नेपाल अपाङ्ग संघ केन्द्रमा तालाबन्दी


हरेकपल January 7, 2020

काठमाडौं, २२ पुस । नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । संघका संघर्ष समितिका पदाधिकारीहरूले विभिन्न मागहरु राखेर गत पुस १६ गतेदेखि तालाबन्दी गरेका हुन् ।

नेपाल अपाङ्ग संघमा आर्थिक अनियमितता भएको र संघ, केन्द्रीय कार्यालय विरूद्ध सर्वोच्च अदालतमा मुद्धा चलिरहेको बेला काठमाडौं शाखामा निर्वाचन गर्न लागेको हुनाले तालाबन्दी गरिएको बुझिएको छ । तालाबन्दीपछि काठमाडौं शाखाको पुष २० गते हुने भनिएको निर्वाचन भने स्थगित भएको छ ।

अपाङ्गता भएका नागरिकहरूको लागि सिपमुलक तालिम सञ्चालन गर्नुपर्ने, नेपालका हिमाल, पहाड र तराईमा संकट पुर्ण जीवन बिताई रहेका अपाङ्गहरूको उत्थानको लागी कार्य योजना पेश गर्नुपर्ने, दुई–दुई महिनामा केन्द्रीय बैठकको नाममा विना उपलब्धि संस्थालाई आर्थिक अनियमितता बन्द गर्नुपन, संघको केन्द्रीय बोर्डमा ३३ प्रतिशत महिला सदस्यको नियुक्ति ग्यारेन्टी गर्नुपर्ने, खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा रहेका घर भवनबाट उठेको भाडामा भएको अनियमितता बन्द गर्नुपर्ने, वर्तमान निर्वाचित कार्यसमितिका प्राय सबै विरूद्ध अख्तियारमा निवेदन मुद्धा परेकोले सफाई नआउञ्जेलसम्म बैठक बन्द गर्नुपर्ने, संस्थाभित्र कार्यरत कर्मचारीहरूको विचमा भएको पक्षपाती व्यवहार बन्द गर्नुपर्ने र खगेन्द्र नवजीवन केन्द्रमा जीर्ण भएको घर भवन मर्मत गर्नु पर्नेजस्ता विभिन्न माग राखी संघर्ष समितिका पदाधिकारीहरूले तालाबन्दी गरेर सेवा अवरुद्ध गरेका छन् ।

संघका पुर्व अध्यक्ष मोहन महर्जनले भने अहिलेको अवस्थामा भएको आन्दोलनको कुनै औचित्य नरहेको र यसले प्रजातन्त्रिक प्रकृयालाई अवरोध मात्र गरेको बताउनु हुन्छ । ‘साथीहरुले उठाएका धेरै माग जायज छन्, नवनिर्वाचित कार्य समितिले समयक्रमसँगै यी मागमात्र होइन यी भन्दा धेरै कामहरु गर्न सक्ने कुरामा आफु विश्वस्त रहेको महर्जनले बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘जहाँसम्म भ्रष्टचार गरेको कुरा छ त्यो सम्बन्धित निकायले निरुपण गर्ने नै छ । त्यसको लागि सबैले धैर्य गर्नुपर्छ । कसैले भन्दैमा कोहि भ्रष्टचारी हँुदैन त्यसको लागि राज्यको आधिकारिक निकायले मात्र भ्रष्टाचारी हो होइन भन्ने निक्र्योल गर्ने हो । भिडले होइन । अहिले अपाङ्गता भएका धेरै साथीहरु निर्वाचित भएर आउनु भएको छ ।यसमा सबै अपाङ्गता भएका साथीहरुले गर्व गर्नु पर्ने र कसैको निहित स्वार्थपूर्तिको गोटी नबन्न अनुरोध गर्दछु ।’
३३ प्रतिशत महिला सहभागिताको पक्षमा आफु पनि रहेको र त्यसको लागि विधान संशोधनको प्रकृया अगाडि बढाउन सहयोगी बन्ने बताउदै उहाँले निर्वाचित निकायलाई नै अवैधानिक ठान्ने यस्तो कार्यले निष्कर्षमा पुग्न नसकिने बताउनुभयो ।

