म स्वयं चिहान बौरिएर
स्थापित एक आदिवासी विद्रोही कवि
कुनै महाराजको कोठीको
एक अन्धकार कुनामा भएको हुनुपर्छ
सायद मेरो हत्या
अथवा,
मेरो हत्या हुनुपूर्व
महाराजको श्रीपेच सजाइएको थियो
निकालेर मेरा दाँतहरू
दरबारको मूलद्वारमा टाँगिएको थियो
निकालेर मेरा आँखाहरू
मेरो मुटु, जिब्रो, गिदी, रगत र अण्डकोष निकालेर
भव्य रात्रिभोज मनाइएको थियो
हो,
त्यतिखेर मरेको थियो एउटा क्रान्ति
म लासका टाउकाहरूमा
बोकेर एउटा अन्तिम विद्रोह
उभिएको छु चिहानमाथि
ए चिहानसम्म आउने मलामीहरू हो !
केही रुन्चे कविहरू
र सामन्तवादका नयाँ ठेकेदारहरूलाई
यो सुनाइदिनू,
एउटा आदिवासी विद्रोही कवि
चिहानमाथि उभिएको छ
रगतको मसीले
लेखेर आगोका कविताहरू ।