१. सायद त्यसलाई भट्टी भने पनि हुन्छ तर पसल्नी नानी त्यसो नभन्ने हो कि भनेर हाँस्छिन् । उनी रक्सी , जाँड र मासु बेच्छिन् , माछा पनि पाकेकै हुन्छ उनको भान्सामा । सके बाँकी रहँदैन बेलुकासम्ममा तर बाँकी रहेमा घरका सबै मिलेर खाने गरिँदो रहेछ । सबै भनेका घर परिबारका सदस्यहरु भनेर बुझ्नु पर्ने हुन्छ । रक्सी आफ्नै घरमा नबनाउने भएर होला उनले आफ्नो होटेललाई भट्टी भन्न मन नपराएको रे । जाँड नि ? भन्छिन्—त्यो त बनाउँछु र चखाउँछु पनि । डबकामा अब बेच्ने बानी नै छैन, बोतलमा राखेर स्टिलका कप वा काँचका गिलाँसमा ख्वाउने बानी छ । भन्छिन्—यहीँ एउटा झार छ, त्यसैले मात लगाउने काम गर्छ, भातलाई बिग्रन पनि दिँदैन । त्यसको नाम नि ? अहँ भन्न मिल्दैन भन्दै खितितिती हाँस्छिन् । भनेपछि ओखती लाग्दैन रे त ।
२. पैसा त राम्रै कमाइ हुन्छ जाँडबाट । रक्सीबाट । बाटो हिँड्दै गरेका बुढाबुढीसमेत यसो घुट्क्याउँ न भन्दै पस्छन् । खासगरी बुढाहरु । कमै बुढीहरु पस्छन् जाँड वा रक्सी खान । कस्तो सभ्यता आयो भने गाउँ पस्दा नै घुट्क्याउने बानी परेको छ । गाउँको पल्लो छेउमा खुलेको होटेलले ड्राइभर, खलाँसी र बटुवालाई त्राण भएको छ । अचम्भ छ, पसल्नी नानीचाहिँ आफू रक्सी, जाँड केही पनि खान्नन् र भन्छिन्—बेच्न पनि घिन लाग्छ, राख्न पनि घिन लाग्छ तर यसैमा पैसा आउँछ , के गर्ने ? जाँड र रक्सी नखानेहरु त मेरा घरमा पानी पनि खान मान्दैनन्, त्यो बेलामा चाहिँ दिक्क लाग्छ ।
३. उनलाई एउटा कुरामा भने सधैँ दिक्क लाग्छ—केटाकेटीले यो सबै देख्छन् र मातेको मान्छेसँग पनि कुरा गरेको सुन्छन् । मातेको मानिस त होसमा हुँदैन र जब होसमा हुँदैन , उसले भन्ने कुराको पनि त कुनै सीमा हुँदैन । साँच्चा साँच्चा कुरा पो गर्न थाल्छन् मातेका झोकमा । रक्सी दियो, जाँड दियो, मासु दियो अनि भन्न थाल्छ उधारोमा टिप है । अनि गाडी लिएर कता हो कता हिँड्छ । बसुन्जेल चिने जस्तै, गए पछि कता हो कता । त्यसैले त ऊसँग पैसा हुन्जेलसम्म नै धेरै पैसा उठाउने गर्नुपर्छ । जब रक्सीले मात्न थाल्छ, उसले सबै पैसा देखाउन थाल्छ र घरबाट टाढा भएको दुखेसो पोख्न थाल्छ । पसल्नी नानीले कुरो बुझे पनि नबुझेजस्तो गर्नु नै दिनचर्या भएको छ ।
४. सबै काममा जान्छन् । कतै काममा अरुलाई पठाउनु पनि पर्छ । एक्लै हुनुपर्ने हुन्छ । अनि उसको आँङ् ढक्क फुल्छ —कस्तो जँड्याहा कतिबेर आउने हो ? तर उसलाई लाग्छ—जे होला, जोसुकै आउला । डर मानेर कसरी चल्छ र रक्सीको व्यापार त गर्नु नै छ ।
