं मदिराको कुलतमा लाग्दा अधबैंसे अवस्थामै फोक्सोमा क्यान्सर लागेका बिरामीको संख्या बढेको डा. पिया बताउँछन् ।

नेपालमा बर्से्नि तीन हजारको मिर्गौला फेल हुने गरेको छ। खानपान र जीवनशैलीकै कारण मिर्गौलामा समस्या आउने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउँछन्। मिर्गौला रोगको लक्षण देखिँदैन। त्यसले यस्ता रोगीको संख्या बढिरहेका छन्। ३० वर्ष नाघेपछि नियमित स्वास्थ्य जाँच गर्नुपर्नेमा धेरैजनाले बेवास्ता गरिरहेको डा. काफ्लेको भनाइ छ। पानी पर्याप्त नपिउने, रातो मासु खाने र व्यायाम नगर्ने बानीले रोग बढाउँछ ।

कलिलैमा रोगी नेपाली

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो सर्वेक्षणले खानपानकै कारण नेपालीहरू कलिलै उमेरमा रोगी हुन थालेको देखाएको छ ।

नेपालमा नसर्ने रोगसम्बन्धी जोखिम तत्त्वको सर्वेक्षण, २०१९ अनुसार नेपालीले दैनिक गर्ने भोजन पर्याप्त पोषणयुक्त छैन। त्यस्तै शारीरिक क्रियाकलापमा पनि कमी देखिएको छ।

परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार चुरोटभन्दा खैनी र गुट्खा खानेको संख्या बढेको छ। सर्वेक्षणअनुसार खराब आहारविहारकै कारण स्वास्थ्य जोखिम बढेको छ। सबैभन्दा बढी प्रदेश ५ मा सुर्तीजन्य पदार्थका अम्मली फेला परेका छन्। त्यसपछि सुदूरपश्चिम क्षेत्रमा धूमपान गर्नेहरू देखिएका छन्। सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या प्रदेश ५ मा ३६.६ प्रतिशत छ । सुदूरपश्चिममा भने ३३.८ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन्। प्रदेश २ र कर्णालीमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरू समान २९.७ प्रतिशत देखिएका छन् । गण्डकीमा २५.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ। प्रदेश १ मा २२.८ र प्रदेश ३ मा २२.२ प्रतिशत धूमपानका अम्मली रहेको प्रतिवेदनमा उल्लेख छ ।

डा. धिमालले १७–१८ वर्षदेखि सुर्तीजन्य पदार्थ सेवन गर्ने प्रवृत्ति देखिएको बताए। सर्वेक्षणअनुसार अम्मलीले सुर्तीजन्य पदार्थका लागि मासिक १ हजार ५० रुपैयाँ खर्च गर्छन्। मादक पदार्थ सेवन गर्नेको संख्या झन्डै ६८ प्रतिशत रहेको परिषद्ले जनाएको छ। सर्वेक्षण १५ देखि ६९ वर्ष उमेर समूहका ५ हजार ५ सय ९३ वयस्कमा गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले वयस्कहरू निष्क्रिय र अल्छी हुँदै गएको बताए। डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलरले नसर्ने रोगको जोखिमबाट बच्न आहारविहार र जीवनशैली परिवर्तन गर्न सुझाव दिए। उनले भने, ‘कलिलै उमेरमा धूमपानको अम्मलीमा लाग्ने प्रवृत्तिले रोगको जोखिम बढाएको छ ।’

अन्नपूर्ण पोष्टबाट