तराई–मधेसमा मिटर ब्याजीको बिगबिगी, पोल खोले मार्ने धम्की


हरेकपल January 9, 2020

काठमाडौं, २४ पुस । तराई–मधेसका जिल्लामा चर्को ब्याजमा गरिब सर्वसाधारणलाई ऋण दिएर उनीहरूबाट महाजनहरूले करोडौं असुल्ने गरेको पाइएको छ ।

केही समयअघि श्याम परदेशीले सर्वसाधारणबाट अर्बौं ठगी गरेको घटना सार्वजनिक भएको थियो । सो घटना सेलाउन नपाउँदै सर्लाहीमा भएको मिटर ब्याजको अर्को धन्दाले तराई–मधेसमा यसको बिगबिगी रहेको खुलासा भएको हो । तराईका विभिन्न जिल्लामा हजारौंको संख्यामा मिटर ब्याजी रहेको जिल्ला प्रशासन कार्यालयका अधिकारीले बताएका छन् । ‘यो त सामान्य टे«लर मात्रै हो, यसरी ब्याजमा ठगी गर्नेहरू हजारौं छन्,’ जिल्ला प्रशासन कार्यालय सर्लाहीका एक अधिकृतले भने ।
सर्वसाधारणलाई ऋणबापतको रकम दिएपछि महाजनहरूले उनीहरूबाट करोडौं मूल्यबराबरको जग्गासमेत आफ्नो नाममा कब्जा गर्ने गरेको पाइएको छ । यसरी ऋण दिँदा नै उनीहरूले तीन गुणा बढी रकमको ऋणी कागज गराउनदेखि ऋणीको जग्गा धितो राख्न लगाउने मात्र होइन, जग्गा नै आफ्नो नाममा पास गर्नेसम्मको ठगी गरेको पाइएको हो ।

यसरी ठगी गरेर पीडितबाट ऋणबापतको रकम असुली गरिसकेपछि पनि ऋण दिने व्यक्तिले ऋणीको जग्गा फिर्ता गर्ने गरेका छैनन् । बरु उल्टै कतै उजुरी गरे जग्गा फिर्ता नगर्नेदेखि ज्यान मार्नेसम्मको धम्की दिने गरेका छन् । २२ माघ २०६९ मा सर्लाहीका महाजन सञ्जय रौनियारबाट १ करोड ऋण लिएका रवीन्द्र कुशवाहले ७५ लाखका दरले चारवटा ३ करोडको कागज बनाएको बताए ।

यस्तै, ऋण लिएबापत उनले सर्लाही बयलवासको ३ कट्ठा ८ धुर र अन्य ३४ कट्ठासमेत रौनियारको नाममा गरिदिएको जानकारी दिए । रौनियारले आफ्नो नाममा गरेको जग्गा बेचेर २ करोड ५५ लाख उठाइसकेको पीडित कुशवाहले बताए । तर, बाँकी जग्गा भने अझैसम्म फिर्ता नपाएको र आफूले नगद मात्रै ३८ लाख रौनियारलाई बुझाएको जानकारी दिए । ‘मैले १ करोड ऋण लिएको हुँ । तर, कागज तीन गुणा बढीको बनाइयो । ३८ लाख त ६ महिनामै तिरें । २ करोड ५५ लाख मेरो जग्गा बेचेर असुल भएको छ, अहिलेसम्म जग्गा फिर्ता भएन,’ पीडित कुशवाहले भने ।

यस्तै, मिटर ब्याजको मारमा सर्लाहीका निरगुण राय पनि परेका छन् । उनले मिटर ब्याजी राजपाका नेतासमेत रहेका रामबाबु यादवसँग १४ साउन २०५९ मा २ लाख र २०६० मा थप २ लाख ऋण लिएको बताए । उनले यादवले भने त्यसको तीन गुणा बढीको तमसुक बनाएर २ बिघा १ कट्ठा जमिन आफ्नो नाममा गराएको जानकारी दिए । ‘मेरो भएको जायजेथा नै डुब्यो, महाजनसँग लिएको ऋणको तमसुक तीन गुणा बढी भयो । भएको जग्गा पनि उसकै नाममा पास गरेर दिएँ,’ रायले भने । राजधानी दैनिकमा खबर छ ।