संस्थाकी आजीवन सदस्य, संघर्ष समितिको सदस्य तथा समाजसेवी गायत्री दाहाल यो आन्दोलन मुख्यरुपमा भ्रष्टचारको विरुद्धमा रहेको र सबैलाई अपाङ्गता भएका ब्यक्तिप्रति जिम्मेवार बन्न यो आन्दोलनले सहयोग पुर्याउने बताउनु हुन्छ ।

विगतका पदाधिकारीहरु अपाङ्गताको नाममा आफ्नै स्वार्थपूर्ति तिरमात्र लागेको र भविष्यमा फेरी यस्तो प्रवृति नदोहोरियोस् भनेर सचेत गराउन आफुहरु संघर्ष गर्न बाध्य भएको दाहालले बताउनु भयो ।

यति धेरै समय बित्दा पनि एउटा उल्लेखनीय काम नभएको बताउदै उहाँले भन्नुभयो –‘बरु उल्टै जिम्मेवार ब्यक्तिहरु मोजमस्तिमा र स्वार्थमा लिप्त भएको पाइयो । तर नवजीवन गृहमा रहेका अपाङ्गता भएका ब्यक्तिको कारुणिक अवस्था देखेर मर्माहत छौं ।’

‘न सरसफाइमा ध्यान दिइएको छ, न फिजियोथेरापीको ब्यवस्था छ, न राम्रा कपडा पाएका छन् ,न मनोरञ्जन न खेलकुदको ब्यवस्था न पौष्टिक खाना नै छ । अहिलेका प्रतिनिधि पनि विगतकै पथमा हिड्न खोजेको आभास हुन थालेको छ । ४ महिनादेखि कर्मचारीले तलव पाएका छैनन’ – उहाँले भन्नुभयो । ‘अध्यक्षले हस्पिटल, विद्यालय घुम्नु भएछ तर नवजीवन गृहमा जादै जानु भएनछ । यस्तो कुरा सुन्दा मलाई दःुख लागेर आयो ।’

त्यस्तै अपाङ्ग संघ जिल्ला कार्य समिति सदस्य रामप्रसाद कोइरालाले सदस्यलाई खबर नगरी आफ्नै नजिकका मान्छेलाई मात्र बोलाएर जिल्लाको चुनाव गर्न लागेको थाहा पाएर आफुहरु चुनाव रोक्न बाध्य भएको बताउनु हुन्छ । पर्खाल बाहिर ३ आनाभन्दा पनि बढी जग्गा मिचिदा पनि फिर्ता गर्न किन नसकेको ? भन्ने प्रश्न गर्नु हुन्छ कोइराला ।

त्यस्तै मेरुदण्ड पक्षघात समुह नेपालका सचिव कृष्णप्रसाद भण्डारीलाई संघर्ष समितिका माग उचित नै लाग्छन् तर उहाँ हरेक समस्याको समाधान लोकतान्त्रिक प्रकृयाबाट हुनु पर्ने कुरामा जोड दिनु हुन्छ । ‘कसैले पनि अरुको आत्मास्वाभिमानमा चोट पुर्याउने कार्य गर्नु हुन्न । आजको समस्गाको एउटैमात्र समाधान वार्ता नै हो’– उहाँले भन्नुभयो ।

गोकर्णेश्वर नगरपालिका वडा नंः ६ नारायणटार, काठमाडौंमा स्थित ७५ रोपनीमा जमिनमा फैलिएको नेपाल अपाङ्ग संघको संस्थापक खगेन्द्रबहादुर हुनुहुन्छ । हाताभित्र अर्थोपेडिक अस्पताल, एसओएस बालग्राम, खगेन्द्र नवजीवन विशेष विद्यालय, खगेन्द्र नवजीवन आवासगृह बिआइए, टेवलटेनिस हल आदि संस्थाहरु क्रियाशील छन् भने विभिन्न सटरहरु भाडामा लगाइएको छ ।