२३ वर्षमा ३४ खर्बको सुन आयात


हरेकपल January 8, 2020

काठमाडौं, २३ पुस । नेपालले पछिल्ला २३ वर्षमा ३४ खर्ब १८ अर्ब रुपैयाँको सुन आयात गरेको छ। यो रकम गत वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०बराबर हो। २०५३ साउनदेखि गत कात्तिक मसान्तसम्म नेपालीले सुनमा यति ठूलो खर्च गरेका हुन्। २०६५ पछि सुन आयात ठूलो परिमाणमा बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यसका अतिरिक्त अनौपचारिक माध्यमबाट पनि ठूलो परिमाणमा सुन भित्रिरहेको छ।

माओवादी द्वन्द्वको समाधानपछि नेपाली मूलतः खाडी र मलेसियामा वैदेशिक रोजगारीमा जाने क्रम बढेको थियो। वैदेशिक रोजगारीको आम्दानीले बहुसंख्यक नेपालीको क्रय क्षमता बढेको र गरिबी दर तीव्रतर खुम्चिएको तथ्यांक विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले सार्वजनिक गर्दै आएका छन्। बढेको खरिद क्षमताको प्रभाव सुन बजारमा पनि परेको छ। यही कारण सुन आयात चुलिएको राष्ट्र बैंकका अधिकारी बताउँछन्।

सरकारले सुनको आयातमा सीमा तोक्ने, बेलाबखत भन्सार दर बढाएर आयात निरुत्साहित गर्नेजस्ता काम गरे पनि पहेँलो धातुको आयातमा मुलुकले ठूलो रकम खर्चेको छ। सुन नेपालीको संस्कृतिसँग जोडिएकाले पनि यसको खपत बढी भएको नेपाल सुनचाँदी व्यवसायि महाँसंघका संस्थापक अध्यक्ष तेजरत्न शाक्य बताउँछन्। ‘जन्मदेखि मृत्युसम्मका सबै कर्मकाण्डमा सुनको आवस्क पर्छ’, उनी भन्छन्, ‘आयस्रोत बढ्दै गएपछि प्रतिष्ठाको प्रश्न पनि सुनमै गाँसिएको छ।’ जसले बढी सुन देखाउँछ, उही सम्पन्न मानिने ‘देखाशेखी’ बढ्न थालेकाले सुनको माग भविष्यमा अझै बढ्ने उनी बताउँछन्।

सुनलाई संसारभर नै सर्वाधिक सुरक्षित लगानीका रूपमा लिइन्छ। त्यसैकारण सुनमा लगानी बढ्नु स्वाभाविक हो। तर, नेपालमा लगानीको उपकरण मानेर सुन किन्न पाइन्न। यद्यपि, गरगहनाको प्रयोजनमै पनि सुनको खपत उच्च रहेको छ। सुनको धितोमा बैंकले ऋण दिने र तत्कालै बेच्न सकिने भएकाले सुनका गरगहना पनि धेरैका लागि लगानी विविधीकरणको पाटो रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन्। अन्नपूर्ण पोष्टमा खबर छ ।