बालाचतुर्दशी, शतबीज छर्ने दिन महिमासहित हेर्नुहोस् आजको दिन २०७६ मंसिर ९ गते {भिडियाे}


हरेकपल November 25, 2019


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको ९ गते सोमबार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष कृष्णपक्षको चतुर्दशी तिथि राति १०।३० बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । स्वाती नक्षत्र दिवा ११।१७ बजेसम्म रहनेछन् । यसैगरी आज शोभन योग र भद्रा करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।३३ मा छ भने सूर्यास्त बेलुका ५।७ बजे हुनेछ ।


चन्द्रमा आज तुला राशिमा छन् । आज बालाचतुर्दशी पर्व परेको छ । चान्द्र महिनाअन्तर्गत मार्गशीर्ष अर्थात् मंसिर कृष्ण पक्षको चतुर्दशी तिथिलाई बालाचतुर्दशी भनिन्छ । चतुर्दशी शिवजीको प्रिय तिथि(दिन) हो । यसैगरी चतुर्दशी तिथिका स्वामी पनि साक्षत् शिवजी हुनुहुन्छ (मुहूत्र्तचिन्तामणि, १।३) ।


त्रयोदशीको राति पितृका निम्ति बत्ती बाली चतुर्दशीका दिन शतबीज छर्ने परम्परा रहेको छ ।
सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् ।


मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।। (हेमाद्रि÷वार्षिकरत्नावली वर्षकृत्यखण्ड)
अर्थात् मृगस्थलीको परिभ्रमण गरी एक बीज धान छर्नाले पुनर्जन्मबाट मुक्तिका साथै सुन दान गरेबराबरको फल मिल्दछ ।
शतबीज भनेको सयवटा अन्नको बीउ हो । शत भन्नले सय र बीज भन्नाले बिऊ भन्ने अर्थ लाग्दछ । सय अन्नको बिउलाई नै शतबीज भनिन्छ । आफ्ना पितृहरूका नाममा त्रयोदशीका राति बत्ती वालेर भोलिपल्ट अर्थात् चतुर्दशीका दिन विहान शिवालय, मृगस्थली, श्लेष्मान्तक वन लगायत शिव मन्दिरको परिसरमा शतबीज छर्ने चलन रहेको छ ।


शतबीज भनी धान, जौ, गहुँ, चना, तिल, कागुनु, मकै, केरा, उखु, सुन्तला, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरूका प्रयोग गर्ने चलन पाइन्छ । तर शास्त्रीय वचनमा भने धानका सयवटा बीउ छर्ने उल्लेख पाइन्छ । जौ समेत छर्न सकिने धर्मशास्त्रका गुरुहरूको धारणा रहेको छ । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किरातेश्वर मन्दिर आदि ठाँउमा शतबीज छरिन्छ । मंसिर कृष्ण त्रयोदशीका राति मन्दिरवरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन गरी भोलिपल्ट चतुर्दशीका दिन दीप नदीमा सेलाउने र शतबीज छर्ने चलन रहेको छ ।


यसरी शतबीज छर्दै मृगस्थलीमा रहेका गणेश नजिक पुगिन्छ । यस पछि गणेशजीको मूर्ति हल्लाई ठुलो स्वरमा हाम्रा पितृले मोक्ष पाउन् भनी पुकार गर्ने चलन रहेको छ । उक्त गणेशजीले कान कम सुन्ने भएकाले ठूलो आवाजका साथ बोल्ले चलन रहेको हो ।
भगवान्् शिव मृगरूप लिएर जहाँ जहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने जनविश्वास रहिआएको छ । बागमती किनारको मृगस्थलीमा भगवान्् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई उक्त शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान्् शिवलाई पार्वतीले पप्त गर्न सकेको कथा पनि पाइन्छ ।


यसैगरी पशुपतिको घाटमा बस्ने बालानन्द नामक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको मूर्दाको टाउको फुटी उछिट्टीएको गिदी उनले खान लागेको चिउरामा परेको र उक्त गिदीसँगै खाजा खाँदा झन् मीठो स्वाद आएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्केका थिए । लामा–लामा दाह्री, जुँगा र कपालले गर्दा मानिसहरू डराई उसलाई बालासुर राक्षस भन्न थाले । बालानन्दको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाह अनुसार स्थानीय बासिन्दाले सिंहमार्फत् बालासुरलाई मार्न लगाएको अर्को किम्वदन्ती पनि पाइन्छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान्् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएको कथा पनि पाइन्छ । सोही बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।


बालाचतुर्दशीमा विशेषतः शिवजीको उपासना हुने गर्दछ । पितृमुक्तिका साथै आत्मकल्याणका दृष्टिले पनि यस पर्वको विशेष महिमा रहेको छ । पशुपति, मृगस्थली एवं कैलाशमा शतबीज छर्नाले अन्न वा सुनचाँदी दान गरेभन्दा पनि ठूलो पुण्य मिल्छ भन्ने फल वर्णन पाइन्छ । यसैगरी शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बालाचतुर्दशीको दिन शतबीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि रहेको छ । मार्गकृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृको मुक्तिको कामना गर्दै महादीप बाल्ने गरिन्छ । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । राति बालिएको बत्ती चतुर्दशीको बिहानै वाग्मती वा आफ्नो पायक पर्ने नदीमा सेलाए (बगाए) पछि पशुपतिमा बस्नेहरूले मृगस्थली हुँदै कैलाश, पशुपति, चौसठ्ठी लिङ्ग आदि विभिन्न चौध क्षेत्रमा शतबीज छर्ने गर्दछन् । कैलाशमा बसेर दहीच्युरा खानाले भगवान्् शिव खुशी हुने जनविश्वास पनि रहेको छ । पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकूल नहुनेहरूले घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा सो बत्ती सेलाउन पनि सकिन्छ । यो पर्व हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले उत्तिकै श्रद्धाका साथ मनाउने गर्दछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्