५. धेरै आउँछन् र कोही त उसैसँग नै जिस्किन्छन् । घुमाउरो पारामा जे पनि माग्छन् । उसलाई लाग्छ, छोरीहरुलाई जिस्काएको सुन्नुभन्दा आफैँलाई जिस्काएको कुरा ठिकै लाग्छ । र पनि ख्याल ख्यालमा पनि कसैले पसल्नीलाई नै पट्याएँ पो भन्दै हिँड्ने हो कि भनेर चाहिँ डर नै लाग्छ । फेरि बुढा छन् अलि झन्काहा । आफैँ रक्सी बेच्न कर गर्छन् अनि रक्सी खाने मानिस अबेरसम्म बस्यो भने किन त्यो बसेको अबेरसम्म भनेर निहुँ खोज्छन् । त्यसलाई किन मात्ने गरी खान दिएको भनेर झगडा पो गर्न थाल्छन् । जहान पाल्नु छ, व्यापार गर्नु छ र त यस्तो काम गरेकी भनेर हाक्काहाक्की भनेकी हुन्छिन् सबैलाई सुनाउँदै ।
६. कोही रक्सी बेच्न र मासु बेच्न पाए हुन्थ्यो भन्दै जागिर खोज्न पनि आउँछन् । धेरैजसो तरुनीहरु नै आउँछन्, बिहे नभएका, लोग्नेले छोडेका, लोग्ने विदेस गएका र साँच्चै अरु ठाउँमा भट्टी नै चलाएका । तर उसले भन्ने गरेको चाहिँ के छ भने आफैँलाई त बेच्न पुगेको छैन, अरुलाई कसरी ठाउँ दिने ? फेरि कसको के भर छ र ?
७. अनि गाउँको बिग्रेको अवस्थामा आफू पनि पो सहयोगी भइएको हो कि भनेर राती सुतेको बेलामा सम्झँदा डर पनि लाग्छ,पिर पनि लाग्छ । तर बिहान नउठ्दै कोही आउँछ ढोका ढक्ढक्याउन —साहुनी, आधा गिलाँस लोकल दिनुस्न । फेरि त्यही कार्य सुरु हुन्छ र दिनभर त्यस्तै हुन्छ । कतै ढोका लगाएर गएकी भए पनि फोन पो गर्छन् त चाँडै आउनका लागि । एक घुट्की घुट्क्याउन ।
८. अनि आफू नखाने तर बेच्नै पर्ने , कस्तो बाध्यता हो भनेर खिन्न पनि लाग्छ तर बालबालिकाको शिक्षा, स्वास्थ्य र लुगा चलाउन पनि भट्टीको आवश्यकता परेको सम्झेर चित्त बुझाउने काम गरेको बुझ्न सकिन्छ ।
९. धेरै ग्राहक आउँछन् र पसल्नीलाई नै लैजाने कुरा पनि गर्छन् । माया गरेको जस्तो पनि गर्छन् । उसले सबैका कुरालाई सकारात्मक जस्तै देखाउँछिन् र उनलाई थाहा छ जस्तो रक्सीको मात हो, त्यस्तै उसको माया पनि । केही छिनमा आफैँ हराउँछ पानीको फोका झैँ । उसको संसार आफ्नै छ र पनि कसैको प्रस्तावको न त विरोध गर्छिन् , न त सहजै स्वीकार गर्छिन् । ग्राहक त देवता हो भन्दै सबै कुरा सहने र चुपचाप बस्ने बानी छ जबकि उनी बाचालमा पर्छिन् गाउँमा । सायद ग्राहक रिसाएमा व्यापार हुँदैन भन्ने त्रास पनि छ क्या रे ।
