अति सोझो पन किन उचित होइन ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल January 9, 2020

नात्यन्तं सरलैर्भाव्यं गत्वा पश्य वनस्थलीम् ।
छिद्यन्ते सरलास्तत्र कुब्जास्तिष्ठन्ति पादपा ।।
– चाणक्य नीति

अति सोझो पनि बन्नु हुँदैन । किनकि वनमा जुन रूख सोझो छ त्यसैलाई काटिन्छ । वाङ्गा काटिदैनन् । त्यसैले अति सोझो स्वभाव पनि उचित हुँदैन ।


अतिले खति गर्छ भन्ने त उखान नै छ । हरेक स्थानमा अति नगर्नु नै भनिएको छ । यसै प्रसङ्गमा चाणक्यले अति सोझो पन पनि उचित होइन भन्ने नीति वचन प्रस्तुत गरेका छन् ।
अति वाङ्गो पन पनि जीवनका निम्ति उचित हुँदैन । जीवनको गति मध्यम मानले चल्नुपर्दछ भनिएको छ । समय अनुसार चतुर पनि हुन सक्नु पर्दछ । सोझालाई सबैले हेप्छन् । जसरी वनमा पनि सोझो रूख पहिले काटिन्छ । किनकि बाङ्गा रूखले खासै काम दिदैनन् । यसैले स्वभावमा सोझो पन पनि उचित हुदैन भनिएको हो ।


मान्छेले सरल र झोझो पनको फाइदा पनि लिनसक्छन् । हरेक कुरामा स्वीकृतिमात्र दिने प्रवृत्ति पनि अनुचित हो । त्यसैले नात्यन्तं सरलं भाव्यं भनिएको छ । अत्यन्त सरल स्वभावको प्रकट गर्नु हुँदैन । किनकि त्यही पन कमजोरीका रूपमा पनि अर्थिनसक्छ । अरुले पनि हेप्नसक्छन् । यसैगरी समय र परिस्थिति अनुसार चतुर पनि हुन सक्नु पर्दछ । अति सोझो पन पनि उचित होइन भन्ने चाणक्यको नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य –