जुम्लामा पुन: हिमपात, जनजीवन कष्टकर


हरेकपल January 7, 2020

जुम्ला,२२ पुस । जुम्लामा फेरि हिमपात भएको छ । केही दिनदेखि रोकिएको हिमपात तेस्रो पटक सुरु भएको हो । जुम्लामा हिँउ परेपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ । एक महिना अघि हिमपात भएको जुम्लामा झण्डै एक सातादेखि हिउँ पर्ने र रोकिने क्रम भइरहेको छ । तेस्रो पटक हिमपात भएसँगै जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य रहेको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।

यस पटक पनि भारी वर्षापछि हिउँ पर्न थालेको हो । हिउँ पर्न थालेपछि जनजीवन प्रभावित भएको छ । हिउँ पर्न थालेसँगै स्थानीयका दैनिक क्रियाकलापहरु रोकिएका छन् भने त्यस क्षेत्रमा यातायात सेवा पनि अवरुद्ध भएको छ ।

हिउँ जमेका कारण हवाइ र स्थल यातायात अवरुद्ध हुँदा स्थानीयको आवागमनसमेत रोकिएको छ। जुम्ला विमानस्थलमा बाक्लो हिउँ जमेपछि हवाइ सेवा सञ्चालनमा आउन सकेको छैन। जुम्लादेखि कालिकोट, सुर्खेत, नेपालगञ्ज जाने यातायात सेवा बन्द हुदा यात्रुलाई समस्या भएको छ।