१०. रक्सी, ग्राहक र माया । रक्सी पसलका यी स्थायी भ्रम हुन् र निरन्तर चल्ने भयानक वृत्तको पाटो पनि हुन् । नियमित आकस्मिकता । रक्सी ग्राहक विना चल्दैन, ग्राहक रक्सी खाएपछि मायाका कुरा नगरी रहन सक्दैन र एकछिनपछि ती सबै आफैँ हराउँछन् भन्ने पनि उसलाई थाहा छ । कुनै माया त स्थायी पनि हुनसक्ला तर मनभित्रमात्रै । बाहिर भन्न नमिल्ने ।
११.तर पसल्नीलाई भने आफूले पढ्न नपाएकोमा भने पछुतो छ । त्यस्तै ५—६ क्लासमा पढ्दा होला, एकदिन सरले पिट्नु होला, होमवर्क गरेको छैन भनेर स्कुल नगएको, त्यसपछि कहिल्यै गइएन भन्ने गुनासो प्रायशः ग्राहकहरुले सुन्छन् र पसल्नीले भन्ने कुरा अर्को पनि छ—ऊ त क्लासकी फस्ट पो थिई त । तर किन स्कुल गइनन् र किन पढिनन् भन्ने कुरा थोरैलाई मात्र थाहा छ । उनी आफैँलाई सम्झेर खिसिक्क हाँस्छिन् र एकपल्ट आफूलाई ऐनामा गएर हेर्छिन् । अझै कहाँ कम छु र ? भन्ने भाव झल्किन्छ र आफ्नी ठुली छोरीलाई हेरेर मुसुक्क हाँस्छिन् । ठुलै उमेरमा पढ्न गएकी थिइन् र के के भयो , अब किन सम्झनु भन्ने पनि लाग्छ सायद । तर बिर्सनु त कसरी र ? जो जीवनको बिहानीमा नै घटेको थियो ।
१२.रातदिनको चटारो, ग्राहक , रक्सी, पैसा, उधारो अनि घरको टन्टा । वस्तुभाउ, ऋणको व्यवस्थापन, उधारो उठाउने झन्झट अनि नगदको कारोबारमा आउने नाफा । यही हो जिन्दगी भन्दै एक्लै फतफताउले बानी त छ तर हँसिली पसल्नीको अनुहारले सबैलाई लट्ठ पार्नेगर्छ । उनका बुढा पनि हाँस्छन् र चल्तापुर्जाकी बुढी पाएकोमा भगवानलाई धन्यवाद दिन्छन् । ग्राहकहरुले भन्ने गर्छन्—यी छोराछोरीहरु त ठ्याक्कै बाबु जस्ता । पसल्नी खिसिक्क हाँस्छिन् र भन्छिन्—म जस्ता कि बुढा जस्ता ? अनि अतीतका पाना आफैँ पल्टाउँदै केटाकेटीहरुलाई स्कुल जान कराउन थाल्छिन् । गाउँ घरमा सबैले साहै्र फरासिली भन्छन् र छिन् पनि त्यस्तै ।
१३. यसपटकको तीजमा पशुपति जाने उनको इच्छा छ , भाकल छ रे बुढाका लागि । केही दिन भट्टी बन्द गरेर भए पनि काठमाडौँ जाने र तीजमा पशुपतिमा गएर बुढाका लागि राम्रै आशीर्वाद माग्ने बिचार सुनाउँछिन् । ग्राहकहरु भने त्यसमा पनि खिज्याउँछन् र भन्छन्—यही जुनीका बुढाका लागि कि अर्को जुनीका बुढाका लागि ? कतिओटा बुढाका लागि ? अनि उनी नरिसाई भन्छिन्— सात जुनी त उहाँसँगै बस्ने निर्णय भइसक्यो नि त । सायद यो बेलामा उनको अतीत कतै बोल्दैन र वर्तमानमा मात्र उनी बोलिरहेकी छिन् ।